गैंडाकोट, १६ भदौ ।
गैंडाकोटको कालिका संस्कृत विद्यापीठ पछिल्लो समय संस्कृत तथा प्राच्य विषयहरुको पठनपाठन एवं अनुसन्धानको हव बन्दै गैरहेको छ । यसैको सिलसिलामा कालिका संस्कृत विद्यापीठले आइतबार विशेष कार्यक्रम आयोजना गर्दै कालिका संस्कृत विद्यापीठमा नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त शिक्षाध्यक्षको स्वागत, कालिका प्रभा अंक–३ को लोकार्पण, अनुसन्धान व्यवस्थापन समितिको (RMC) साधारणसभा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा ने.सं.वि.का शिक्षाध्यक्ष प्रा. भोजराज जोशी प्रमुख अतिथि, विद्यापीठ सञ्चालक समितिका अध्यक्ष ओमप्रसाद सापकोटा विशिष्ट अतिथि, प्राचार्य डा. केशवराज चालिसे, शिक्षक प्रतिनिधि प्राध्यापक संघका सभापति सह प्रा.डा. मतिप्रसाद ढकाल, कर्मचारी प्रतिनिधि लेखाअधिकृत बेलबहादुर दराई र विद्यार्थी प्रतिनिधि स्व.वि.यु. सभापति अनुप भण्डारीसहित अन्य सरोकारवाला उपस्थित थिए ।
कार्यक्रमको सभापतित्व अनुसन्धान व्यवस्थापन समिति (RMC)संयोजक सहप्रा.डा. रामचन्द्र कँडेलले गर्नुभएको थियो भने सञ्चालन सदस्यसचिव सहप्रा. कपिलदेव भट्टराईले गर्नुभएको थियो । स्वागत मन्तव्य नव्यव्याकरण विभागाध्यक्ष प्रमुख उपप्रा.डा. गोपीनाथ कँडेलले प्रस्तुत गर्नुभयो ।
विद्यापीठ सञ्चालन समितिका अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि ओमप्रसाद सापकोटाले भन्नुभयो, “विद्यापीठको शैक्षिक विकास र अनुसन्धान प्रवर्धनमा अनुसन्धान व्यवस्थापन समिति महत्वपूर्ण भूमिका खेलिरहेको छ । हामीले छिट्टै आचार्य तह सञ्चालनको पहल अघि बढाउने योजना बनाएका छौँ, जसले विद्यार्थी र शिक्षक दुवैलाई नयाँ अवसर प्रदान गर्नेछ। संस्कृत पढ्ने र पढाउने मानिसहरू सधैं हसिलो र सकारात्मक हुनु पर्छ, किनभने यसले विद्यार्थीमा अध्ययनप्रति लगाव र अनुसन्धानप्रति उत्साह जगाउँछ । यो संस्था केवल शिक्षाको केन्द्र मात्र नभई अनुसन्धान र ज्ञान सिर्जनाको प्रमुख आधार बन्नेछ। सबै सदस्य, शिक्षक, कर्मचारी र विद्यार्थी मिलेर मात्र हामीले यसलाई सफल बनाउन सक्छौं ।”
सम्पूर्ण कर्मचारीहरुको प्रतिनिधिका रुपमा लेखाअधिकृत बेलबहादुर दराईले भने, “हामी कर्मचारीहरू सदैव अनुसन्धान व्यवस्थापन समिति र विद्यापीठको विकासमा सहयोगी रहन्छौँ ।” विद्यार्थी प्रतिनिधि स्व.वि.यु. सभापति अनुप भण्डारीले भने, “विद्यार्थीहरूको लागि अनुसन्धानमैत्री वातावरण र उच्च शिक्षा अवसर सुनिश्चित गर्नु आवश्यक छ ।
प्राचार्य डा. केशवराज चालिसेले आफ्नो मन्तव्यमा भन्नुभयो, “शिक्षा र अनुसन्धानको प्रभाव केवल कागजमा सीमित रहनु हुँदैन । यसको प्रभाव विद्यार्थीको सोच, समाजमा योगदान र ज्ञानको सृजनामा स्पष्ट देखिनुपर्छ । यसर्थ हामी सबै तहका सदस्यहरूको सहकार्य अपरिहार्य छ । अनुसन्धान व्यवस्थापन समितिले यो कार्यलाई निरन्तरता दिने विश्वास र योजना प्रस्तुत गरेकोमा म स्वागत गर्दछु ।”
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त शिक्षाध्यक्ष प्रा. भोजराज जोशीले भन्नुभयो, “कालिका संस्कृत विद्यापीठले आफ्नो शैक्षिक र अनुसन्धान गतिविधि मार्फत देशको संस्कृत शिक्षाको स्तर उकास्ने महत्वपूर्ण काम गर्दै आएको छ । आजको कार्यक्रमले यसलाई अझ सुदृढ र व्यवस्थित बनाउने अवसर प्रदान गरेको छ। यसले विद्यार्थीहरूलाई अनुसन्धानमैत्री वातावरणमा अध्ययन गर्ने प्रेरणा दिनेछ र शिक्षकहरूलाई आफ्ना अनुसन्धान कार्यलाई व्यवस्थित तरिकाले अघि बढाउने मार्गदर्शन गर्नेछ ।”
अनुसन्धान व्यवस्थापन समिति ( RMC) का पूर्व संयोजक सहप्रा.डा. मतिप्रसाद ढकाल तथा RMC का पूर्व सदस्य विद्यापीठका प्राचार्य डा. केशवराज चालिसे लाई कार्यक्रमकै क्रममा विशेष सम्मान गरिएको थियो । साथै, प्रमुख अतिथि प्रा. भोजराज जोशीलाई विद्यापीठतर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमको अर्को मुख्य आकर्षण कालिका प्रभा अंक–३ को लोकार्पण र RMC कार्यालय उद्घाटन रहेका छन्, जसले अब विद्यापीठमा अनुसन्धान व्यवस्थापनलाई अझ व्यवस्थित र सक्रिय बनाउने अपेक्षा गरिएको छ । सहभागीहरूले यस कार्यक्रमले शैक्षिक वातावरण सुधार्न, अनुसन्धानप्रतिको लगाव बढाउन र विद्यार्थी तथा शिक्षकहरूको योगदान प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।





