वास्तुशास्त्रले प्रत्येक निर्माणलाई प्रकृतिसँगको सन्तुलनको रूपमा हेर्छ

वास्तुशास्त्र

हाम्रो जीवनमा घर केवल आश्रयको माध्यममात्र होइन, जीवनका सबै भावनाहरू संकलित हुने केन्द्र पनि हो । जसरी शरीर आत्मा विना निर्जीव हुन्छ, त्यसरी नै घर पनि वास्तु-नियम विना केवल ईंटा ढुङ्गाको थुप्रो मात्र हुन जान्छ । त्यसैले हाम्रो पुरानो संस्कृतिले घरलाई ‘मंगल भवन’ भनेको छ । वास्तुशास्त्रसम्मत भएको घरमा स्वास्थ्य, समृद्धि र शान्ति टिक्छ भने वास्तुदोष भएको घरमा निरन्तर अशान्ति र बाधा उत्पन्न हुने विश्वास गरिएको छ ।

वास्तुशास्त्रले प्रत्येक निर्माणलाई प्रकृतिसँगको सन्तुलनको रूपमा हेर्छ । यसै कारण यो शास्त्रलाई केवल इँटा, ढुङ्गा मिलाउने प्राविधिक ज्ञान नभई एक प्रकारको आध्यात्मिक विज्ञान पनि मानिन्छ । सूर्य, चन्द्र, ग्रह, तारा र दिशासँग हाम्रो जीवनको ऊर्जा गहिरो रूपमा जोडिएको छ । घरको दिशा, प्रवेशद्वार, झ्याल, आँगन वा भान्साको स्थान यिनै प्राकृतिक ऊर्जासँग सम्बन्धित हुन्छन् ।

हामी सिधा उभिँदा अगाडी, दायाँ र बायाँ देख्छौँ, तर माथि र तल सजिलै देख्दैनौँ । वास्तुका तीन प्रमुख दिशाहरू यही दृष्टिकोणसँग मेल खान्छन् । यिनै दिशाहरू जीवनका तीन गुणसँग पनि सम्बन्धित छन्:- सत्व, रज र तम । यी गुणहरूको उचित संयोजन नै सृष्टिको सूत्र हो । घरमा पनि यही सूत्रलाई अपनाउँदा जीवनमा स्थिरता र उन्नति हुन्छ ।

पुराना पुस्ताका मानिसहरूले यसै कारण आफ्नो घरलाई केवल बस्ने ठाउँ नभई पूजा, ध्यान गर्ने स्थल, आपसी प्रेम बाँड्ने थलो र पवित्र ऊर्जा संकलन गर्ने केन्द्रका रूपमा बनाउँथे । त्यसैले उनीहरू ठूलो संयुक्त परिवारमा पनि सुखपूर्वक बस्न सक्थे । आज हामीले आधुनिक घर त सजिलै बनाएका छौँ, तर वास्तु अनुसार नबनाउँदा दुई परिवारमात्र हुँदा पनि असन्तोष, झगडा र मानसिक तनाव बढेको छ ।

वास्तुदोषको असर केवल परिवारको सम्बन्धमा मात्र सीमित हुँदैन । यसले स्वास्थ्य, शिक्षा, व्यवसाय र सम्पत्तिमा समेत प्रभाव पार्छ । उदाहरणका लागि भान्सा गलत दिशामा भए घरमा स्वास्थ्य समस्या बढ्छ भन्ने मान्यता छ । शयनकक्ष अशुभ कोणमा भए वैवाहिक सम्बन्धमा असन्तुलन आउँछ र मूलद्वार अशुभ दिशामा भए आर्थिक प्रगति निरन्तर खस्किँदै जान्छ । यस्ता अनेकौं नियमहरू वास्तुशास्त्रमा उल्लेख्य छन् ।

भ्रम नहोस्, वास्तुशास्त्र केवल दोष देखाउने शास्त्र होइन, यसले समाधानको बाटो पनि दिन्छ । घर निर्माणका बेला सही दिशा, खुलापन, प्राकृतिक प्रकाश र हावाको प्रवाह सुनिश्चित गर्नुपर्छ । यदि पहिले नै बनेको घरमा केही असन्तुलन छ भने साना साना उपायहरूको अवलम्बन गर्नुपर्छ । जस्तै:- उचित रङ्गको प्रयोग, शुभ प्रतीक राख्ने, देवस्थानको व्यवस्था गर्ने आदिले पनि दोष घटाउन सकिन्छ ।

यसरी हेर्दा वास्तु केवल घर निर्माण गर्ने ज्ञान नभई, जीवनलाई व्यवस्थित र सकारात्मक बनाउने दर्शन हो । घरलाई पवित्र स्थल मानेर प्रवेश गर्दा, सकारात्मक विचारसहित बसेर कर्म गर्दा र छिमेकीप्रति मैत्रीभाव राख्दा घर आफैं मन्दिरसरह पवित्र हुन्छ । यही कारण हाम्रो संस्कृतिमा भन्ने गरिएको छ “घर राम्रो बनाउँदा मात्र होइन, वास्तु राम्रो भयो भने मात्र जीवन राम्रो हुन्छ ।”

घर निर्माणमा ध्यान दिनुपर्ने आधारभूत कुराहरू

मुख्य ढोका (प्रवेशद्वार) : प्रवेशद्वार घरको आत्मा जस्तै हो । पूर्व-उत्तरतर्फ ढोका शुभ मानिन्छ । यस्तो ढोकाबाट सकारात्मक ऊर्जा घरभित्र पस्छ र घरमा सधैं आनन्दको माहोल सिर्जना हुन्छ ।

भान्सा (किचन) : अग्नि तत्त्वको स्थान भएकाले दक्षिण-पूर्व दिशा उपयुक्त हुन्छ । यहाँ खाना पकाउँदा परिवारको स्वास्थ्य राम्रो हुन्छ र आपसी सम्बन्धमा ताजगी रहन्छ । (भान्सा जति नै विधिसम्मत बनाए पनि परिकार सात्त्विक र स्वस्थकर भएन भने त्यो शास्त्रीय मर्यादाको उल्लङ्घन मानिन्छ ।)

शयनकक्ष (बेडरूम) : दाम्पत्य जीवन सन्तुलित बनाउन दक्षिण-पश्चिमतर्फ शयनकक्ष राख्नु शुभ हुन्छ ।

देवस्थान (पूजाकोठा) : घरको उत्तर-पूर्व कोण ईश्वरको स्थान मानिन्छ । यहाँ देवस्थान राख्दा घरमा पवित्रता र शान्ति बढ्छ ।

पानीको स्रोत : इनार, ट्याङ्की वा धारो उत्तर-पूर्वमा भए आर्थिक समृद्धि हुन्छ भन्ने विश्वास छ । यिनै आधारभूत कुराहरूमा ध्यान दिन सके वास्तुदोष घट्छ र घरमा शान्ति बस्छ ।

हाम्रा पुर्खाहरूले वास्तु राम्ररी बुझ्थे । उनीहरूले आँगन खुला राख्थे, आकाशलाई हेर्ने सुविधा राख्थे, बगैँचामा बोटबिरुवा रोप्थे । यसरी प्रकृतिसँग मिलेर बाँच्ने संस्कृति थियो । त्यसैले ठूलो परिवार एउटै छानोमुनि खुशीसाथ बस्न सक्थे । आज हामीले भवन त सुन्दर बनाएका छौँ, तर वास्तुको असन्तुलनले गर्दा मानसिक तनाव, असन्तोष र पारिवारिक विवाद बढेको छ । वास्तुमा दोष भए परिवारका सदस्यबीच आपसी मनमुटाव बढ्छ, व्यापारमा घाटा हुन्छ, स्वास्थ्यमा समस्या आउँछ । कतिपयलाई सधैं ऋण वा चिन्ताको बोझ रहन्छ । यस्तो बेला वास्तुका नियमबारे सचेत हुन आवश्यक छ ।

समाधान र उपाय

यदि पहिले बनेको घरमा वास्तुदोष छ भने पनि निराश हुनुपर्दैन । सानो सानो उपायहरूले पनि दोष घटाउन सकिन्छ । ढोकामा शुभ चिन्ह (स्वस्तिक वा ॐ) लेख्ने वा राख्ने । घर सफा र खुला राख्ने । घर वरिपरि पर्याप्त मात्रामा बगैंचा लगाउने । पूजाकोठामा नियमित दीप प्रज्वलन गर्ने । घर नजिकमा तुलसीको बोट रोप्ने । यी र यस्ता सरल उपायले पनि घरमा सकारात्मक ऊर्जा बढ्छ, वास्तुदोषको प्रभाव कम हुन्छ ।

अन्त्यमा भन्नुपर्दा, वास्तुशास्त्र केवल घर बनाउने ज्ञानमात्र होइन, जीवनलाई व्यवस्थित गर्ने दर्शन हो । सकारात्मक विचारसहित घरमा पस्ने, धार्मिक भावना र नम्रता बोकेर बाँच्ने अनि छिमेकीप्रति आत्मीयता राख्ने यी नै वास्तुशास्त्रका मूल आधार हुन् । हाम्रा पुर्खाहरूले यही ज्ञान आत्मसात् गरेर जीवन सजाएका थिए ।

(लेखक न्यौपाने वेद वेदाङ्ग संस्कृत विद्यापीठम् देवघाटधाममा अध्ययनरत हुनुहुन्छ ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट