भरतपुर, १५ भदौ ।
कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) चितवनको आयोजनामा सहकारी संस्थाको जोखिम भारित सम्पत्ति तथा पुँजीकोष विश्लेषणसम्बन्धी प्रशिक्षण कार्यक्रम आइतबार भरतपुरमा सम्पन्न भएको छ ।
कार्यक्रम क्लबका अध्यक्ष मेघनाथ लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष लामिछानेले सहकारी संस्था दिगो बनाउन पुँजीकोष सुदृढिकरण, पारदर्शिता र दक्ष व्यवस्थापन अत्यावश्यक भएको बताउँदै यस्तो प्रकारको सीपमूलक प्रशिक्षणले सहकारीका व्यवस्थापक, सञ्चालक र लेखा समितिका पदाधिकारीलाई व्यावहारिक ज्ञान दिने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष विद्या कोइरालाले सहकारी क्षेत्रमा सदस्यको लगानी सुरक्षित राख्न पुँजी पर्याप्तता र जोखिम मूल्याङ्कनलाई बेवास्ता गर्न नहुनेमा जोड दिनुभयो । उहाँले सहकारीहरूलाई आधुनिक प्रविधि र प्राविधिक ज्ञानसँग सुसज्जित हुनुपर्ने आवश्यकता अहिले रहेको बताउनुभयो ।
नेफ्स्कूनका पूर्व सञ्चालक भरतप्रसाद दवाडीले सहकारी संस्थाले नियामक निकायका निर्देशनअनुसार आर्थिक गतिविधि सञ्चालन नगरेमा थप चुनौती पैदा हुने सम्भाव्यता औँलाउनुभयो । त्यसैगरी प्रोस्कूनका सञ्चालक तेजेन्द्रबहादुर खड्काले सहकारीमा हुने सम्पत्ति र ऋणको व्यवस्थापन सही ढंगले नगरेसम्म जोखिम बढिरहने हुनाले यसको सही व्यवस्थापनको लागि जोड दिनुभयो ।
कार्यक्रमका प्रशिक्षक केशवप्रसाद पोखरेलले जोखिम भारित सम्पत्ति निर्धारण गर्ने तरिका, पूँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio) गणना गर्ने विधि र यसको व्यावहारिक प्रयोगबारे विस्तृत प्रशिक्षण दिनुभयो ।
क्लबका उपाध्यक्ष गोविन्दप्रसाद सुवेदीले स्वागत मन्तव्य र सचिव दीपक गौतमले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा चितवनका ४० सहकारी संस्थाका व्यवस्थापक, सञ्चालक तथा लेखा समिति पदाधिकारीसहित ६८ जना सहभागी भएका थिए । सहभागीहरूले प्रशिक्षण अत्यन्तै उपयोगी भएको प्रतिक्रिया दिनु भएको थियो ।





