मकवानपुर, १४ साउन ।
नेपाली कांग्रेस बागती प्रदेशकाे संसदीय दलको नेता चयनको प्रक्रिया सुरु भएको छ । कांग्रेस बागमती प्रदेश कार्य सम्पादन समितिको मंगलबारकाे बैठकले प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा संसदीय दलकाे नेता चयनका लागि निर्वाचन समिति गठन गरेको छ ।
प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा हेटौंडामा बसेको कार्यसम्पादन समिति बैठकले श्रेष्ठकाे संयोजकत्वमा गठित समितिमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहने गरी चयन गरेको छ । समितिको मंगलबारै बस्ने बैठकले निर्वाचन कार्यतालिका निर्धारण गर्ने बताइएकाे छ । संसदीय दलको नेताको निर्वाचन १४ साउन बुधबार गर्ने गरी निर्वाचन तालिका निर्धारण हुन सक्नेछ ।
यसअघि प्रदेशका मुख्यमन्त्री समेत रहेका बहादुर सिंह लामा तामाङले संसदीय दलको नेताको हैसियत गुमाएपछि नयाँ नेता चयनको लागि प्रक्रिया सुरु भएको हो । मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता लामाविरुद्ध परेको अविश्वासको प्रस्तावमा मंगलबार दिउँसो भएको मत विभाजन हुँदा नेता लामाकाे पक्षमा १५ मत परेकाे थियो । प्रदेश सभामा ३५ जना सदस्य रहेको कांग्रेसका २१ जना सांसदले अविश्वासको पक्षमा र १५ जना पक्षले लामाको पक्षमा मतदान गरेका थिए ।
लामाले विश्वासकाे मत गुमाएपछि कांग्रेस बागमती प्रदेशमा संसदीय दलको नेताकाे पद रिक्त भएको हो । कार्यसमिति सभापति समेत रहेकाे बानियाँकाे अग्रसरतामा मुख्यमन्त्री समेत रहेका लामाविरुद्ध ९ असार शुक्रबार कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । बानियाँ नै संसदीय दलको नेता बन्ने होडमा छन् ।
दुई जनाको उम्मेदवारी
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी परेको छ । प्रदेश सभापति समेत रहेका इन्द्र बहादुर बानियाँ र मुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गरेका हुन् ।
मंगलबार गठन भएको निर्वाचन समितिले संसदीय दलको नेता चयन गर्नका लागि कार्यतालिका सार्वजनिक गरेको थियो । ११ बजेसम्म तोकिएको समयावधिमा बानियाँ र लामाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी गराएको छ ।
कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेश सभा सदस्य बानियाँले संसदीय दलका नेता लामाविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव मंगलबार पारित भएको थियो । कांग्रेसका ३७ सांसद मध्ये मंगलबार मुख्यमन्त्री लामाको पक्षमा १५ र बानियाँको पक्षमा २२ जना देखिएका थिए । दलको नेताबाट हटाउने अविश्वासको प्रस्ताव पास भए पनि लामाले मुख्यमन्त्री पदमै रहने बताउँदै आएका छन् ।
उम्मेदवारको नाम फिर्ता लिने समय मध्याह्न १२ बजेसम्म तोकिएको छ । यी दुवै सभापति शेरबहादुर देउवा पक्षका नेता हुन् ।





