आजको अनुसन्धान र विज्ञानको युगमा पनि मानिसहरूले जन्म, विवाह, यात्राजस्ता जीवनका महत्वपूर्ण कार्यहरूमा अदृष्ट फल (पूर्वनिश्चित भाग्य) प्राप्त गर्न दृष्टलग्नको प्रयोग गर्छन् । तर प्रचलित अभ्यासमा प्रायः गणनात्मक (भवृत्तीय) लग्नलाई आधार बनाइन्छ । जुन शास्त्रसम्मत मात्र नभई प्रत्यक्ष तर्कका दृष्टिले पनि असङ्गत छ । यसरी नियाल्दा गलत आधार प्रयोग गर्नु नै इच्छित फल नपाउने प्रमुख कारण हो ।

नक्षत्रहरूको समूहलाई राशि भनिन्छ । सूर्य जुन मार्गबाट देखिन्छ, त्यसलाई क्रान्तिवृत्त वा भवृत्त भनिन्छ। यही भवृत्तलाई बाह्र (१२) समान भागमा विभाजन गरी मेषदेखि मीनसम्म बाह्र (१२) राशिहरू बनाइएका छन् । यसरी राशि दुई प्रकारका हुन्छन्:- पहिलो दृश्य नक्षत्रको प्रत्यक्ष विम्ब भएको र दोस्रो स्थानरूप अथवा अदृश्य (गणनात्मक बिन्दुमा आधारित)।

लग्न भन्नाले पृथ्वीको क्षितिजमा उदित हुने राशिलाई बुझिन्छ । राशि दुई प्रकारका छन्, त्यसैले लग्न पनि दुई प्रकारका हुन्छन् ।

१. विम्बीय लग्न (भावलग्न): नक्षत्रको प्रत्यक्ष विम्ब उदयको आधारमा ।
२. भवृत्तीय लग्न: गणनात्मक वा क्रान्तिवृत्तका विन्दुहरूको आधारमा ।

विवाह, यात्रा, यज्ञजस्ता कार्यहरूमा विम्बीय लग्न (भावलग्न) प्रयोग गर्नु फलदायी मानिन्छ । तर ग्रहण वा अन्य खगोलीय घटनाको कालगणनामा भने भवृत्तीय लग्नको प्रयोग हुन्छ ।
विम्बीय लग्नको औचित्य जब नक्षत्रका विम्बहरू क्षितिजमा उदय गर्छन्, तिनका किरणहरूले प्रत्यक्ष रूपमा पृथ्वीमा प्रभाव पार्छन् । त्यसैले अदृष्ट फल (पूर्वनिश्चित फल) प्राप्त गर्न विम्बीय लग्न ग्रहण गर्नु शास्त्रसम्मत हुन्छ । प्राचीन मुनिहरूले समेत शरीर, धन, सन्तान आदि बाह्र (१२) भावहरूको विचार विम्बीय लग्नबाट गर्न निर्देशन दिएका छन् । जो अद्यापि प्रचलन छँदैछ ।

गणनात्मक (भवृत्तीय) लग्नमा भने पृथ्वीका कतिपय स्थानमा सम्पूर्ण बाह्र (१२) राशिहरू उदय नै गर्दैनन् । कतै दश (१०) कतै आठ (०८) त कतै छ (६) राशिमात्र उदय हुन्छन् । यस्तो अवस्थामा पूर्ण भावचक्र निर्माण गर्न कठिन हुन्छ, जसका कारण फलादेश अपूर्ण हुन्छ र अनिश्चित हुन्छ ।

यवनहरूको प्रभावपछि ‘स्थानिक उदय’ अर्थात् भवृत्तीय लग्नलाई मान्यता दिइयो । यसरी शास्त्रसम्मत परम्पराको विपरीत अभ्यास प्रचलनमा आयो । तर विद्वान् पण्डितहरू जस्तै श्रीकमलाकर भट्टले आफ्नो तत्त्वविवेक ग्रन्थमार्फत् यस भ्रमको खण्डन गर्दै विम्बीय लग्नकै समर्थन गरेका छन् ।

१. भावलग्न: उदयमान सूर्यमा इच्छित घडी पलालाई पाँचबाट भाग गरेर प्राप्त लब्धि जोडिन्छ ।

२. होरा लग्न: इच्छित घडी पलालाई दुई गुणा गरी पाँचबाट भाग दिने र त्यसलाई सूर्यमा जोड्ने ।

३. घडी लग्न: इच्छित घडीलाई राशिको संख्यामा लिनु र पलालाई आधा अंशमा लिनु, त्यसपछि सूर्यमा जोड्नु ।

उदाहरण:-
उदयकालिन सूर्य: ५।२४।१४।४८
इष्टकाल: ११ घडी १३ पला
भावलग्न: ८।१।३२।४८ (तनु भाव)

भावचक्र बनाउन बाह्र (१२) कोष्ठ [घर] को घेरा तयार पारिन्छ । पहिलो कोष्ठमा लग्न राशि राखिन्छ र बाँकी एघार (११) कोष्ठमा राशिहरू क्रमशः लेखिन्छन् । ग्रहहरू जुन स्थानमा हुन्छन्, त्यहाँ अङ्कन गरिन्छ । ग्रहको फल निर्धारण गर्दा त्यसको सन्धि वा भावस्थितिको आधार लिनुपर्छ । ग्रह सन्धिमा भए शून्य फल दिन्छ तथा सन्धि र भावबीच भए अनुपातमा फल दिन्छ ।

ग्रहको दूरीलाई चार गुणा गर्दा प्राप्त मानअनुसार फल निर्धारण हुन्छ । दृष्टलग्न भन्नाले दृश्य, प्रत्यक्ष विम्बमा आधारित लग्नलाई मात्र बुझिनुपर्छ । विवाह, यात्रा वा जातकजस्ता कार्यहरूमा अदृष्ट फल प्राप्तिका लागि विम्बीय भावलग्न प्रयोग गर्नु नै शास्त्रसम्मत, तार्किक र व्यावहारिक उपाय हो । यसरी विम्बीय लग्न प्रयोग गर्दा हरेक स्थानमा समान ५ /५ घडीको १२ भाव निश्चित हुन्छन्, जुन पूर्णत: व्यवस्थित र प्रामाणिक प्रणाली हो ।

(लेखक न्यौपाने वेद वेदाङ्ग संस्कृत विद्यापीठम् देवघाटधाममा अध्ययनरत हुनुहुन्छ ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट