नारायण सापकोटाको अध्यक्षतामा माडी प्रज्ञाप्रतिष्ठान गठन

चितवन, १५ साउन ।
भाषा, कला, साहित्यको प्रवर्द्धन गर्न माडी नगरपालिकाले पहिलोपटक ‘माडी प्रज्ञा प्रतिष्ठान’ गठन गरेको छ ।

नारायण सापकोटाको अध्यक्षतामा गठित प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूलाई बिहीबार सपथ ग्रहण गराइएको छ । माडी नगर प्रमुख ताराकाजी कुमारी महतोले अध्यक्ष सापकोटा, उपाध्यक्ष चन्द्रमणी महतो र सदस्य सचिव प्रवीण भण्डारीलाई सपथ ग्रहण गराउनुभयो ।

नवनियुक्त अध्यक्ष सापकोटाले अन्य सदस्यहरूलाई सपथ ग्रहण गराउनुभएको थियो । उहाँहरूलाई नगर प्रमुख महतो, उपप्रमुख खेम प्रसाद महतो, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले दोसल्ला र सम्मान पत्रले समेत सम्मान गर्नुभएको थियो ।

यो समितिको कार्यकाल ४ वर्षको रहने छ । चितवन राष्ट्रिय निकुञ्ज पार गरेर पुग्नुपर्ने यस नगरपालिका धार्मिक, सांस्कृतिक, भाषा, साहित्य, कलाले महत्वपूर्ण मानिन्छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख ताराकाजी कुमारी महतोले प्रतिष्ठानले माडीको भाषा, कला, साहित्य र संस्कृतिलाई अन्तर्राष्ट्रिय रूपमा पुर्‍याउन महत्वपूर्ण योगदान दिनेमा विश्वास व्यक्त गर्नुभयो ।

उपप्रमुख खेम प्रसाद महतोले माडीको पहिचानलाई विश्वमाझ चिनाउन थप एउटा इटा थपिएको महसुस भएको बताउनुभयो । नवनियुक्त प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटाले माडीको मौलिक संस्कृति, भाषा, साहित्य, धार्मिक विषयको अध्ययन गरी बाहिर ल्याउने काम प्रतिष्ठानले गर्ने बताउनुभयो ।

उहाँले यसका लागि सबैको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रतिष्ठान गठनको सिफारिस समितिका संयोजक दीपेन्द्रराज पौडेल, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिष्ठानको अध्यक्षमा नारायण सापकोटा, उपाध्यक्षमा चन्द्रमणी महतो, सदस्य सचिवमा प्रवीण भण्डारी, सदस्यहरुमा प्रेमकुमार विष्ट, नारायण दुवे, इन्दिरा दाहाल, हीरामती महतो, इन्द्रदेवी महतो, विपिन पाठक, सुमन तिमिल्सना, सत्यप्रकाश पौडेल, दीपेन्द्रराज पौडेल, अञ्जु मोक्तान, सुदर्शन सुवेदी, पार्वती वि.क., श्याम दुरा र सूर्य केसी रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट