चितवन, १५ भदौ ।
१८ औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा सम्पूर्ण किताब नारायणगढ र स्काई राइडर स्कुल रत्ननगरको संयुक्त आयोजनामा पठन संस्कृति अभियान कार्यक्रम गरिएको छ ।
रत्ननगर नगरपालिकाको सभाहलमा आइतबार गरिएको कार्यक्रममा पालिकाका विभिन्न सामुदायिक विद्यालयका २६ जना विद्यार्थीहरुले पठन अनुभव र अनुभूति प्रस्तुत गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहनु भएका प्रसिद्ध कवि भूपिनले विद्यार्थीलाई पढ्ने, सिक्ने, खेल्ने र डुल्ने कुरामा कसैले अवरोध गर्न नहुने बताउनुभयो । `आजका विद्यार्थीले निकै मेहनत गरेर किताब पढेर समीक्षा गरेका छन् । यिनीहरूको प्रतीभा र क्षमताको सम्मान गर्नुपर्छ´, भूपिनले भन्नुभयो – `यिनीहरूमा अथाह संभावना छ । यिनीहरूलाई बोल्न, पढ्न दिऔँ, अवरोध नगरौँ ।´
नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो । मन्तव्यका क्रममा वाग्लेले विद्यार्थीको सिकाइ सहजीकरणमा नगरपालिकाको तर्फबाट सदैव सहयोग रहने बताउनुभयो । शिक्षा अधिकृत रविना देउजाले पढ्ने कुरामा हामी सबैजना अल्झिइरहेको अवस्थामा पठन संस्कृति अभियानले सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
प्याब्सन चितवनका अध्यक्ष एवम् स्काई राईडर स्कुलका प्रधानाध्यापक मदन पुरीले विद्यार्थीको पढ्ने र सिक्ने अधिकारको सम्मान गर्दै आफूले व्यक्तिगत र संस्थागत रूपमा सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा मालपुर माविकी सुस्मिता गुरुङले आचार्य लक्ष्मण भण्डारीको पुस्तक असल विद्यार्थी´को समीक्षा प्रस्तुत गर्नुभयो । जनजागृति माविका बिदुसा अछामीले झमक घिमिरेको जीवन काँडा कि फूल´ र सुयश भट्टराईले मेमोरी इन्फिनिट´, कपरफोरी माविका अर्जुन महतोले बेलाइततिर बरालिँदा´ र आशिका महतोले मुलुक बाहिर´, पञ्चकन्या मावि जयमंगलाका सुजन चेपाङले वसन्त पराजुलीको मोम्चो´ र प्रनिशा लामिछानेले रिच ड्याड पुअर ड्याड´, पञ्चकन्या मावि जिरौनाका सुशान्त दवाडीले भूपिनका कविता´ र जीवा लामिछानेको अक्षत अन्टार्कटिका´, बकुलहर माविका सचिन गिरीले योगमाया´ र धनकुमारी पौडेलले आतोओडा´, नेपाल माविका रिजन नरालले नयाँ मुगलान´ र प्रतिष्ठा पोखरेलले आज रमिता छ´, बैरिया माविका लक्ष्मी अधिकारीले वसन्त पराजुलीको कुमाता´ र सुशान्त पौडेलले आन्विका गिरीको `नाक कसरी ठाडो हुन्छ ?´ पुस्तकको समीक्षात्मक टिप्पणी सुनाउनुभयो ।
त्यसैगरी भद्रकाली माविका सन्तोष पन्तले खबुज´ र सोनिया गिरीले आमाले सक्नुहुन्छ´, बछौली माविका अनुष्का सुवेदीले आकाश ओढेको डोल्पो´ र कञ्चन श्रीपालीले `अग्निदहन´, जनदया माविका कविराज श्रेष्ठले सरला जोशीको कथासङ्ग्रह सपनाको देश´, मोहना माविका अग्रिमा गजुरेलले मनोज चौधरीको टुकी´ र आदेश कुमालले द अल्केमिस्ट´, मावि चित्रसारीका सुजल अधिकारीले टुवरा´ र युब्रीना चौधरीले प्रवासीको देश हुन्न´ कृतिको समीक्षा प्रस्तुत गर्नुभयो भने माधवपुर माविका सुप्रीम बगालेले द प्रोफेट´ र कुशल लामिछानेले `पुनखुँ मैचाँ´ पुस्तकको समीक्षा प्रस्तुत गर्नुभयो ।
समीक्षा कार्यक्रमलाई सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले सहजीकरण गर्नुभएको थियो ।





