सौराहा, ११ साउन ।
अङ्ग्रेजी शिक्षकहरूको सङ्गठन ‘भिलेज अफ इङ्लिस राइटर्स’ (भ्यू) चितवनले आफ्नो चौथो राष्ट्रिय सम्मेलन शनिबार सौराहामा सम्पन्न गरेको छ । ‘साहित्य, पर्यावरण र संरक्षण’ विषयलाई केन्द्रमा राखेर आयोजित उक्त सम्मेलनमा अङ्ग्रेजी साहित्य र शिक्षण क्षेत्रमा विशिष्ट योगदान पुर्याएका प्राध्यापक डा. अभि सुवेदीलाई सम्मानित गरिएको छ । सुवेदीलाई २५ हजार रुपैयाँ राशिको युवराज कँडेल साहित्य स्मृति पुरस्कारबाट सम्मान गरिएको हो । यो पुरस्कार कवि ईश्वर कँडेलले आफ्ना पिताको स्मृतिमा स्थापना गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित कृषि तथा वन विश्वविद्यालयकी उपकुलपति प्रा. डा. शारदा थपलियाले सम्मानित व्यक्तित्व डा. सुवेदीको योगदानको उच्च प्रशंसा गर्दै बधाई दिएकी थिइन् । उनले डा. सुवेदीले साहित्यिक र शैक्षिक क्षेत्रमा पुर्याएको योगदानले नेपालको अङ्ग्रेजी साहित्य र शिक्षणलाई नयाँ उचाइमा पुर्याएको बताइन् ।
सम्मेलनमा विभिन्न विशिष्ट व्यक्तिहरूले आ-आफ्ना विचार राखेका थिए । प्राध्यापक एल.बी. क्षेत्री, न्यू क्यापिटल कलेजका प्राचार्य भूपेन्द्र धिताल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक जीवलाल सापकोटा, डेजी स्कूलका प्राचार्य प्रेम रिमाल, सेन्ट्रल कलेजका प्राचार्य यज्ञविलास पौडेल (वाइ.बी.) र अन्नपूर्णा माध्यमिक विद्यालय पार्वतीपुरका प्राचार्य बटुकलाल तमाङले कार्यक्रममा आफ्ना मन्तव्य व्यक्त गरे । साथै, भ्याली स्टेट कलेजका प्रमुख बाबुराम खनालले सम्मानित व्यक्तित्व प्रा. डा. अभि सुवेदीको योगदान र व्यक्तित्वबारे प्रकाश पारेका थिए ।
सम्मेलनमा चितवन जिल्लाका विभिन्न विद्यालयका अङ्ग्रेजी शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले साहित्य, पर्यावरण र संरक्षणको अन्तरसम्बन्धबारे छलफल गर्नुका साथै अङ्ग्रेजी शिक्षण र साहित्यको विकासमा नयाँ रणनीति र विचारहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष डा. केशव चालिसेले ‘भ्यू’ चितवनको उद्देश्य, गतिविधि र सम्मेलनको महत्त्वबारे विस्तृत जानकारी दिए । स्वागत मन्तव्य विश्वराज सुवेदीले राखेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव चेतराज रेग्मीले गरेका थिए ।
भ्यू’ चितवनले विगतका वर्षहरूमा पनि यस्ता सम्मेलनहरूमार्फत अङ्ग्रेजी शिक्षकहरूको पेशागत विकास र साहित्यिक गतिविधिलाई प्रोत्साहन गर्दै आएको छ । यो सम्मेलनले शिक्षकहरूबीच नेटवर्किङ, अनुभव आदानप्रदान र साहित्यिक–शैक्षिक छलफलको मञ्च प्रदान गरेको आयोजकले जनाएको छ ।
यो चौथो राष्ट्रिय सम्मेलनले अङ्ग्रेजी साहित्य र शिक्षण क्षेत्रमा नयाँ बहस र सहकार्यको ढोका खोलेको छ । साथै, प्रा. डा. अभि सुवेदीको सम्मानले नेपाली साहित्य र शिक्षण क्षेत्रमा उनको योगदानलाई थप उजागर गरेको छ ।





