गैंडाकोट, १ भदौ ।
`अग्नि´ महाकाव्यका लागि मदन पुरस्कार विजेता, महाकाव्यकार नवराज लम्साल आइतबार गैंडाकोट इङ्ग्लिस स्कुलका विद्यार्थीका माझमा प्रस्तुत हुनुभएको छ ।

कवि लम्साललाई स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक हीरालाल अर्यालले राष्ट्रिय व्यक्तित्व लम्साललाई आफ्नो विद्यालयमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनु भयो । विद्यार्थीलाई फरक ढंगको सिकाइ आवश्यक भएको बताउँदै प्रधानाध्यापक अर्यालले भन्नुभयो – `विभिन्न पेशा र क्षेत्रमा आवद्ध व्यक्तिलाई नियमितरूपमा विद्यालयमा ल्याएर विद्यार्थीमाझ प्रस्तुत गराउँदा विद्यार्थीले धेरै कुरा सिक्न पाउँछन् ।´

कवि नवराज लम्सालले करिव एक घण्टाको आफ्नो प्रस्तुतिका क्रममा विद्यार्थीलाई जीवनोपयोगी कुराहरु सिकाउनु भयो । बुवाआमालाई भान्सा साथै घरायसी काममा सघाउन, आफ्ना सरसामानको सदुपयोग आफैँ गर्न लम्सालले विद्यार्थीलाई आग्रह गर्नुभयो । सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा थोरै समय दिएर राम्रो कुराहरू हेर्न, पढ्न र सिक्न लम्सालले अनुरोध गर्नुभयो ।

कार्यक्रममा विद्यार्थीहरु अभिश्री कँडेल र सुखद सिग्देलले लम्सालको `धरा´ महाकाव्यबाट केही श्लोक वाचन गर्नुभएको थियो । वाचक द्वयलाई लम्सालकै हातबाट `धरा´ र `कर्ण´ महाकाव्य उपहार दिइएको थियो ।
विद्यालयका सह – प्रधानाध्यापक नवराज कँडेलले रेडियो नेपालबाट बज्ने मधुवन कार्यक्रममा लम्साललाई पहिलोपटक सुनेको बताउनुभयो । लम्सालको रेडियो पत्रकारिता र साहित्य सिर्जना आफूलाई मनपरेको कँडेलले बताउनुभयो । कार्यक्रमलाई कँडेलले नै सहजीकरण गर्नुभएको थियो । लम्सालको प्रस्तुति सुन्न केही अभिभावक पनि विद्यालय आउनुभएको थियो ।





