नवलपरासी, ३० साउन ।
घरायसी विवादका कारण श्रीमानश्रीमती बीच विवाद हुँदा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । विनयी त्रिवेणी गाउँपालिका ३ उदयटारी निवासी ५० वर्षीय महेन्द्र पौडेलले घरायसी विवादमा आफ्नै श्रीमती ४७ बर्षीया गोमा पौडेलको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार शुक्रबार बिहान साढे १० बजेतिर उनले तरकारी काट्ने चक्कुले आफ्नै श्रीमतीको घाँटी रेटी हत्या गरेका हुन् ।
हत्यामा संलग्न श्रीमान महेन्द्र पौडेललाई चक्कु सहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी नायव निरीक्षक ज्ञानप्रसाद काफ्लेको नेतृत्वमा प्रहरी टोली घटना स्थल पुगेको प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।
घटना स्थल अस्थायी प्रहरी चौकी सर्दीबाट २ किलोमिटर पूर्वमा पर्दछ । घटना बारे थप अनुसन्धान भईरहेकाे हत्याको यथार्थ कारण खुल्न बाँकी रहेको कावासोती प्रहरीले जनाएको छ ।
मृतक गोमा ग्रिन फाउण्डेशन नेपाल नवलपरासीका जिल्ला उपाध्यक्ष हुन् ।





