श्राद्ध हिन्दू संस्कार अनुसार दिवङ्गत पितृहरूको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्यलाई भनिन्छ । कात्यायन स्मृतिमा श्राद्धलाई पितृयज्ञ भनिएको छ। भविष्य पुराणका अनुसार श्रद्धामा विधिपूर्वक पितृले पाउन् भनेर ब्राह्मणलाई दान दिनुलाई श्राद्ध भनिएको छ । हेमाद्रीको श्राद्धखण्डको भनाइअनुसार ब्राह्मणभोजन, पिण्डदान गराउनु श्राद्ध हो ।
शास्त्रमा विवाह व्रतबन्ध, आशौच आदि विभिन्न अवसरमा पनि श्राद्ध गर्नु पर्ने उल्लेख छ। श्राद्धका अन्य धेरै भेद बताइएको भएपनि यहाँ एकोद्दिष्ट श्राद्ध, एकपार्वण श्राद्ध, पार्वण श्राद्ध (सोह्रश्राद्ध), सपिण्डी श्राद्ध, मातृश्राद्ध, मातामह श्राद्ध, आभ्युदयिक श्राद्ध र तीर्थ श्राद्ध सामान्यतया व्यवहारमा परिरहने श्राद्ध हुन् । एउटा मात्र पितृको उद्देश्य लिएर गरिने श्राद्धलाई एकोद्दिष्ट भनिन्छ। धेरै पितृको सम्झनामा माहालय पक्षमा गरिने श्राद्धलाई पार्वण वा महालय श्राद्ध भनिन्छ । मृत्यु भएको बाह्रौं दिनमा गरिने सपिण्डी श्राद्ध, मातृ नवमीका दिन गरिने मातृश्राद्ध, महालय श्राद्धपक्ष पछिको प्रतिपदाका दिन गरिने मातामह श्राद्ध र विवाह व्रतबन्ध आदि माङ्गलिक कार्य गर्नुअघि गरिने श्राद्धलाई आभ्युदयिक श्राद्ध वा वृद्धि श्राद्ध भनिन्छ ।
यसैगरी कुनै पनि पवित्र तीर्थस्थलमा गएर गरिने श्राद्ध तीर्थश्राद्ध हो । यस बाहेक आफ्नो इच्छा पूरा गर्न गरिनेलाई काम्य श्राद्ध, शरीर स्वस्थ्य राख्न गरिनेलाई पुष्टि श्राद्ध, देशान्तरमा जाँदा सफल हुन घ्यूले गरिनेलाई यात्रा श्राद्ध भनिन्छ। जुनसुकै कठिनाई वा आपतविपत पर्दा पनि वा अन्य धर्मकर्म गर्न नसकिए पनि श्राद्ध गर्न छोड्नु नहुने कुराको उल्लेख भएको श्रुति,स्मृति, पुराणहरूमा पाइन्छ ।

भविष्य पुराणका अनुसार श्राद्ध १२ प्रकारका हुन्छन् हिन्दू धर्ममा श्राद्ध पितृहरूलाई प्रसन्न पार्नका लागि गरिने महत्वपूर्ण कार्य हो । श्राद्ध गरेर आफ्ना पितृहरूको सम्झनामा ब्राह्मण भोजन तथा दानादि कार्य गरिन्छ र उनीहरुको आत्माको शान्तिका लागि उल्लेखित धार्मिक कर्म गरिन्छ । धर्म ग्रन्थहरूमा श्राद्धका विषयमा थुप्रै कुरा गरिएको पाइन्छ । त्यसमध्ये यसको प्रकारका सम्बन्धमा पनि बताइएको छ । सबै श्राद्धको फरक महत्व हुने गर्छ ।
भविष्य पुराणले श्राद्धको भेद१२ प्रकारको बताएको छ जसमा नित्यनैमित्तिक, काम्य, वृद्धि, सपिण्डी, पार्वण, गोष्ठी, शुद्यर्थ, कर्मांग, दैविक, यात्रार्थ र पुष्ट्यर्थ । श्राद्ध कर्मका मुख्य भेदहरू यस्ता छन् ः निमन्त्रणा, पादार्घ, हस्तार्घ, अर्चन, सिदान्न दान, पिण्डदान, ब्राह्मण भोजन, तर्पण र दैनिक नैमित्तिक हुन्छ । हुन त साँचो श्रद्धा र समर्पण भावले श्राद्ध गरे पितृ प्रसन्न हुन्छन् तर केही कुरामा ध्यान दिने र वचन शुद्ध भए श्राद्धबाट सबै पुण्य प्राप्त हुन्छ । श्राद्धमा ब्राह्मणले वचन वा संकल्प शुद्ध बोल्नु पर्दछ । त्यसैले भनिएको छ :
पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता।
ऋषयोर्चनमिच्छन्ति मोक्षमिच्छन्ति मानवाः ॥
अर्थ : पितृहरू व्याकरणबाट सिद्ध शुद्ध वचनको अपेक्षा गर्छन् । देवताहरू भक्ति भावको अपेक्षा गर्छन् । ऋषिहरू पूजार्चनाको अपेक्षा गर्छन् भने मानवहरू मुक्तिको इच्छा राख्दछन् ।
श्राद्धको सम्पूर्ण प्रक्रिया दक्षिण दिशातर्फ फर्केर सम्पन्न गर्नुपर्छ किनभने पितृलोक दक्षिण दिशामा पर्छ भनिएको छ । पिण्डदान गर्दा सेतो वा पहेँलो वस्त्र मात्र धारण गर्नु पर्छ । पितृ पक्षको श्राद्ध सदैव मध्यान्ह वा अपराह्नमा गर्नुपर्छ । बिहान र साँझको समयमा श्राद्ध गर्नु निषेध छ । श्राद्ध वा तर्पण गर्दा कालो तिलको प्रयोग अनिवार्य मानिएको छ । श्राद्धका दिन पूर्ण ब्रह्मचर्य पालन गर्नुपर्छ भने काम ,क्रोध, लोभ मोह, र कलहबाट टाढै रहनुपर्छ । पितृलाई भोजन सामग्री दिनका लागि माटाको भाँडाको प्रयोग गर्न सकिन्छ वा सो नभए वनस्पति जन्य हरित पत्रलाई प्रयोग गर्नु उपयुक्त मानिन्छ ।
श्राद्धमा कुन फूल चढाउने ?
अगस्ती भृंगीराजं च तुलसी शतपत्रिका ।
चम्पकं तिलपुष्पं च षडेते पितृवल्लभा ।।
अगस्ती, भृंगीराज, तुलसी, सयपत्री, चाँप र तिलको फूल चढाए पितृहरु खुसी हुन्छन् भनिएको छ । यसबाहेक टकर, पारिजात, तीतेपाती, नारनपाती आदि फूल पनि श्राद्धमा विशेष रूपले चढाइन्छ । श्राद्धमा कुनै पनि हालतमा चढाउन नहुने फूलका विषयमा यसो भनिएको छ :
केतकी करवीरंच वकुलं कुन्दकं तथा ।
पाटली चैव जाति च श्राद्धे यत्नेन वर्जयेत् ।।
अर्थ : केतकी, करवीर, वकुल, कुन्दक, पाटली र जाईको फूल श्राद्धमा भुलेर पनि नचढाउनु भन्ने नियम छ। श्राद्ध पक्षमा शुचि अर्थात् शुद्धताको विशेष ख्याल राखिन्छ ।
ज्ञाननिष्ठायदेयानि कव्यन्यानन्त्य मिच्छता ।
देवै च तदभावे स्यादितरेभ्यो यथार्हत ।। भा।७।१५।२
अर्थ : गृहस्थको कर्तव्य श्राद्ध अथवा पुजाका अवसरमा गरेका कर्मको अक्षय फल प्राप्ति गर्नकालागि ज्ञाननिष्ठ पुरूषलाईनै हव्य कव्यको दान गरोस् ,यदि त्यस्तो नपाएमा यथायोग्य योगी ,याचक,वा शुद्ध ब्राह्मणलाई दान गरोस् ।
द्वौ देवै पितृकार्ये त्रिनेकैक मुभयत्र वा ।
भोजयेत् सुसमृद्धोपि श्राद्धे कुर्यान्न विस्तरम्। भा।७।१५।३
अर्थ : देवकार्यमा दुई र पितृकार्यमा तीन ब्राह्मणलाई भोजन गराओस् ,जतिनै धनी भएपनि श्राद्धमा धैरै वढाई नगरोस्
कृपया भूतजं दुःखं दैवं जैह्यात समाधिना ।
आत्मजं योगवीर्येण निन्द्रां सत्वनिषेवया ।। भा।७।१५।२४
अर्थ : आदिभौतिक दुःखलाई दयाले,आदिदैविक वेदनालाई समाधिले ,अध्यात्मिक दुःखलाई योगबलले र निद्रालाई सात्विक भोजन, स्थानबाट वा सेवनबाट विजय प्राप्ति गर्नुपर्दछ ।
कस्तो भाँडोमा भोजन गराउने सुन, चांदी, काँस र तामाको भाँडो भोजनका लागि सर्वोत्तम हुन्छ । श्राद्धको भोजन केराको पातमा गराउनु हुँदैन । यसो गरे पितृहरुलाई तृप्ति मिल्दैन । तर्पण : चाँदीको भाँडामा तर्पण गरे राक्षस नास हुन्छन् । पितृ, चाँदीको भाँडाले गर्ने तर्पणबाट तृप्त हुन्छन् । चाँदीको भाँडोमा भोजन गराउँदा अक्षय पुण्य प्राप्त हुन्छ । श्राद्धमा तर्पण गर्दा फलाम र स्टीलको भाँडा भुलेर पनि प्रयोग गर्नु हुँदैन ।
श्राद्धकर्ता एवं श्राद्ध खानेवालाका लागि नियम शास्त्रमा श्राद्धकर्ता एवं श्राद्धभोक्ताका लागि समेत अनुकरणीय नियमहरुको उल्लेख पाइन्छ जसबाट श्राद्ध गर्ने तथा खानेहरुले कस्ता नियमपालन गर्नु आवश्यक हुन्छ भन्ने थाहा हुन्छ ।
श्राद्धकर्ताका लागि नियम
- श्राद्धकर्ताले श्राद्धको दिन दार्ही तथा कपाल काट्न र तेल घस्न निषेध छ ।
- श्राद्धको अघिल्लो दिन कपाल दार्ही काटी एकभक्तरही पूर्ण ब्रहृमचर्य पालन गर्नुपर्छ ।
- श्राद्धकर्ताले श्राद्धको दिन पूर्ण ब्रहृमचर्य पालन गर्नुपर्छ ।
- सम्भोग गर्नु निषेधित छ।
- श्राद्धकर्ताले श्राद्धको दिन अन्य व्यक्तिको घर तथा अन्य स्थानमा भोजन गर्नु हुँदैन ।
- श्राद्धकर्ताले श्राद्धको दिन कसैबाट दान वा उपहार लिनु हुँदैन ।
- श्राद्धकर्ताले श्राद्धका दिन ब्राह्मण भोजन गराइसकेपछि मात्र भोजन ग्रहण गर्नुपर्छ ।
श्राद्धभोक्ता वा श्राद्ध खानेका लागि नियम
- श्राद्धभोक्ताले त्यस दिन श्राद्धकर्ताकोमा बाहेक अन्यत्र भोजन गर्नु हुँदैन ।
- श्राद्धभोक्ताले श्राद्धको भोजन गर्ने बेलामा मौन रहेर भोजन ग्रहण गर्नुपर्छ, केही थप्नु परे हातको संकेतले मनसाय प्रकट गर्नुपर्छ ।
- श्राद्धभोक्ताले श्राद्धको भोजनको प्रशंसा वा निन्दा गर्नु हुँदैन ।
- श्राद्धभोक्ताले पनि श्राद्ध खाएका दिन कसैलाई दान दिनु हुँदैन ।
- श्राद्धभोक्ताले पनि श्राद्ध खाएका दिन पूर्ण ब्रहृमचर्य पालन गर्नुपर्छ ।





