पठन संस्कृति अभियानमा कविवर विनोदीको `यात्राको सुवास´ विमोचन

गैंडाकोट, १ भदौ ।
विजय सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको आयोजनामा शनिबार काव्य साँझ सम्पन्न भएको छ । पठन संस्कृति अभियानअन्तर्गत १६औँ श्रृङ्खलामा आयोजित कार्यक्रममा पठन संस्कृतिका विविध प्रस्तुति पनि भए ।
कार्यक्रमका गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीद्वारा लिखित ‘यात्राको सुवास’ भ्रमणकाव्य विमोचन गरिएको थियो । प्रकाशक विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले पुस्तक यात्रालाई काव्यिक रूपमा प्रस्तुत गरिएको बताउँदै यसमा समाजको चेतना, शिक्षा र युवाहरूको भूमिकासहित विभिन्न पक्ष समेटिएको जानकारी दिनुभयो ।  साथै उहाँले लेखक विनोदीको बहुआयामिक साहित्यिक छविबारे समेत प्रकाश पार्नुभयो ।

वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले २०५६ साल फागुन १४ गतेदेखि २६ गतेसम्मको यात्रालाई पुस्तकमा प्रस्तुत गरिएको बताउँदै यसमा समाजका विविध पाटाहरू समेटिएको जानकारी दिनुभयो ।

गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले पठन संस्कृति अभियान गैंडाकोटमा मात्र सीमित नभई अन्य जिल्लाहरूमा समेत फैलिएकोमा खुशी व्यक्त गर्दै पढ्ने बानीको विकास अहिलेको आवश्यकता भएको बताउनुभयो । नगरपालिकाले यस अभियानका लागि पुस्तक सहयोग गर्दै आएको समेत उहाँले जानकारी दिनुभयो । यस्तै उपप्रमुख शान्ति कोइरालाले पढ्ने बानीले मानिसलाई सचेत बनाउने भएकाले अभियानलाई अझै विस्तार गर्नुपर्ने धारणा राख्नुभयो ।

साहित्यकार डा.नवराज लम्सालले विवेकद्वारा निर्देशित पुस्तक पढ्नुपर्नेमा जोड दिनुभयो । विचारद्वारा निर्देशित किताबले मात्र विचारलाई सम्मान गर्ने तर विवेकले चेतनाको तहमा पुर्‍याउने भएकाले यस्ता किताब पढ्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा उपस्थित वक्ताहरूले आफूले अध्ययन गरेका पुस्तकबारे धारणा राख्दै आफ्ना अनुभव र रचनाहरू प्रस्तुत गर्नुभयो । डा. जीवन क्षेत्रीको ‘नुन तेल’ पुस्तकको बारेमा ध्रुव पौडेलले पुस्तक ग्रामीण आर्थिक–सामाजिक परिवेश, गाउँमा परेको प्रभाव र प्रकृतिमाथिको दोहनबारे बोलेको उल्लेख गर्दै सबैका लागि पढ्न योग्य पुस्तक रहेको बताउनुभयो । विष्णु पन्थी (बिनु)ले ‘ज्वाईलाई प्रणयपत्र’ कविता वाचन गर्नुभयो । सुदीप चापागाईंले हरिवंशराय बच्चनको ‘मधुशाला’ माथि विमर्श गर्दै मानिस सधैं खुसी रहनुपर्ने सन्देश दिएको बताउनुभयो ।

विद्या निर्दोष पहाडीले गजल, मुना धनञ्जयले ‘मेराबा’, योगेन्द्रप्रसाद ढुङ्गानाले आशावादी कविता प्रस्तुत गर्नुभयो । पठन संस्कृति अभियान कावसोतीका संयोजक पवन भुर्तेलले अभियान सुरु भएदेखि गरेका कार्यहरूबारे जानकारी दिनुभयो । प्रेम कंडेलले गजल वाचन गर्नुभयो भने रोहित भण्डारीले पत्रकारिता र पठन संस्कृतिलाई जोड्दै सकारात्मक सोचले सम्भव छ भन्ने विचार राख्नुभयो । उहाँले समाजमा कामको सम्मान गर्ने संस्कृतिको कमीले विकास रोकिएको बताउँदै आफ्ना केही पुस्तक अभियानलाई हस्तान्तरण गर्नुभयो ।

यस्तै उदितप्रकाश सिग्देलले ‘अगाडि बढिरहँदा’ कविता वाचन गर्नुभयो । शंकर आचार्यले बालबालिकाको सोच र मानसिकता सुधार्न अभिभावक र बौद्धिक वर्गले काम गर्नुपर्ने धारणा राख्नुभयो । युवाकवि परिवेश मुन्छेले ‘क्रान्तिको स्वीकृति’ कविता वाचन गर्नुभयो भने इन्द्रराज पौडेलले ‘टिपेर लक्ष्यकालको कविता’ प्रस्तुत गर्नु भयो । रोशन पुनले ‘आमा’ शीर्षकको कविता, अर्जुन बाबु दाहालले आफ्नो पुस्तक ‘आफैंलाई नमार हिड्न बाँकी छन् बाटाहरू’ बाट कविता वाचन गर्नुभयो र अभियानलाई पुस्तक हस्तान्तरण गर्नुभयो । समीक्षक उदय अधिकारीले डा. शंकर गैरेको ‘सूतपुत्र´ उपन्यासबारे चर्चा गर्दै यसमा कर्णको जीवनको द्वन्द्व मात्र नभई प्रेमको पाटोलाई समेत उजागर गरिएको बताउनुभयो । यस्तै, ‘चिसो बाकस’ कवितासंग्रहका लेखक एकदेव रिमालले पनि कविता प्रस्तुत गर्दै आफ्नो पुस्तक अभियानलाई हस्तान्तरण गर्नुभयो । सरस्वती तिमिल्सिना, पुरु लम्साललगायतले कविता र गजल वाचन गर्नुभयो ।

‘यात्राको सुवास’ पुस्तकको बिक्रीबाट आएको रकम वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीको स्वास्थ्य उपचारमा खर्च गरिने जनाइएको छ । पुस्तकको प्रकाशक विजय विकास स्रोत केन्द्र रहेको छ ।

विजय सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष त्रिलोचन सापकोटाले सामुदायिक रेडियो विजय एफएमको आयोजनामा भएको यो कार्यक्रमले समुदायमा पठन संस्कृतिको विकासमा टेवा पुर्‍याएको बताउनुभयो । गत वैशाख १५ गतेबाट सुरु भएको पठन संस्कृति अभियान शनिबार १६औँ श्रृङ्खलामा पुगेको हो ।
कार्यक्रममा आर्थिक सहयोग गैंडाकोट नगरपालिकाको रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट