पत्रकार पराजुलीको `बखान´ उपन्यास सार्वजनिक

काठमाडौँ, ८ भदौ ।
पत्रकार तथा लेखक वसन्त पराजुलीको नयाँ कृति बखान शनिबार राजधानीमा भव्य समारोहका बीच लोकार्पण गरिएको छ ।

शिखा बुक्सले प्रकाशन गरेको बखान तथ्य–घटनामा आधारित एक गैर–आख्यान हो, जसलाई लेखकले अध्ययन र जीवन्त अनुभूतिको सेतुका रूपमा प्रस्तुत गरेका छन् । पुस्तकले ऐतिहासिक व्यक्तित्व स्व.बखानसिंह गुरुङको जीवनलाई केन्द्रमा राखेको छ ।

लेखक पराजुलीले २००७ सालको परिवर्तनदेखि पञ्चायतसम्मको राजनीतिक यात्रा, नेपाली कांग्रेसको संघर्ष, बीपी कोइरालाको समाजवादका चरण र गुरुङले आफ्ना दुई छोराको निधनले भोगेको पीडालाई मार्मिक ढङ्गले उतारेका छन् ।

समारोहका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अन्य इतिहासका पुस्तकमा उल्लेख नभएका घटनाक्रमलाई पराजुलीले पुस्तकमार्फत उजागर गर्न सफल भएको टिप्पणी गरे ।  बखानसिंह गुरुङको उच्च योगदानलाई पुस्तकले इतिहासमा सजीव बनाएको महामन्त्री शर्माले उल्लेख गरे ।

त्यसैगरी कांग्रेसका सह–महामन्त्री जीवन परियारले महत्वपूर्ण योगदान पुर्‍याएका बखानसिंह गुरुङलाई पार्टीले औपचारिक सम्मान गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा बखानसिंह गुरुङकी पनातिनी जानुका गुरुङले आफ्ना बाजेलाई उच्च मूल्याङ्कन गर्दै उनलाई राष्ट्रको शहीद घोषणा गर्नुपर्ने माग राखिन् ।

समारोहमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, साहित्यकार अमर न्यौपाने, विश्लेषक शंकर तिवारी, शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेल, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, कविडाँड साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीलगायतका वक्ताले बखान बाट नयाँ इतिहासका कालखण्डबारे महत्वपूर्ण जानकारी पाइने उल्लेख गरे ।

साहित्यकार न्यौपानेले पुस्तकमाथि चर्चा गर्दै राजनीतिक परिवर्तनका क्रममा धेरै पुस्तकले छुटाएका घटनाक्रमलाई बखान ले समेटेको बताए ।

पुस्तकका लेखक तथा पत्रकार पराजुलीले बखानसिंह गुरुङको योगदानलाई साहित्यको माध्यमबाट आकार दिन खोजेको उल्लेख गर्दै पुस्तकको मूल्याङ्कन पाठकको हातमा रहेको स्पष्ट पारे ।

पुस्तक सार्वजनिक कार्यक्रममा साहित्यकार, पत्रकार, समाजसेवी, प्रबुद्ध वर्ग, प्राध्यापक, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

यसअघि पराजुलीका कुमाता, मोम्चो लगायत ३ कृति प्रकाशित भइसकेका छन् । विगत साढे दुई दशकदेखि लगातार पत्रकारितामा सक्रिय उनी नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष समेत हुन् । हाल चितवनमै रहेर उनी पत्रकारिता गर्दै आएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट