पोखरा, ३० साउन ।
पोखरामा भूटानी शरणार्थी नेता तथा लेखक बलराम पौड्यालको गैर–आख्यान ‘पर्दापछाडिको भूटान’ माथि विमर्श सम्पन्न भएको छ ।
पुछारसिटे अभियानद्वारा नयाँसडकस्थित हिमालयन रिडर्स कर्नरको सभाहलमा, अभियानका अध्यक्ष वसन्त विनोदको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्त प्रमुख अतिथि थिए । हालै प्रकाशित उक्त किताबमाथि आफ्नो समीक्षात्मक मन्तव्य प्रस्तुत गर्दै समालोचक महेश पौड्यालले दशकौँको पखाइपछि भूटानी शराणार्थी प्रकरणबारे भोक्ताकै दृष्टिविन्दुबाट प्रामाणिक र आधिकारिक आवाजसहित यस्तो पुस्तक लोकसमक्ष आएको बताए ।
शरणार्थी पुनर्स्थापनाका लागि भएका पहलहरूको उल्लेख गर्दै उनले भने, ‘कतिपय शरणार्थीहरूको तेस्रो मुलुकमा पुनर्स्थापना भएपछि समस्या समाधान भइसक्यो भनेर पश्चिमी राष्ट्रहरू, संयुक्त राष्ट्रसंघ र मानवअधिकारवादी संस्थाहरू फर्किए, र तर समस्याको वास्तविक समधान अझै निस्किएको छैन । अझै सात हजारभन्दा माथि शराणार्थी नेपालमा छन् । साथै, अमेरिकाले भर्खर विभिन्न तर्कसहित फिर्ता गरेका कतिपय भूटानी शराणार्थीको जाने ठाउँ कतै छैन ।’ उनले यस सम्बन्धमा एउटा सरोकार समूह बनाएर सम्बन्धित निकायको ध्यानाकर्षण अझै गहन ढङ्गले गुर्नपर्ने आवश्यकता रहेको बताए ।
आफ्नो लेखकीय मन्तव्य प्रस्तुत गर्दै सर्जक बलराम पौड्यालले भूटान राष्ट्रको एकीकरण, नेपालीहरूको भटान प्रेवश र राष्ट्रनिर्माणमा योगदान, र सन् १९९० को दशकमा नेपालीभाषाीहरूमाथि भएको नीतिगत र भौतिक आक्रमणको लामो फेहरिस्त प्रस्तुत गरे । उनले आज भूटानी नेपालीका परवार छिन्नविन्न भएर कोही भूटान, कोही नेपाल र केही तेस्रो मुलुकमा छरिएको र परिवार मिलनसम्म हुन नसक्ने पीडाबाट आफूहरू गुज्रिरहको बताए । नेपालका लेखक, बुद्धिजीवी, पत्रकार तथा विचारकहरूलाई यस विषयमा सरोकारवालाको ध्यानाकर्षण गर्ने अभियानमा साथ दिने अपिल पनि उनले गरे ।
प्रमुख अतिथिको रूपमा बोल्दै साहित्यकार सरुभक्तले लामो समयदेखि आफूले पनि शरणार्थीका जीवन र समस्यालाई नजिकबाट हेर्दै र मनन गर्दै आएको बताए । उनले भने, निर्वासनको कहरलाई प्रत्यक्ष अनुभव गर्ने शरणार्थीहरूको वास्तविक मर्म कस्तो हुन्छ, त्यसलाई हामी न प्रत्यक्ष अनुभव गर्न सक्छौँ, न शब्दमा व्यक्त गर्न सक्छौँ । हामी केवल संवेदित हुन सक्छौँ ।’ उनले पौड्यालको किताब गैर–आख्यन भएर पनि अनेकौँ पीडा र संवेदनको आख्यानजस्तै भएको टिप्पणी गरे ।
कार्यक्रममा पोखरा र आसपासका थुप्रै लखेक, बुद्धिजीवी, समाजसेवी र पत्रकारहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रमको सञ्चालन पुछारसिटे अभियानका संयोजक कवि सञ्जीव पौडेलले गरेका थिए भने यसको संयोजन साहित्यकार तथा संस्थाका सल्लाहकार दीपक समीपले गरेका थिए ।
‘पर्दापछाडिको भूटान’ पेज टर्नरले बजारको ल्याएको हो । पुस्तकको अङ्ग्रेजी अनुवाद ‘भूटान बिहाइन्ड द कर्टेन’ पनि बजारमा उपलब्ध छ ।





