गैंडाकोट, १४ भदौ ।
पूर्वी नवलपरासीको हर्कपुरमा अवस्थित इला कम्फर्ट होटलले स्वच्छता तथा हरियाली अभियान अन्तर्गत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । गैंडाकोट नगरपालिका- १२, हर्कपुरमा रहेको सो होटलले पूर्वपश्चिम महेन्द्र राजमार्गको डिभाइडर तथा सडक दायाँबायाँ रहेको घाँस, झाडी, बुट्यान काटेर सफा गर्नुका साथै सडकमा भएका प्लास्टिक तथा अन्य फोहोर टिपेर सडक सरसफाई गरेको हो । हर्कपुरमा भर्खरै आफ्नो सेवा शुभारम्भ गरेको इला कम्फर्ट होटलले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त कार्यक्रम गरेको होटलका महाप्रबन्धक प्रदीप न्यौपानेले बताउनुभयो ।
स्थानीय समुदायसँग मिलेर अझै धेरै काम गर्ने आफूहरुको योजना रहेको महाप्रबन्धक न्यौपानेले बताउनुभयो । हर्कपुरमा सेवा शुभारम्भ गरेको इला कम्फर्ट इला ब्राण्डको तेस्रो आउटलेट हो । यसअघि बाग्लुङमा इला कम्फर्ट र गैंडाकोटको मौलाकाली डाँडामा इला रिसोर्ट मौलाकाली सञ्चालनमा आइसकेका छन् ।
नेपालको आफ्नै मौलिक ब्राण्ड इलाले देशका विभिन्न क्षेत्रमा पर्यटकीय साथै आतिथ्य सत्कार सम्बन्धि आयोजनाहरु सञ्चालन गरी पर्यटकीय गन्तव्य र नेपाली परिकारहरुलाई प्रवर्धन गर्ने लक्ष्य राखेको इला होटल एण्ड रिसोर्टका सञ्चालक सचिन ढकालले बताउनुभयो ।
हर्कपुरस्थित इला कम्फर्टमा ठूलो क्षेत्रफलमा वाटर पार्क रहेको छ भने आवासका लागि सुविधासम्पन्न ३५ वटा कोठाहरु रहेका छन् । नेपालकै सुप्रसिद्ध व्यापारिक घराना आइएमई समूह अन्तर्गतको इलाले अहिले आक्रामक रुपमा देशका विभिन्न स्थानमा आफ्नो आउटलेट थप्दैछ । पर्यटकीय हिसाबले अथाह सम्भावना बोकेका नेपालका हरेक ठाउँ आफैंमा सुन्दर छन् । आन्तरिक तथा विशेष गरी विदेशी पर्यटकलाई यी ठाउँमा आकर्षित गरी राम्रो आतिथ्य सत्कार प्रदान गर्न सकिए यसले दूरगामी प्रभाव पार्ने र नेपालको विकासमा महत्वपूर्ण योगदान पुर्याउने सञ्चालक ढकालको भनाई छ ।





