ग्रहणको रहस्य : सूर्य, चन्द्र र राहु केतुको ज्योतिषीय महत्त्व

ज्योतिषशास्त्रले ग्रहणलाई केवल दन्त्यकथा वा अन्धविश्वासका आधारमा होइन खगोलीय गणितीय सूत्र र दृष्टिकोणका आधारमा व्याख्या गरेको छ । प्राचीन ऋषिहरूले सूर्य, चन्द्र र राहु-केतुको गति तथा स्थानलाई ग्रहणको मुख्य कारण ठहर्‍याएका छन् । ज्योतिषमा राहु र केतुलाई ‘छाया ग्रह’ भनिन्छ । वास्तवमा यी कुनै भौतिक ग्रह होइनन् तर चन्द्रको कक्ष (परिक्रमा गर्ने बाटो) र सूर्यको पथ (क्रान्तिवृत्त) काट्ने दुई बिन्दुहरू हुन् । यी नै गणितीय बिन्दुहरूलाई चन्द्रग्रहण र सूर्यग्रहण हुने संवेदनशील क्षेत्र मानिन्छ ।

ज्योतिषीय गणित अनुसार चन्द्रमा महिनामा दुई पटक सूर्यको पथ (क्रान्तिवृत्त) काट्छ । एकलाई उत्तरगति (राहु) र अर्कोलाई दक्षिणगति (केतु) भनिन्छ । ग्रहण त्यतिबेला मात्र सम्भव हुन्छ जब सूर्य, चन्द्र नजिकै रहेर यी मिलनबिन्दुहरू (राहु वा केतु) सँग जोडिन्छन् । यही कारण ग्रहण वर्षमा तीन पटकसम्म हुन्छ तर हरेक महिनामा हुँदैन । यसरी ग्रहण कुनै अनियमित घटना होइन तर सूक्ष्म गणितीय मिलनको परिणाम हो ।

सूर्यग्रहण तब लाग्छ जब अमावस्यामा सूर्य र चन्द्र दुवै राहु वा केतु नजिक पर्दछन् । अमावस्या भनेको सूर्य र चन्द्र एउटै राशिमा रहने क्षण हो । यदि यो मिलन राहु केतुका बिन्दु वरिपरि हुन्छ भने चन्द्र सूर्यलाई ढाकेर ग्रहण ल्याउँछ । तर यहाँ भने आउँदै गरेको चन्द्रग्रहणलाई लक्षित गरेर चन्द्र ग्रहणको विषयमा विस्तृत विवेचना गर्ने छौँ ।

चन्द्रग्रहण भने पूर्णिमाको समयमा हुन्छ जब सूर्य र चन्द्र एकअर्काको विपरीत राशिमा रहन्छन् । यदि त्यो पूर्णिमा राहु वा केतु नजिक पर्छ भने पृथ्वीको छाया चन्द्रमामाथि पर्छ र चन्द्रग्रहण देखिन्छ ।

जब सूर्य र चन्द्रमा बीचमा पृथ्वी आइपर्छ तब सूर्यको प्रकाश चन्द्रमामा पर्दैन । किनकि ग्रह र उपग्रहहरूको आफ्नै कुनै प्रकाश हुँदैन यी केवल सूर्यको प्रकाशबाट मात्र प्रकाशित हुन्छन् । त्यसैले चन्द्रमामा सूर्यको प्रकाश नपरेकै कारण चन्द्रग्रहण हुन्छ । चन्द्रग्रहणको प्रकार र यसको लम्बाइ चन्द्रमाको सापेक्षिक स्थिति र उसको कक्षीय पथमा निर्भर गर्दछ ।

जब हामी जमिनमा उभिन्छौँ र सूर्यको प्रकाश हाम्रो शरीरमा पर्छ तब जमिनमा हामीलाई आफ्नो छायाँ देखिन्छ । ठीक त्यसै गरी चन्द्रमा र पृथ्वीमा सूर्यको प्रकाश पर्दा छायाँहरू आकाशमा बन्छन् । किनकि पृथ्वी र चन्द्रमाको आकार गोल हुन्छ त्यसैले यसको छायाँ शङ्कु आकारको हुन्छ । यी छायाँहरू निकै लामो हुन्छन् । जुन पिण्ड सूर्यबाट जति धेरै टाढा हुन्छ त्यसको छायाँ पनि त्यति नै लामो हुन्छ । ग्रहण भन्नाले कुनै पिण्डको भागमा छायाँ पर्नु र त्यसले अँध्यारो हुनु हो ।

हामीलाई थाहा छ कि पृथ्वी सूर्यको परिक्रमा गर्छ र चन्द्रमा पृथ्वीको परिक्रमा गर्छ । यी दुवैले हजारौँ माइल लामो छायाँ बनाउँछन् । घुम्दै घुम्दै जब सूर्य, पृथ्वी र चन्द्रमा एउटै सिधा रेखामा आउँछन् र पृथ्वी, सूर्य र चन्द्रमा बीचमा पर्छ तब सूर्यको विपरीत दिशामा पर्ने पृथ्वीको छायाँ चन्द्रमामा पर्छ । यसलाई अर्को तरिकाले पनि भन्न सकिन्छ कि पृथ्वी बीचमा आएकाले सूर्यको प्रकाश चन्द्रमामा पुग्न सक्दैन। जतिजति भागमा प्रकाश पुग्दैन, त्यो भाग प्रकाशरहित (अँध्यारोयुक्त) हुन्छ । त्यही चन्द्रग्रहण हो ।

यस्तो अवस्था पूर्णिमाका दिन मात्र सम्भव हुन्छ । त्यसैले चन्द्रग्रहण जब पनि हुन्छ, केवल पूर्णिमाकै दिन हुन्छ । चन्द्रमाको जताजति भाग छायाँले ढाक्छ, त्यति नै भागमा चन्द्रग्रहण हुन्छ । यदि पृथ्वीको छायाँले पूरै चन्द्रमालाई ढाक्छ भने पूर्ण चन्द्रग्रहण हुन्छ, अर्थात् खग्रास चन्द्रग्रहण । सामान्यतया एक वर्षमा तीनवटा चन्द्रग्रहण पर्छन्, जसमा एउटा पूर्ण चन्द्रग्रहण हुन्छ ।

अब प्रश्न उठ्छ, पूर्णिमा त हरेक महिनामा हुन्छ, तर चन्द्रग्रहण त हरेक महिनामा हुँदैन । यसको कारण के हो भने, चन्द्रमाको घुम्ने बाटोको ताल पृथ्वीको भ्रमणपथको तालसँग करिब ५ डिग्री कोण मिल्दैन । यस कारण चन्द्रमा पृथ्वीको छायाँको स्तर भन्दा माथि वा तल घुम्छ। कहिलेकाहीँ मात्र यी तीनै वटा एउटै सिधा विन्दुमा आउँछन् । त्यसैले चन्द्रग्रहण हरेक पूर्णिमामा पर्दैन । गणितको प्रयोग गरेर खगोलविद् सजिलै भन्न सक्छन् कि चन्द्रग्रहण कहिले पर्छ र कति समय रहन्छ ।

ग्रहण हुने नक्षत्र, राशि र राहु-केतुको स्थानलाई ज्योतिषशास्त्रमा विशेष महत्व दिइन्छ । ग्रहण कुन राशिमा लाग्छ भन्ने आधारमा समाज, राजनीति, वातावरण र व्यक्तिको जीवनमा यसको प्रभाव छुट्टाछुट्टै बताइन्छ । उदाहरणका लागि, सूर्यग्रहण यदि सिंह राशिमा पर्‍यो भने नेतृत्व, सत्ता र उच्च पदस्थ व्यक्तिहरू प्रभावित हुन्छन् भने चन्द्रग्रहण कर्कट राशिमा परे परिवार र भावनात्मक सम्बन्धमा असर पर्ने भनिन्छ । यसरी ग्रहणको गणना कुनै तुक्का वा अनुमान नभई सटीक ज्यामितीय सूत्र हो । प्राचीन ज्योतिषविद्हरूले हजारौं वर्षअघि नै गणितीय तालिका र खगोलीय गणनाबाट ग्रहणको समय, स्थान उल्लेख गरेका थिए, जुन आजको आधुनिक खगोलशास्त्रसँग आश्चर्यजनक रूपमा मेल खान्छ ।

ग्रहणलाई केवल अन्धविश्वास वा दैवी डरको विषय ठान्नाले ज्योतिषको न्याय हुँदैन । यो त आकाशीय गणितको परिणाम हो जसलाई प्राचीन ऋषिहरूले राहु-केतुका रूपमा व्याख्या गरेर मानवीय चेतना र कर्मसँग जोडिदिएका हुन् । ज्योतिषले ग्रहणलाई केवल अन्धविश्वासको विषय नभई खगोलीय गणितको परिणामको रूपमा व्याख्या गरेको छ । सिद्धान्तशिरोमणि ग्रहणाध्याय अनुसार सूर्य र चन्द्रको संरेखन मात्र ग्रहणको आधार हो । सूर्यग्रहण तब हुन्छ जब सूर्य र चन्द्र एउटै देशान्तरमा मिल्छन् र चन्द्रको अक्षांश न्यून हुन्छ ।

चन्द्रग्रहण तब लाग्छ जब सूर्य र चन्द्र विपरीत राशिमा (१८०° अन्तर) हुन्छन् र चन्द्र राहु-केतु नजिक पुग्छ ।
भास्कराचार्यले श्लोकमा उल्लेख गरेका छन्:-

यदा चन्द्रः सूर्यस्य समीपे राहुयोगे तदा सूर्यग्रहणम् ।
यदा चन्द्रः सूर्यस्य विपक्षे राहुयोगे तदा चन्द्रग्रहणम्।।

यसले देखाउँछ कि ग्रहण केवल गणितीय तत्त्व को परिणाम हो । कुनै आकस्मिक घटना होइन । ग्रहणको राशि र नक्षत्रअनुसार यसका प्रभाव समाज, राजनीति, परिवार र व्यक्तिगत जीवनमा व्याख्या गरिन्छ । सूर्यग्रहण सिंह राशिमा नेतृत्व र सत्ता सम्बन्धी प्रभाव ल्याउँछ भने चन्द्रग्रहण कर्कट राशिमा पारिवारिक तथा भावनात्मक सम्बन्धमा असर गर्छ । जो माथि पनि उल्लेख गरिएकै छ ।

यसरी ग्रहण वास्तवमा ‘खगोलीय गणित र आध्यात्मिक दर्शन’को संगम हो । जहाँ आकाशमा छाया लाग्छ, तर मानव चेतनामा नयाँ बोधको उज्यालो आउँछ ।

(लेखक न्यौपाने वेद वेदाङ्ग संस्कृत गुरुकुलम् देवघाटधाममा अध्ययनरत हुनुहुन्छ ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट