आज नागपञ्चमी पर्व: नागको पूजाअर्चना गरी मनाइँदै

काठमाडौँ, १३ साउन ।
आज देशभर परम्पराअनुसार नागपञ्चमी पर्व मनाइँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागको पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर यो पर्व मनाउने गरिन्छ ।

धार्मिक विश्वास र महत्त्व: धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

नाग पूजाको प्रचलन वैदिककालदेखि सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ र नाग रिसाएमा पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा मान्ने गरिन्छ । भगवान् गणेशको एक हातमा नाग छ भने लक्ष्मण र बलरामलाई पनि शेषनागको अवतारका रूपमा मानिन्छ ।

किंवदन्ती र पूजा विधि: नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा एक प्रख्यात किंवदन्ती छ । एक किसानले खेत खन्ने क्रममा नागका तीन बच्चा मारिदिएपछि नागिनीले क्रोधित भई किसानको परिवारलाई नै मारिदिइन् । संयोगले बाहिर रहेकी किसानकी छोरीलाई नागिनीले मार्न खोज्दा छोरीले अनुनय विनय गरी पूजाआजा गर्ने र दूध दिने बिन्ती गरिन् ।

छोरीको भक्तिबाट प्रसन्न भएकी नागिनीले किसानको सपरिवारलाई जीवनदान दिएको दिन श्रावण शुक्ल पञ्चमी भएकाले सोही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको जनविश्वास छ ।

आज अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ कूलका आठ वटा नागको ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ ।

आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।

वैज्ञानिक रूपमा पनि प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि भएपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ । नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट