अरुको उन्नति प्रगति देखिसहन्न आहारिसे
भित्रभित्रै भुसको आगोझैँ जल्छ ऊ
गरिखाने जाँगर छैन उसमा
कहिले क्रोधाग्निमा जल्छ त
कहिले गन्धे पोखरीमा चुर्लुम्म डुब्छ ऊ ।
तपतप पसिना चुहाएर
लहलह बाली झुलाउने
किसानको प्रगतिमा
मुर्मुरिन्छ ऊ
कहिले काँडा तेस्र्याएर त
कहिले एम्बुस थापेरै भए पनि
अरुलाई दुःख दिन चाहन्छ ऊ
उर्वर बीजहरु नष्ट गर्न र
कलकलाउँदा मुनाहरु निमोठ्न
आनान्दानुभूति हुन्छ उसलाई
लुकीछिपी भए पनि
अविछिन्न लागिरहन्छ ऊ
उसको कर्म, धर्म जे भने पनि
अरुलाई नामेट पारेर
आफ्नै जलेको मनमा
मलम लगाउनु छ ।
मुहान थुनेर पानीको
किसानलाई धुरुधुरु रवाउँछ ऊ
पसिनाको नदी तरेर
दुःखको पहाड चढ्न
खोज्नेहरुलाई पनि ऊ
कहिले डुङ्गा पल्टाएर
त कहिले पहिरो खसाएरै
भए पनि असह्य पीडा
दिन निरन्तर लागिरहन्छ ।
आफन्त र बन्धुबान्धवको
हरियो र पहेँलपुर बालीनाली त
झनै देखिसहन्न ऊ
बैरीको ओठमा मुस्कान देख्न
आतुर छ ऊ
त्यसैले पुर्याउँदा
उर्वर बालीनाली बैरीको पोल्टामा
चरम आनान्दानुभूति गर्छ ऊ
र हरदम लागिरहन्छ
आफन्त, बन्धुबान्धव र स्वदेशीलाई रुवाएर
पराइको ओठमा मुस्कान छर्न
त्यसैले त भनिन्छ,
देखासिकी गरी खा
आहारिसे मरी जा ।





