पर्दादेखि यथार्थसम्म : कार्तिकको सिजोफ्रेनिया र परवीन बबीको पीडा

फोनको रिङटोन बज्छ !

“हेल्लो, कार्तिक बोल्दैछु ।”

सन् २००९ मा निर्मित हिन्दी कथानक चलचित्र कार्तिक कलिङ कार्तिक यही संवादबाट सुरु हुन्छ । खासमा यो एउटा सामान्य संवाद हो । जसरी हामी पनि प्राय: “म फलानो बोल्दैछु” वा “तपाईं को बोल्दै हुनुहुन्छ ?” भनेर टेलिफोन संवाद सुरु गर्ने गर्छौं । तर फिल्मको सुरुवातमा सुनिएको उक्त संवाद दर्शकका लागि बहुतै असाधारण बन्न पुग्छ । यसले दर्शकको मनभित्र खैलाबैला नै मच्चाइदिन्छ । मथिङ्गलमा ठूलो झट्का दिएर सबैलाई सोच्न बाध्य बनाउँछ । के कुनै व्यक्ति साँच्चै नै फोनमा आफैँसँग कुराकानी गर्न सक्छ ? फिल्ममा कार्तिक नाम गरेका पात्रले यो संवाद बोलिरहँदा दर्शकको मानसपटलमा थुप्रै प्रश्न जन्मिने शिलशिला सुरु भइसकेको हुन्छ ।

विजय लालवानीद्वारा निर्देशित कार्तिक कलिङ कार्तिक यस्तो साइकोलोजिकल थ्रिलर फिल्म हो जसले मानसिक रोगलाई संवेदनशील ढंगले बुझ्नलाई प्रेरित गर्दछ । फरहान अख्तरद्वारा अभिनित पात्र कार्तिक यस चलचित्रका प्रमुख पात्र हुन् । उनी सिजोफ्रेनिया नामक मानसिक समस्याबाट ग्रसित हुन्छन् ।

सिजोफ्रेनिया एउटा दीर्घकालीन मानसिक अवस्था हो जसले व्यक्तिको सोच, अनुभव र व्यवहारमा असर पार्छ। यसले भ्रम, झुटा कल्पना र अराजक सोच ल्याउन सक्छ। यस्तो अवस्था व्यक्तिको दैनिक जीवन, सामाजिक सम्बन्ध र कार्यक्षमतामा प्रतिकूल असर पुर्‍याउँछ । यो चलचित्र पनि सिजोफ्रेनियासँग जुध्दै बाँचिरहेका कार्तिकको वरिपरि घुमिरहेको हुन्छ ।

चलचित्रले एउटा यथार्थ कथा देखाउने प्रयास गरेको छ जहाँ कार्तिक आफ्नै मनको पिँजडामा बन्द भई बसेका हुन्छन् । चलचित्रले खासै सफलता र चर्चा कमाउन नसकेपनि यसले इमान्दारितापूर्वक प्रस्तुत गरेको सन्देश र मौलिकता आजसम्म पनि अत्यन्तै शक्तिशाली रहेको महसुस हुन्छ ।

कार्तिक कुनै एउटा कार्यालयमा कर्मचारी हुन्छन् । उनी स्वाभावले लजालु, अन्तर्मुखी, मृदुभाषी अनि इमान्दार किसिमका हुन्छन् । तर कार्यक्षेत्रमा उनले केवल अपमान मात्रै ग्रहण गर्न पुग्दछन् । समाजका लागि अस्तित्वहीन बन्न पुगेका उनीभित्र बिस्तारै पीडाले बडेमानको आकार लिन थाल्छ । त्यत्तिकैमा एकदिन उनलाई एउटा रहस्यमयी फोन कल आउँछ। फोन गर्ने व्यक्ति अरू कोही नभएर उनी आफैँ नै हुन्छन् । यसले सबैको मनभित्र एक किसिमको भय त पक्कै पनि पैदा गर्छ।

यो चलचित्रले मानसिक रोगबारे समाजमा व्याप्त रहेको गलत धारणालाई चुनौती दिने प्रयास गरेको छ । सिजोफ्रेनियालाई हाम्रो समाजमा अझै पनि लाजको विषय मानिन्छ । यसबारेमा खुलेर परिचर्चा वा कुराकानी हुँदैन । यसलाई लुकाउनु नै उचित मानिन्छ । चलचित्र हेरिरहँदा कार्तिकले भोगेका भ्रम र संघर्ष वास्तविक घटनाझैं लाग्छन्, न कि कुनै पर्दाको कथा ।

…शान्त देखिने अनुहारहरू आफ्नो दिमागसँग कल्पना नै गर्न नसकिने ठूलो लडाइँ लडिरहेका हुन सक्छन् । फिल्मले मानसिक समस्या कति डरलाग्दो र मानिसलाई एक्लो तुल्याउने खालको हुन सक्छ भन्ने कुरा उजागर गरेको छ । यता रिलको अन्त्यमा कार्तिकले आफ्नो आशा फेला पार्छन् तर उता रियल लाइफमा परवीन कहालीलाग्दो मृत्यु कुर्न बाध्य हुन्छिन् ।

पर्दामा कार्तिकको कारुणिक अवस्था नियालिरहँदा दिमागमा अनायासै परवीन बबीको जीवनी पनि नाच्न थाल्छ । परवीन बबी सन् १९७० र ८० को दशककी चम्किली बलिउड अभिनेत्री थिइन् । फेसनको दुनियाँमा आइकन मानिएकी उनी अत्यन्तै आत्मविश्वास अनि सुन्दरता किसिमकी थिइन् । तर बाहिरी दुनियाँमा ठम्याउन नसकेको अर्को पाटो उनीभित्र थियो ।

उनी कुनै खोंचभन्दा गहिरो पीडाले भरिएको जीवन बाँचिरहेकी थिइन् जुन कुरा समाजले न बुझ्न खोज्यो, न त सुन्न नै । सिजोफ्रेनिया बोकेर उनी पनि त्यसै गरी छट्पटाइरहेकी थिइन् जसरी पर्दामा कार्तिक । परवीनले आफ्ना समस्याहरू बताएर मनलाई हलुका बनाउन नखोजेकी पनि होइनन् । समाजबाट उनले सहयोगको अपेक्षा राखिन् । तर समाजले उनको चित्याहट र चित्कारमा केवल पागलपन भेट्यो ।

उनी भनिरहन्थिन् कि कसैले आफूलाई पछ्याइरहेको छ । कसैले उनलाई मार्न खोजिरहेको छ। तर उनको डरलाई वास्तविकता मानेर बुझ्ने प्रयास कसैले गरेनन् । समाज रमिते बन्यो अनि उनीमाथि ‘पागल’ को ट्याग लगाइयो । पत्रिकामा उनका पीडाले स्थान त पाउँथे । तर अहँ, सहानुभूति भने कहिल्यै पाएनन् ।

ट्रमा थ्योरी भन्छ कि जब कुनै व्यक्ति निरन्तर बेवास्ता, डर र आन्तरिक तनावमा बाँच्छ, तब त्यो पीडा उसको मानसिक संरचनाभित्र गहिरोसँग बस्छ। त्यो पीडा बाहिर देखिँदैन तर जीवनको प्रत्येक अनुभवमा असर पार्छ । कार्तिक र परवीनको हकमा त्यही डर र वेवास्ताले दिनदिनै एक्लोपनको जालो बुनिरहेका थिए ।

कार्तिक र परवीन दुवैले आफ्नो मनभित्र उब्जिएक राक्षसहरूसँग लडे जुन संसारले बुझ्न सकेन । जहाँ एक काल्पनिकमा लड्यो भने अर्को वास्तविक जीवनमा । चलचित्रले यति शानदार तरिकाले मानसिक रोगलाई पनि मानवीय पन दिएको छ । कार्तिकको पीडालाई मेलोड्रामाले होइन बरु सहानुभूति सहित देखाइएको थियो ।

परवीन बबी

फिल्म आफैंमा एक मनोवैज्ञानिक ऐना हो। परवीन जस्तै कार्तिकलाई पनि वरपरका मानिसहरूले पागलको संज्ञा दिइसकेका थिए । तर अन्त्यतिर उनीहरूले कार्तिकको समस्या बुझ्छन् । कार्तिकले आफूलाई अलग राखे । उनी आफ्नै बारेमा नाना तरहका शंका गर्थे र आफूलाई बलियो हुन आफैंले ढाडस दिइरहन्थे । तर हाम्रो मानसिक स्वास्थ्य फिल्ममा देखाइएको ढंगले चल्दैन । अनि अझ झन् मानसिक समस्याले त समाज र संसारले यो कुरा महसुस गरून् भनी प्रतीक्षा गर्ने चेष्टासम्म पनि गर्देन ।

कार्तिकले प्राप्त गरेका फोन कलहरू केवल कथानक मात्र थिएनन् । ती कलहरू त आफ्ना समस्याहरूलाई दबाएर राख्ने अनि त्यसबारे कसैलाई पनि नभन्ने मानिसहरूका बिम्ब हुन् । यति के जान्न आवश्यक छ भने मानसिक समस्या कुनै वर्जित चिज वा रोग होइन जसलाई समाजको उपहास सहने छुट होस् । चलचित्रमा कार्तिकले “तिमी एक्लो छैनौ” भन्ने भनाइ सुनिरहन्छन् जुन पर्दा बाहिर चिच्याइरहेको प्रतिध्वनि हो ।

फिल्मले के कुरा सम्झाउने प्रयास गरेको छ भने शान्त देखिने अनुहारहरू आफ्नो दिमागसँग कल्पना नै गर्न नसकिने ठूलो लडाइँ लडिरहेका हुन सक्छन् । फिल्मले मानसिक समस्या कति डरलाग्दो र मानिसलाई एक्लो तुल्याउने खालको हुन सक्छ भन्ने कुरा उजागर गरेको छ । यता रिलको अन्त्यमा कार्तिकले आफ्नो आशा फेला पार्छन् तर उता रियल लाइफमा परवीन कहालीलाग्दो मृत्यु कुर्न बाध्य हुन्छिन् ।

हरेक परवीनहरूको मुस्कान र कार्तिकहरूको लजालुपनका पछाडि एउटा आवाज लुकेर बसेको हुन्छ । त्यसलाई कृपया सुन्ने कोसिस गरौं । त्यसैले उनीहरूको जीवनमा ठूलो फरक पार्न सक्छ ।

मञ्जुम्मेल बोइज : मित्रता र साहसको कथा

 

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट