नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा `बखान´को परिचर्चा कार्यक्रम

ललितपुर, १४ भदौ ।
नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले लेखक वसन्त पराजुलीको उपन्यास `बखान´ माथि परिचर्चा कार्यक्रम आयोजना गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा शनिबार आयोजित परिचर्चा कार्यक्रममा सहभागी कांग्रेस नेता एवम् लेखक साहित्यकारहरुले ऐतिहासिक पात्र बखानसिंह गुरुङले प्रजातान्त्रिक आन्दोलन, सहकारी अभियान एवम् चितवनको बस्तीविकासमा पुर्‍याएको योगदानमा आधारित भएर उपन्यास लेखिएको भन्दै प्रशंशा गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका सांसद एव पूर्व मन्त्री दिलेन्द्रप्रसाद बडुले आफूले उपन्यास पढ्न नभ्याएपनि बखानसिंह गुरुङको संघर्षको बारेमा जानकार रहेको भन्दै ऐतिहासिक विषयलाई उपन्यासमार्फत उजागर गरेकोमा लेखक पराजुलीलाई बधाई दिए । उनले युवा पुस्ताहरुले ऐतिहासिक बिषयबस्तुमा गहिरो अध्ययन गरेर पुस्तकको माध्यमबाट समाजलाई योगदान दिनुपर्नेमा जोड दिए ।

यस्तै कांग्रेस केन्द्रीय सदस्य एवम् पुस्तकालय तथा अध्ययन श्रोत केन्द्रका प्रमुख अजयबाबु शिवाकोटीले ऐतिहासिक पात्र बखानसिंह गुरुङको संघर्षको गाथामा पराजुलीले उपन्यास तयार पारेको भन्दै आफू नेतृत्वको विभागले यस्तै इतिहास बोकेका विषयवस्तुहरुको अध्ययन, अनुसन्धानमा धेरै काम गरिरहेको जानकारी दिए । कांग्रेस नेता एवम् विश्लेषक शंकर तिवारीले बखानसिंह गु्रुङको जीवनीमा आधारित उपन्यासबाट कांग्रेसको नेतृत्वमा पटकपटक भएको संघर्ष, २०३८ सालमा गुरुङ मन्त्री बन्दा कानुन, न्याय तथा भूमिसुधार मन्त्रीनै रोज्नुको कारण जस्ता विषय खोजीको अर्को पाटो भएको उल्लेख गरेका थिए ।

लेखक, साहित्यकार ठाकुर बेल्वासेले उपन्यास पाउने बित्तिकै कस्तो होला के होला भन्दै पाना पल्टाउँदा आफ्नो ध्यान एकाकार भएको भन्दै पराजुलीले नेपाली साहित्यलाई उत्कृष्ट उपन्यास दिएको बताए । उनले यसलाई इतिहासको दस्तावेज भन्दा पनि उपन्यासकै रुपमा ग्रहण गर्नुपर्नेमा जोड दिए । साहित्यकार एवम् प्राध्यापक एलबी क्षेत्रीले २०१८ सालमा चितवनमा पन्चायत बिरुद्ध भएको संघर्षको विषय उपन्यासमा समेटिएको भन्दै त्यसबारे कांग्रेसले अझै खोजबीन गर्नुपर्ने सुझाव दिए ।

बखानसिंह गुरुङकी पनातिनी जानुका गुरुङले कतिपय प्रसङ्ग उपन्यासमा समेटिन बाँकी रहेको भन्दै कांग्रेसले आफ्ना बाजेको उचित मूल्यांकन गर्न नसकेको गुनासो गरिन् । उपन्यासकार पराजुलीले आफूले बखानसिंह गुरुङको ऐतिहासिक तथ्यमा केन्द्रित भई उपन्यास तयार पारेको जानकारी दिँदै पछिल्लो समय राजनीतिक वृत्तमा ब्यापक बहस सिर्जना गर्न सफल भएकोमा सबैप्रति आभार व्यक्त गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट