चितवन, १४ भदौ ।
शैक्षिक परामर्श संघ नेपाल (ईक्यान) ले २९ औंँ स्थापना दिवस विशेष कार्यक्रममार्फत मनाएको छ । यसै अवसरमा ईक्यान चितवनले भरतपुरस्थित होटल रेड कार्पेटको अगाडिको परिसरमा रक्तदान कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ ।
कार्यक्रमको अध्यक्षता ईक्यान चितवनका अध्यक्ष दीपकचन्द्र भट्टराईले गर्नुभयको थियो । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका–१ का वडा अध्यक्ष आदरणीय केशव महर्जन रहनुभएको थियो ।
विशेष अतिथिहरूमा यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष आदरणीय रामप्रसाद सुवेदी, ईक्यान केन्द्रका सम्माननीय केन्द्रीय सदस्य मञ्जित ढकाल तथा अष्ट्रेलियाको सिड्नी सिटी कलेजका प्रमुख रञ्जु थापा रहनुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य ईक्यान चितवनका उपाध्यक्ष प्रज्वल पौडेलले प्रस्तुत गर्नुभएको थियो भने सञ्चालन सचिव सुजन थापा क्षेत्रीले गर्नुभएको थियो ।
रक्तदान कार्यक्रममार्फत कुल ५६ पिन्ट रगत सङ्कलन गरिएको छ, जसमा ४५ जना पुरुष दाता र ११ जना महिला दात्रीहरूको सक्रिय सहभागिता रहेको थियो ।




