मकवानपुर, ११ भदौ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले २ जना विपन्न परिवारको घर बनाइदिने भएका छन् ।
आफ्नो तलब भत्ताबाट दसैँ अघि नै सम्पन्न गर्ने गरी मुख्यमन्त्री बानियाँले २ वटा घर निर्माणको लागि सम्झौता गरेका छन् । बुधबार मुख्यमन्त्री बानियाँले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–१ का एक चेपाङको घर बनाउन सम्झौता गरेका छन् ।
अति विपन्न सुमनसिंह चेपाङको घर निर्माणका लागि मुख्यमन्त्री बानियाँले आफ्नो तलबबाट रकम उपलब्ध गराएका छन् ।
मुख्यमन्त्रीको सेवा सुविधाबाट प्राप्त हुने रकमबाट आफ्नो क्षेत्रका विपन्न सीमान्तकृत परिवारको घर निर्माण गर्ने घोषणा गरेका मुख्यमन्त्री बानियाँले सुमनसिंह चेपाङको घर बनाउन २ लाख रुपैयाँ रकम निर्माण प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् ।
राक्सिराङ गाउँपालिकाको सिफारिसमा बानियाँले आफ्नो तलब भत्ताबाट घर बनाउन रकम उपलब्ध गराएका हुन् । चेपाङ समुदायका सुमनसिंह वर्षौँदेखि झोपडीमा कष्टकर जीवन बिताउँदै आएका थिए । केही समयअघि मात्र सुमन सिंहकी श्रीमती सुत्केरी भएकी र सोही झुपडीमा बस्न बाध्य रहेकी थिइन् ।
यसअघि मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिकाकी एकल दलित महिलाको लागि पनि घर बनाउने गरी सम्झौता गरेका थिए ।
गत भदौ ९ गते मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका–९ कि विपन्न दलित एकल महिलाको मिठुमाया सुनारको घर निर्माणका लागि सम्झौता गरेका थिए । मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिकामार्फत २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेर मिठुमाया सुनारको घर बनाउने काम थाल्न निर्देशन दिएका थिए ।
सो रकमबाट मिठुमाया र सुमन सिंहले २ वटा कोठा, एउटा भान्छासहित घर र ट्वाइलेट बाथरुम निर्माण गरिने छ । पहिलो चरणमा दुवै घर बनाउन २/२ लाख रुपैयाँ उपलब्ध गराएको र थप रकम क्रमशः उपलब्ध गराइने मुख्यमन्त्री बानियाँ बताए ।
एउटा घरका लागि न्यूनतम ५ लाख रुपैयाँसम्म खर्च हुने अनुमान रहेको छ ।
बागमतीमा ‘नो हेलमेट, नो फ्युल’ अभियान

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ‘नो हेलमेट, नो फ्युल’ अभियान कार्यान्वयन गर्न निर्देशन दिएका छन् । उनले हेलमेट प्रयोग नगर्नेलाई इन्धन नदिने अभियानमा कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री बानियाँले उक्त अभियान कार्यान्वयन गर्न नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको बागमती प्रदेश समितिलाई पत्राचार गरिने बताए ।
अभियानको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि जिल्ला प्रशासन कार्यालयहरू र सुरक्षा निकायहरूलाई समेत जिम्मेवारी ताेकिने बताइएकाे छ ।
एसोसिएसनले आफ्ना सदस्य पेट्रोल पम्पहरूमा ‘नो हेलमेट, नो फ्युल’ सम्बन्धी सचेतनामूलक सन्देश–बोर्ड राख्ने व्यवस्था मिलाउन मुख्यमन्त्री बानियाँले निर्देशन दिएका छन् ।
प्रदेशमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न सुरक्षा निकाय र सरोकारवालाहरूसँगको सहकार्यमा कडा कदम चाल्न उनले निर्देशन दिएका छन् ।
त्यसका अतिरिक्त, सवारी चालकले मादक पदार्थ र लागू पदार्थ सेवन गरे/नगरेको जाँचलाई नियमित र कडा बनाउन, सवारी दुर्घटनामा कमी ल्याउन र ट्राफिक सचेतना अभिवृद्धि गर्न सम्बन्धित सबै निकायलाई प्रभावकारी रूपमा काम गर्न उनले निर्देशन दिएका छन् ।
कार्यक्रममा नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, चितवनका तर्फबाट बागमती प्रदेशभित्रको सवारी दुर्घटनाको अवस्था र कारण सम्बन्धी प्रस्तुतीकरण गरिएको थियो ।




