गैंडाकोट, २५ साउन ।
रेडियो संकेत ९३ मेगाहर्जले आयोजना गरेको बृहत खुल्ला तीज गीत प्रतियोगिता – २०८२ मा श्रीनगर महिला विकास समूह गैँडाकोट – २ ले प्रथम स्थान हासिल गरेको छ । यसैगरी भानु आदर्श महिला कृषि समूह कावासोती – ३ दोस्रो र प्रगति टोल महिला विकास समूह गैडाकोट १ तेस्रो भएका छन् ।

आइतबार स्थानीय गैंडाकोट फन पार्कमा भएको प्रतिस्पर्धात्मक तीज गीत प्रतियोगितामा विकास महिला समूह गैंडाकोट – ५ ले सान्त्वना पुरस्कार प्राप्त गरेको छ । लोक दोहोरी गायक एवं राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर बिरही गुरुङ, संगीतकार विशाल ढकाल र लोकगीत सर्जक बिन खातीसहितको निर्णायक मण्डलले उक्त समूहहरूलाई प्रथम, द्वितीय र तृतीय एवं सान्त्वना पुरस्कारको लागि छनोट गरेको हो । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश रु १५ हजार, रु १० हजार र रु ५ हजार र सान्त्वना पुरस्कारको लागि रू ३ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
विजेता टिमहरूलाई रेडियो संकेतका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पूर्व अध्यक्ष सडानन्द लामिछाने, स्टेसन म्यानेजर सुजन अधिकारी, गैंडाकोट – ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटा र कार्यपालिका सदस्य शान्ति न्यौपानेले पुरस्कार एवं प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा १६ वटा समूहहरूले सहभागिता जनाएको प्रतिस्पर्धात्मक कार्यक्रम विगत सात वर्षदेखि निरन्तर रूपमा रेडियो संकेतले गर्दै आएको छ । यस वर्षदेखि आयोजकले गैंडाकोट नगरपालिका भित्र वर्षभरि विभिन्न विधाहरूमा पहिलो हुने एकजना महिलालाई तीजको अवसर पारेर आदर्श वर्ष सम्मान पुरस्कार दिने घोषणा गरेको छ ।

कार्यक्रममा सो विधा अन्तर्गत यस वर्ष नेपाल भरिबाट आइएमई लाइफका लागि सर्वोत्कृष्ट व्यवसाय गर्ने गैंडाकोट – २ कि श्रीमती लक्ष्मी घिमिरेलाई रेडियो संकेतले “आदर्श वर्ष सम्मान पुरस्कार २०८२” प्रदान गरेको छ । रेडियो संकेतका अध्यक्ष श्रेष्ठ एवं स्टेसन म्यानेजर अधिकारीले घिमिरेलाई संयुक्त रूपमा आदर्श वर्ष सम्मान पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि एवं गैडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइरालाले पहिला-पहिलाको तीजमा तत्कालीन निरङ्कुश व्यवस्थाविरुद्ध महिलाहरूलाई जागृत गर्न विभिन्न राजनेत्री एवं नेतापत्नीहरूले निरङ्कुश व्यवस्था विरुद्धका विषयहरूलाई गीतसंगीतमार्फत गाएर महिलाहरूमा चेतना भरेको स्मरण गर्दै पछिल्ला समयहरूमा आमा दिदीबहिनीहरूले आफूले भोग्नु परेका दु:ख पीडा र हर्षलाई गीतसंगीतको माध्यम बनाएर तीजमा गाउने गरेको उपमेयर कोइरालाले बताइन् ।
कार्यक्रममा वडा नम्बर – ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटा, कार्यपालिका सदस्य शान्ति न्यौपाने र रेडियो संकेतका पूर्व अध्यक्ष सडानन्द लामिछानेलगायतले तीजको महत्व र गरिमाबारे आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मीद्वय सुरज पौडेल र राजेन्द्रप्रसाद पौडेलले गरेका थिए । प्रतिस्पर्धात्मक कार्यक्रम रेडियो संकेतका अध्यक्ष चिरञ्जीवी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।




