परिचय
पुस्तकालय सभ्य, सुसंस्कृत अनि शिक्षित समाजको अभिन्न अंग हो, भण्डार हो । मानव इतिहास, सभ्यता र संस्कृतिको परिचायक हो । सुचना र ज्ञान विना कुनै पनि व्यक्ति समाज र देशको सफल कार्यको कल्पना हुन सक्दैन । यसलाई पुरा गर्न पुस्तकालयको आवश्यकता पर्दछ । संस्कृत भाषाको पुस्तक र आलय शब्दबाट उत्पत्ति भएको शब्दलाई नेपाली भाषामा पुस्तकालय भनिन्छ । पुस्तक र आलयबाट पुस्तकालय बनेको छ । जसको अर्थ पुस्तकहरु संग्रह गर्ने स्थान वा घर भन्ने बुझिन्छ । परम्परागत रुपमा पुस्तकालयलाई पुस्तकहरु संग्रह गर्ने संग्राहलयको रुपमा प्रयोग गरिन्थ्यो । तर समयको विकास संगै यसको अर्थमा पनि केही परिवर्तन हुंदै वर्तमान समयमा पुस्तकालयलाई पुस्तक संग्रह मात्र नभई यसले ज्ञान सुचनाको संग्रह वर्गीकरण, व्यवस्थापन सुरक्षा र वितरण भन्ने जनाउँदछ ।
मानव जातिको उत्पत्ति कालदेखि नै आफूले देखे भोगेका अनुभूत गरेका कल्पना गरेका र प्रमाणित विचारहरुलाई लिपीवद्ध गर्न माटाका चक्कीबाट सुरु गरिएको अभिलेखिकरणको परम्परा क्रमशः ढुंगा, काठ समुद्री विरुवाको बोक्रा, जनावरको छाला, धातु, ताडपत्र, भोजपत्र, कागज हुंदै श्रव्य दृश्य जस्ता विद्युतीय सामाग्री सम्म आइपुगेको छ । जसलाई नै इतिहासको जरो मान्नु पर्दछ ।
सन्दर्भ नेपालमा राष्ट्रिय पुस्तकालय दिवस
नेपालमा पुस्तकालयको इतिहास दुई सय वर्ष पुगिसकेको छ । तर पुस्तकालयको प्रयोग र महत्व केही सीमित व्यक्तिहरुमा मात्र सिमित थियो । विस्तारै सार्वजनिक रुपमा पुस्तकालय खोल्दै जाने, शैक्षिक पुस्तकालयको आवश्यकता, महत्व र प्रयोग वढ्दै जान थालेपछि नेपालमा पुस्तकालयको जन्म, विकास सम्बन्धमा पुस्तकालय प्रेमीहरुको चासो बढ्दै जान थाल्यो । ज्ञानको मुहानको रुपमा चिनिने पुस्तकालयलाई सम्मान गर्नुपर्दछ यसको दिवस मनाउनु पर्दछ भन्ने महशुस हुन थाल्यो । यसै क्रममा पुस्तकालय प्रेमी संस्कृतविद, इतिहासविदहरुको बीचमा छलफल भइ पुस्तकालय दिवस मनाउन तपशिल बमाजिम को तर्क सहित प्रत्येक वर्षको भाद्र १५ गतेलाई चयन गर्न सफल भयो ।
पृथ्वीनारायण शाहले युद्धबाट काठमाडौं उपत्यका विजय गरे पश्चात नुवाकोट दरबार, गोरखा दरबारबाट भक्तपुर तथा जहाँ–जहाँ विजय गरे त्यहाँको हस्तलिखित ग्रन्थहरु हनुमानढोका स्थित दरबारको पुजाकोठामा राखियो । यसरी सङ्ग्रह गरिएको केही वर्षपछि अघोषित राजकीय पुस्तकालयको दर्जा पायो । राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा विसं १८६९ भदौ १५ (सन् १८१२ अगष्ट २८) गते शुक्रबार षष्ठि तिथिका दिनमा ‘पुस्तक चिताइ तहविल’ सम्बन्धी नीति नियमको लालमोहर जारी भयो । जसमा ‘चिताइ’ भन्नाले रेखदेख र ‘तहविल’ को अर्थ सङ्ग्रह हुन्छ । यसै लालमोहरबाट नेपालको इतिहासमै सर्वप्रथम पुस्तकालयले कानुनी मान्यता पायो । जसको फलस्वरुप आज पनि हामी भदौ १५ गते पुस्तकालय दिवसको रुपमा मनाइरहेको छौं ।

नेपालको पहिलो पुस्तकालय तहविलदार (लाइब्रेरियन) पण्डित केदारनाथ झालाई वार्षिक रु १२५ दिने गरी नियुक्त गरिएको थियो । यसर्थ राजा गिर्वाणयुद्ध विक्रम शाहले नेपालमा पुस्तकालयको सुरुवात गराएका थिए । त्यतिबेला तहविलदारको काम दैनिक पुजाआजा गर्नु, पुस्तक आदि सामग्रीको रक्षा गर्नु, किरा मुसाबाट जोगाउनु रहेको थियो । यसपछि राणा प्रधानमन्त्री जङ्गबहादुरले सन् १९०४ मा ‘पुस्तक चिताइ तहविलका’ पुस्तकहरु थापाथली दरबारमा सारी खड्गराम जोशीलाई लाईब्रेरियन नियुक्त गरेका थिए ।
त्यसैगरी १९५३ मा वीर शमशेरले सो पुस्तकालयलाई दरबार स्कूलमा सारे र यसैलाई दरबार लाईब्रेरीको नामले चिनियो । पछि १९५७ मा यसलाई घण्टाघरमा निर्मित नयाँ भवनमा सारियो र वीर पुस्तकालय नाम दिइयो । वीर शमशेरको पालादेखि पुस्तकालय सर्वसाधारणका लागि पनि खुल्ला गरियो । अहिले यी पुराना सामग्रीहरु रामशाहपथको राष्ट्रिय अभिलेखालयमा संरक्षित रहेका छन् ।
(वि.सं.१८६९ भाद्र १५ गते तत्कालिन राजा गिर्वाणयुद्ध विरविक्रम शाहदेवले जारी गरेको लालमोहर जस्ता को तेस्तै)
प्रसंग : पुस्तकालय दिवस र चितवन
देशकै मध्ये भागमा रहेको अन्य जिल्ला भन्दा शैक्षिक क्षेत्रमा अग्र स्थानमा रहेको चितवन जिल्ला मेडिकल सिटीको रुपमा चिनिदै आएतापनि पुस्तकालयको विकासको क्षेत्रमा पछि नै परेको महशुस ह्न्छ । चितवनमा साना ठुला गरेर ५० भन्दा बढी पुस्तकालय रहेतापनि खोज र अनुसन्धानको कमीले कुन ठाउंमा कस्ता खालका कुन अवस्थामा छन भन्ने किटानका साथ भन्न सकिदैन । व्यक्तिमा पनि पुस्तकालयप्रति रुचि कम हुनु, राज्यले पनि कुनै ध्यान नदिनुले शैक्षिक बाहेक अन्य पुस्तकालयहरु जीर्ण र लोपोन्मुख अवस्थामा छन । यदि यस्ता पुस्तकालयको संरक्षण, जीर्णाेदार विकास गर्न सके लोकतान्त्रिक जननिर्वाचित स्थानीय सरकारले बनाउन खोजेको सभ्य समाजको निर्माणमा टेवा पुरयाउने थियो र १८ औं राष्ट्रिय पुस्तकालय दिवस “ हाम्रो पुस्तकालय : हाम्राे भविष्य ” भन्ने मूल नाराले मूर्त रुप पाउन सक्ने थियो होला ।
नेपाल सरकारको शिक्षा मन्त्रालय संघीय मामिला तथा स्थानीय मन्त्रालयले केन्द्रिय स्तरमा पुस्तकालय दिवसलाई महत्व दिए पनि चितवनमा भने खासै चहल पहल देखिदैन । पुस्तकालय क्षेत्रप्रति चासो नहुनुमा केही कारणहरु छन जसमा पुस्तकालयमा गएर पढ्ने संस्कृतिको विकास नहुनु, पाठकका रुचि अनुसारका अध्यनन सामाग्रीहरुमा कमी हुनु, भइरहेको पुस्तकालय पनि समय अनुसार परिवर्तन वा चल्न नसक्नु, राज्यको ध्यान कमी हुनु र पुस्तकालय सम्बन्धी एक छाता संगठनको अभाव हुनुलाई मान्न सकिन्छ । यदि पुस्तकालयको विकास गर्न सके व्यक्ति, परिवार समाज हुंदै राष्ट्र नै सभ्य बन्न सक्दछ ।
सुचना र ज्ञानविना कुनै पनि समाज र जुनसुकैको सफल कार्यको कल्पना हुन सक्दैन । त्यसैले पुस्तकालय दिवसको बहुआयामिक महत्वलाई बुझेर पुस्तकालय तथा सूचना केन्द्र सम्वन्धी विभिन्न संघसंस्था, व्यक्तित्वहरु, शिक्षक, विद्यार्थी, संस्कृतविदहरुको सल्लाह सुझावहरुको आधारमा नेपालको पुस्तकालयको इतिहास, संस्कृति र सभ्यता झल्कने दिनलाई पुस्तकालय दिवस मनाउने निर्णयअनुसार वि.स.१९६९ भाद १५ गतेका दिन पुस्तकालय विकासका लागि लगाईएका लालमोहरलाई आधारमानी पुस्तकालयको महत्व र समस्याका बारेमा जे जस्ता अवस्था भएपनि चितवन जिल्लामा पनि केही पुस्तकालय पेशाकर्मी संगठित भइ राष्ट्रिय पुस्तकालय दिवस प्रत्येक भाद्र १५ मा मनाउंदै आएका छौं । नेपालमा राष्ट्रिय पुस्तकालय दिवस मनाउने क्रममा चितवनमा पनि निम्न नाराहरु र स्थानहरुमा तपसिल बमोजिम राष्ट्रिय पुस्तकालय दिवस मनाउंदै आएका छौं ।
पहिलो राष्ट्रिय पुस्तकालय दिवस २०६५ “सवैका लािग पुस्तकालय” उक्त दिवस चितवनमा मनाउन असमर्थ ।
दोस्रो राष्ट्रिय पुस्तकालय दिवस २०६६ “पुस्तकालयको विकास नयां नेपालको निकास” उद्योग वाणिज्य संघ रत्ननगर टाँडी चितवन।
तेस्रो राष्ट्रिय पुस्तकालय दिवस २०६७ “सूचना, ज्ञान र सीपका लागि पुस्तकालय” वि.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल यज्ञपुरी चितवन ।
चौंथो राष्ट्रिय पुस्तकालय दिवस २०६८ “संवृद्द नेपालका लागि पुस्तकालय” स्कुल अफ हेल्थ साइन्स भरतपुर ।
पांचौ राष्ट्रिय पुस्तकालय दिवस २०६९ “ पुस्तकालय जाऔं, पढ्ने बानीको विकास गरौं ” वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर ।
छैर्ठौ राष्ट्रिय पुस्तकालय दिवस २०७० “एक गाउं एक पुस्तकालय, एक विद्यालय एक पुस्तकालय” स्कुल अफ हेल्थ साइन्स भरतपुर ।
.सातौं राष्ट्रिय पुस्तकालय दिवस २०७१ “पुस्तकालयको विकास, सभ्य समाजको आधार” स्कुल अफ हेल्थ साइन्स भरतपुर ।
आठौं राष्ट्रिय पुस्तकालय दिवस २०७२ “पुस्तकालयलाई माया गरौं,पुस्तकालयलाई विकास गरौं” । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर ।
नवौं राष्ट्रिय पुस्तकालय दिवस २०७३ “ जीवन पर्यन्य शिक्षाका लागि पुस्तकालय” वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, ।
दशौं राष्ट्रिय पुस्तकालय दिवस २०७४ “जीवन पर्यन्त शिक्षाका लागि एक स्थानीय तह र एक नमुना पुस्तकालय” वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर ।
.एघारौं राष्ट्रिय पुस्तकालय दिवस २०७५ “सम्वृद्ध पुस्तकालय सुदृद्ध समाज”दोभान पुस्तकालय भरतपुर ।
बाह्रौं राष्ट्रिय पुस्तकालय दिवस २०७६ लाई “पठन संस्कृतिको पुर्वाधार, पुस्तकालयको विकास र विस्तार” वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर ।
तेहै पुस्तकालय दिवस २०७७ “समाज रुपान्तरणको लागी पुस्तकालय ” आ–आफना बन्द कोठामा सचना र प्रबिधिको माघ्यमबाट मनायौं ।
२०७७ सालमा बिश्व समदाय नै कोरोना माहामारीबाट अस्त ब्यस्त बनी सम्पूर्ण बिश्व मानव बिकासको सबै माथी बज्रपातपरी मानव बिकासका कार्य र गतिबिधिहरूमा ताला लगाएको अवस्था भएपनि हामीले भन्ने मूल नाराका साथ अन्तरक्रियाा गरि भाद्र १५ मा नै मनायौं ।
चौधौ राष्ट्रिय पुस्तकालय दिवस२०७८ “सबल समाजको आधर सार्बजनिक पुस्तकालयको विकास र विस्तार”भन्ने मूल नाराका साथ आइ.ओ.एम.टि.नर्सिड्ढ कलेज भरतपरमा मनायौं ।
पन्धौ राष्ट्रिय पुस्तकालय दिवस“पढौं पढाऔ निरन्तर, शिक्ष्ँँकँे लागी पुस्तकालय जाऔ ” रामेश्वर सार्बजनिक पुस्तकालय भरतपुर ०२ क्षेत्रपुुर
सोेहौ राष्ट्रिय पुस्तकालय दिवस रामेश्वर सार्बजनिक पुस्तकालय भरतपुर ०२ क्षेत्रपुुरमा अन्तरक्रियाा गरि २०८० भाद्र १५ मा नै मनायौं ।
सत्रौ राष्ट्रिय पुस्तकालय दिवस २०८१ मूल नारा “पढौं पढाऔ निरन्तर, शिक्ष्ँँकँे लागी पुस्तकालय जाऔ ” भन्ने मूल नाराका साथ बिबिध कार्यक्र्रम चित्रकला प्रतियोगिता, प्रभातफेरि र पुस्तकालय ब्बस्थापन तालिम साथै अन्तरक्रिया कार्यक्र्रम का साथ भाद्र १५ मा पाल सामुदायिक पुस्तकालय संघ, वाग्मती प्रदेश समिति र चितवन पुस्तकालयको संयुक्त आयोजनामा ज्योति पुस्तकालय भरतपुर १२ मानै मनायौं ।
भदौ १५ गते औं राष्ट्रिय पुस्तकालय दिवस “ हााम्राे पुस्तकालय : हााम्राे ” भन्ने मूल नारा” का साथ मनायौं ।
पुस्तकालय केवल किताब राख्ने ठाउँ मात्र होइन, यो ज्ञान, विचार र भविष्य निर्माण गर्ने आधारशिला हो। पुस्तकालयले विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा आम नागरिकलाई पढाइ–लेखाइमा सजिलो बनाउँछ। आजको समयमा सूचना र प्रविधि छिटो बदलिँदै गएको छ, तर पुस्तकालय अझै पनि विश्वसनीय स्रोतको रूपमा समाजमा स्थापित छ।
हाम्रो पुस्तकालयले नयाँ पुस्तालाई पढ्ने, बुझ्ने र सोच्ने क्षमतामा प्रोत्साहन दिन्छ । यसले शिक्षा मात्र होइन, संस्कार र जिम्मेवारी पनि सिकाउँछ । जब हामी पुस्तकालय प्रयोग गर्छौं, तब हामी ज्ञानसँग जोडिन्छौं र यसले हाम्रो भविष्यलाई उज्ज्वल बनाउन मद्दत गर्छ।
पुस्तकालय हाम्रो भविष्य किन भन्ने कारयाहरू
यसले सस्तो र सजिलो रूपमा ज्ञान प्राप्त गर्ने अवसर दिन्छ ।
विद्यार्थी तथा युवाहरूलाई स्वाध्याय र अनुसन्धानमा प्रेरित गर्छ ।
पुस्तकालयमा हुने कार्यक्रमहरूले सामूहिकता र आपसी सहकार्य बढाउँछ ।
डिजिटल पुस्तकालयको विकासले नयाँ पुस्तालाई विश्वसँग जोड्छ ।
यसैले, “हाम्रो पुस्तकालय नै हाम्रो भविष्य“ हो भन्ने कुरा स्पष्ट हुन्छ। यदि हामीले पुस्तकालयलाई संरक्षण र प्रवद्धन गर्यौं भने मात्र शिक्षित, सचेत र प्रगतिशील समाज निर्माण गर्न सकिन्छ।हामी विद्यार्थीहरू नै भोलिका डाक्टर, इन्जिनियर, शिक्षक वा नेता हौं। यदि हामी पुस्तकालयमा गएर धेरै पढ्छौं भने हाम्रो भविष्य उज्यालो हुन्छ । पढाइले मात्र होइन, जीवनमा आवश्यक ज्ञान र अनुभव पनि पुस्तकालयले दिन्छ ।
पुस्तकालय विना शिक्षा अधुरो हुन्छ त्यसैले पुस्तकालय जोगाउनु र प्रयोग गर्नु हाम्रो कर्तव्य हो। अन्तर्राष्ट्रिय पुस्तकालय दिवसले हामीलाई पुस्तकालयप्रति माया र सम्मान गर्न सिकाउँछ । त्यसैले हामी सबैले भन्न सक्छौं—हाम्रो पुस्तकालय नै हाम्रो भविष्य हो ।
”पुस्तकालय दिवस मनाएर ठूलो उपलब्धी हासिल नगरे पनि कुनै दिन सबै निकाय, संघ संस्थाले साथ दिने छ भनि हामी यसलाई निरन्तरता दिइरहेका छौं । साथै २०७६ देखि संघीय मामिला तथा स्थानीय मन्त्रालयले सम्पूर्ण स्थानीय निकायहरुलाई आफु अन्तरगतका शैक्षिक संस्थाहरुमा पुस्तकालय दिवस मनाउन सुचना जारी गरेकोमा सरकारले पनि केही ध्यान पुर्याउन थालेको आभास हुन्छ । तर यस चितवनमा वि.सं. २०७० सालदेखि एकनारायण पौडेलको अध्यक्षतामा एक पुस्तकालय तदर्थ समिति क्रियाशिल छ । आज २०८२,भाद्र १५ अठारौ राष्ट्रिय पुस्तकालय दिवस
“हाम्राृ पुस्तकालय स् हाम्रो भविष्य ” भन्ने मूल नाराका साथ विभिन्न संघ संस्था व्यक्ति संगठन ले विभिन्न शैक्षिक सामाग्री वितरण र अन्तरक्रिया अन्तरक्रिया कार्यक्र्रम का साथ मनाउंदै छौ
।अन्तमा १८ औं पुस्तकालय दिवसको उपलक्ष्यमा देश विदेशका समस्त पुस्तकालयकर्मी, पुस्तकालयप्रेमी तथा यस क्षेत्रसँगसम्बन्ध राख्ने सबै व्यक्ति, संस्था र सङ्घसंगठनहरूमा चितवन पुस्तकालय सङ्घका तर्फबाट अभिवादन, हार्दिेक मंगलमय शुभकामना र शुभेच्छा व्यक्त गर्दछु।
स्रोतः अनलाइन पत्र पत्रिका, पुराना लेखहरु
(लेखक चितवन जिल्ला पुस्तकालय संघ जिल्ला तदर्थ समितिका अध्यक्ष हुनुहुन्छ ।)





