लेखक हीरामणि शर्माका चारवटा कृति एकैसाथ लोकार्पण

भरतपुर, ११ साउन ।
हाम्रो मझेरी साहित्य प्रतिष्ठानद्वारा शनिबार भरतपुरमा आयोजित कार्यक्रममा कवि, आख्यानकार हीरामणि शर्माका चारवटा कृति लोकार्पण गरिएको छ । भरतपुर- ९ स्थित फोर सिजन पार्टी प्यालेसमा साहित्यिक जमातका बीच कृतिको लोकार्पण गरिएको हो । लोकार्पित कृतिहरूमा कथासङ्ग्रह ‘मनबिरेका सपनाहरु’, उपन्यास ‘परिणिती’, र मुक्तक सङ्ग्रह ‘स्वाभिमान’ रहेका छन् । साथै, कवितासङ्ग्रह ‘माटो र मुटु’ को पुनःलोकार्पण गरियो । जुन कृति पहिल्यै चर्चा र प्रभावको केन्द्रमा समेत रहेको थियो ।

कार्यक्रममा प्रसिद्ध महाकाव्यकार मुना अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । सम्बोधनका क्रममा उहाँले हीरामणि शर्माका सिर्जनाहरूले नेपाली साहित्यमा सामाजिक यथार्थ, अन्तरद्वन्द्व र व्यक्तित्व चेतनालाई अत्यन्त गहिरो रूपमा उठान गरेको बताउनुभयो । `यी कृतिहरू केवल लेखकीय उत्पादन होइनन्, समाजको सोच, समयको प्रतिबिम्ब र पाठकको आत्मासँग संवाद गर्ने सशक्त अभिव्यक्ति हुन् ।´ -उहाँले भन्नुभयो ।

साहित्यिक दृश्यमा निरन्तर क्रियाशील रहँदै आउनुभएका शर्माले प्रत्येक वर्ष कम्तिमा एक नयाँ कृति प्रकाशन गर्ने घोषणा पनि कार्यक्रममार्फत गर्नुभयो । जसले उहाँको प्रतिबद्धता र साहित्यप्रतिको समर्पणलाई अझ प्रस्ट रूपमा उजागर गरेको वक्ताहरुले बताएका छन् ।

कार्यक्रममा क्षेत्रीय तथा राष्ट्रिय स्तरका लेखक, कवि, समीक्षक, पत्रकार र साहित्य–रसिकहरूको उल्लेख्य उपस्थिति थियो । उनीहरूले शर्माका नवीन कृतिहरूको भाव, भाषा र विषयवस्तुको गहनताको प्रशंसा गर्दै उहाँको लेखनीलाई समकालीन साहित्यमा एक महत्वपूर्ण स्वरूपको रूपमा चित्रण गरे ।

‘मानबिरेका सपनाहरु’ कथामार्फत जीवनका लुकेका मनोभाव र द्वन्द्वलाई सजीव चित्रण गरिएको छ भने ‘परिणिती’ उपन्यासले विशेषगरी नारी स्वाभिमान, पारिवारिक जटिलता र सामाजिक संरचनाबीचको द्वन्द्वलाई उजागर गर्छ । ‘स्वाभिमान’ मुक्तक सङ्ग्रहले आत्म–चेतना, समाजप्रतिको दृष्टिकोण र जीवनका सघर्षपूर्ण पक्षहरूलाई मार्मिक ढंगले प्रस्तुत गर्दछ । पुनःलोकार्पित ‘माटो र मुटु’ कविता सङ्ग्रह नयाँ पुस्ताका पाठकलाई समर्पित उद्देश्यका साथ पुनः सार्वजनिक गरिएको हो, जुन पाठकले गहिरो अर्थका साथ पुनः अनुभव गर्न पाउनेछन् ।

कार्यक्रमका साहित्यकार शर्मा र उहाँकी धर्मपत्नी बिनिता शर्माको आतिथ्यता रहेको थियो । कार्यक्रम हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार पुष्प अधिकारी ‘अञ्जली’ले सञ्चालन गर्नुभएको थियो । कार्यक्रम इन्दिरा अञ्जलीको सभापतित्वमा भएको थियो । कार्यक्रममा हाम्रो मझेरी साहित्य प्रतिष्ठानका उपाध्यक्ष कमल अर्यालले स्वागत मन्तव्य राख्दै मझेरीले गर्ने कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

हाम्रो मझेरी साहित्य प्रतिष्ठानले यस्ता सिर्जनात्मक कार्यक्रमहरू भविष्यमा पनि निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता जनाएको छ । समग्रमा, लोकार्पण कार्यक्रमले सिर्जनशीलताको उत्सव मनाएजस्तै, नेपाली साहित्यको समृद्ध भविष्यप्रति गहिरो आशा र आत्मबलको पनि पुनः प्रत्याभूति गराएको आयोजक संस्था हाम्रो मझेरीले जनाएको छ । कवि शर्माका दुई छोराहरु सन्देश र सन्दिपले पनि परदेशबाट समेत बुवाको कृतिको लागि शुभकामना दिएका थिए ।

लोकार्पण कार्यक्रममा चितवनका मानक स्रष्टाहरु गजल बिशेषज्ञ केशवराज आमोदी, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी, पोषराज पौडेल, उषा तिवारी, बिदुर अधिकारी, प्रकाश चापागाई, राजेन्द्र घायल, सूर्यमणि रेग्मी, मातृभूमि साहित्य समाजका संस्थापक अध्यक्ष हयग्रीव आचार्य, माधव पोख्रेल, मिथिला अधिकारी, बिश्वबन्धु रेग्मी, गुणाखर सापकोटा,समिता पौडेल न्यौपाने, राजु आचार्य दीप, सीता अधिकारी, हरिराम रेग्मी, विनिता शर्मा, नारायणी पव्लिक कलेजका निर्देशक अनिता खनाल, कलेजका कोअडिनेटर जनकराज घिमिरे, समीक्षक किसानप्रेमी, लकाश पौडेललगायत तीन दर्जन स्रष्टाहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट