सामाजिक पर्यावरणमा ‘निर्गम’ को चटारो

केशवराज आमोदी

. प्रस्तावना :

जीवनका आरोह-अवरोहका घटनाक्रमबाट उत्पन्न विचारजन्य त्याग वा स्वार्थ , विनम्रता वा गर्व , प्रगति वा दुर्गति , दया वा हिंसाजन्य प्रवृत्तिहरूमा मानवीय प्रकृतिअनुरूपका अङ्कुर फुट्दछन् । सुखसौविध्यको चाह , विचारको प्रवाह र सभ्यताको खोजीमा यायावर बनेर ओडार , गाउँ , सहर हुँदै संसारको यो कुनोदेखि त्यो कुनोसम्म निर्गमित भई यात्रारत रहेर प्रकृतिमा हराउने युगौंदेखि चलिरहेको परम्परित तर आकस्मिक आयाम हो निर्गमन । यही निर्गमनीय वीजबिन्दुको उभार हो निर्गमको गर्भमा निहित आख्यान र आख्यानका यायावर हुन्- गोकर्ण मल्ल ।

वि. सं. २०१३ साल , पौष ३० मा माता टीकाकुमारी मल्ल र पिता मानबहादुरका ज्येष्ठ सुपुत्रका रूपमा म्याग्दे गाउँपालिका-४, छाङ तनहुँमा गोकर्ण मल्लको जन्म भएको हो । सम्प्रति उनी चितवनको रत्ननगर नगरपालिका-२ चितवनमा स्थायी बासिन्दा भंई नेपाली वाङ्मयको अध्ययन र साधनामा अभ्यस्त देखिन्छन् । प्राध्यापन सेवाबाट अवकाश लिएपछि मल्लले ‘शुभारम्भका पाइलाहरू’ ( उपन्यास , २०७९ ) र ‘सिउँडीका फूलहरू’ ( कवितासङ्ग्रह , २०७९ ) प्रकाशनमा ल्याइसकेका छन् । फुटकर रचनाका रूपमा कविता , मुक्तक , निबन्ध र संस्मरणहरू विभिन्न पत्र-पत्रिकामा प्रकाशित हुँदै छन् । यतिखेर म उनको आख्यानपरक कृति ‘ निर्गम ‘ प्रति पाठकीय विचार राख्दै छु ।

रोमान्टिसिज्म वा रोमान्टिक धाराहरू पाश्चात्य साहित्यका प्रवृत्तिगत मोडहरू दृष्टिगोचरीभूत हुन्छन् भने नेपाली साहित्य-जगत् मा वैयक्तिक अभिव्यञ्जनाका लक्षणाहरूमा अनुवृत्त स्वच्छन्दतावादी , यथार्थवादी वा प्रगतिवादी विवृत्तिहरू विखरित हुन्छन् । आदर्शवादमा केन्द्रित रुद्रराज पाण्डेको रूपमती ( वि. सं. १९९१ ) देखि नेपाली उपन्यासको जग बसालिएको हो ।यसपछिमात्रै भुवनेश्वर कोइरालाको ‘विधवा जीवन’ ( २०१३ ) , अच्छाराई रसिकको ‘लगन’ ( २०१२ ), हृदयचन्द्रसिंह प्रधानको स्वास्नी मान्छे’ ( २०११ ), बी पी. कोइरालाको सुम्निमा’ ( २०२७ ) , पारिजातको शिरीषको फूल ( २०२२ ) आदि नवीनतम शिल्प शैलीमा नेपाली सभ्यता , संस्कृति र सामाजिक जीवनमा व्याप्त विकराल विकृति , विसङ्गति , विद्रूपता , विखण्डन , विभेद , राजनीतिक दिशाहीनता , दण्डहीनतालगायत कतै समाजसुधारका चेतनाहरूलाई उकास्दै , कतै परम्परालाई निमोठ्दै , कतै अराजकतालाई भत्याङभुतुङ पार्दै , कतै विभिन्न वादका प्रवृत्तिगत शैली र स्वरूपमा नेपाली उपन्यास प्रगतितिर उकासिंदै गरेको देखिन्छ ।

२. निर्गमको अर्थ-सन्दर्भ र औचित्य :

सामान्यत: गम शब्दमा निर् ( रहित वा बाहिर भन्ने अर्थमा ) उपसर्ग लागेर घर , परिवार , समाज वा देश छाडेर बाहिर नि:सरण गरिने अर्थमा निर्गमको अर्थ साध्न सकिन्छ किनकि निर्गमले निकास वा निक्लनुलाई नै सङ्केत गर्दछ । शब्दहरूसँग मन बहलाउन आइपुगेका गोकर्ण मल्लको कृति प्रकाशनका हिसाबले तेस्रो र आख्यानात्मक दृष्टिकोणले निर्गम ( उपन्यास , २०८१ ) दोस्रो कृति हो । कृति निर्मितिको प्रयोजनपरकताका आधारमा पहिलो कृति ‘ शुभारम्भका पाइला ‘ मा बेलायतमा रहेर प्राप्त गरेको ज्ञान , शिक्षा , अनुभव र कमाइलाई परिवर्तनका केही पक्षधरहरूबाट सङ्घर्षका नाममा धुलिसात् पारिएको प्यारा भन्ज्याङ गाउँलाई पुन: विकास-निर्माणले गुल्जार गरिएको कथानकलाई अघि सारिएको छ भने निर्गममा त्यसको एकदम विपरीत सहगमन , समावेशिता र सहकार्यको विशिष्ट नमुनाको सङ्घीय लोकतान्त्रात्मक गणतान्त्रिक पद्धति देशमा स्थापना गरिएपछि व्याप्त दलीय भ्रष्टाचरण , चरम स्वार्थवाद , निर्मम राष्ट्रदोहन वा राष्ट्रिय ढुकुटी-लुटका खेलहरूले प्रश्रय पाएको र होनहार युवाहरू विदेशिन बाध्य आजको यथार्थतालाई उपन्यासकारले नयाँ मोड र चिन्तन समावृत गरी निर्गमका माध्यमबाट नवीन दृष्टिकोणसहित लोकतन्त्रका हिमायतीहरूलाई सजग र सचेत तुल्याई नवीन दिशा प्रकट गरेका छन् ।

३. निर्गमका पात्र-पात्राहरूको समायोजन र सार्थकता :

उपन्यासका निम्ति चयन गिरिएको मुख्य पात्र भोलानाथको छोरो शिवनाथसँग जोडिन आएका अन्य पात्रपात्राहरूमा उसकी पढ्दैदेखिको साथी पार्वती , मित , पुष्पराज सर , दाजुभाउजू र बा-आमा , जोगीबाबा र यस्तै ग्राम्य जीवन जसोतसो गुजारा गरिरहेकामध्येबाट फराकिंदै गड-फादर , राजधानी , एयरपोर्ट हुँदै अमेरिकाको समुद्री किनारमा भेटिएकी सतिभासम्म कथानकताले फेरो मारेको छ । नेपालमा सामान्य रोजगारसम्म नपाएर विदेशिनु पर्दाको टीठ लाग्दो अवस्थाको बयानमा मायैमायामा जेलिएको शिवनको अन्तिम अठोट र आँट आख्यानको अविस्मरणीय पाटो बनेको छ । पार्वती र शिवनको बैंसे पिरती विकसित हुदै गर्दा अप्रत्याशितरूपमा स्यामुल्सनको र सतिभाको प्रेम वा आकर्षणले Obsessional neurosis नबनाएको भए सायद शिवन र सतिभाको भन्ज्याङ चौतारीको पहिलो भेट-प्रसङ्गबाट नै सदाको लागि सम्बन्ध टुङ्गिने थियो होला , तर त्यसो हुन पाएन । वस्तुत: यो प्रेम चैं मानवीयता र आत्मासँगभन्दा गोरो छालासित गाँसिन पुगेको यो प्रेम नित्य निरन्तर सामुद्रिक छालझैं उच्छलित भइरह्यो तर कसरी ? प्रश्न निकै घतलाग्दो भए पनि यो आख्यानपरक कृति भएकाले बाँकी पाठककै जिम्मामा छाड्नु नै श्रेयस्कर होला ।

४. निर्गम’मा प्रसरित शीर्षकीय रेखाङ्कन :

निर्गमको समग्र आख्यानलाई मल्लजीले नवीन शैलीगत निबन्धनद्वारा नाटकीय शैलीमा समुद्घाटन गरेका छन् । जसले गर्दा पाठकलाई कतै कथा पढिरहेजस्तो कतै त कतै आत्मसंस्मरणपरक निबन्धमा गढिरहेजस्तो आभास मिल्ने खालको शीर्षकीय निर्मापन निकै घतलाग्दो रहेको छ जस्तै-
००,०१,०२,••• ,३१,३२,र ०० राखिएका छन् जस्को तात्पर्य जीवन शून्यबाट सुरु हुन्छ बत्तिसै गुण भएपनि शून्यमा समाप्त हुन्छ भन्ने सङ्केतार्थ अङ्कित शीर्षकहरूको तानमा उपन्यास बुनिएकोले आफ्ना भावक पाठकलाई आख्यान सुगम पारिएको छ ।

५. निर्गम को प्रकृति र पर्यावरण :
‘अनन्तदेखिको यात्राको प्रस्थान बिन्दुबाट आरम्भ भएको यो औपन्यासिक कृति मानवीय अधैर्यता र चञ्चलताले आच्छादित वृहत्तम आख्यान हो- निर्गम । निर्गमको प्रकृति र पर्यावरण युगौंदेखिका घटना-चक्रले पनि यसैलाई पुष्टि गरेता पनि नेपालीहरू पुरानो थातबासबाट विस्थापित हुँदै संसारभरि छरिन पुग्नु र यो क्रम अझै बढ्दै जानु राजनीतिक-दर्शनका अनुयायीहरूका लागि खतरा र चुनौती दुवै हुनसक्दछ । निर्गमप्रतिको बढ्दो निर्गमित चापलाई समयमै नियन्त्रण गरिनुपर्ने उपन्यासकारको सुदूर दृष्टि प्रशंसनीय र मात्र नभई मननीय पनि रहेको छ ।

६. उपसंहार :
समग्र मानवीय समाजको स्वच्छ , पारदर्शी न्याय र लोकतन्त्रका निम्ति कवि एवं आख्यानकार गोकर्ण मल्लले जीवन दाउमा लगाएकै हुन् । लोकतन्त्र कमजोर हुँदा राष्ट्र दुख्नु स्वाभाविक नै हो । राष्ट्रका कर्णधार मानिने राष्ट्र थाम्ने भोलिका उत्तराधिकारीहरूको वैदेशिक पलायन अवश्य नै चिन्ताजनक छ , यसको रोकथाम समयमै हुन जरूरी छ ।

उपन्यासमा प्रयुक्त प्रकरणमुताबिक नेपाली ग्राम्य भाषिक प्रयुक्तिसँगै अङ्ग्रेजीका डायलगहरू मिसिएर बनेका सरल भाषिक संवाद , हृदयस्पर्शी घटनाक्रम , उखान-टुक्का र सूक्तिको समुचित प्रयोग , गाउँलै जीवनदेखि भौतिक उन्नति र विकासले समृद्ध अमेरिकी सामुद्रिक आबहबाको सम्मिश्रणले उपन्यास पठनीय , अवलोकनीय र सङ्ग्रहणीय बनेको छ । एकाध प्रविधिगत त्रुटिहरू अवशेष रहे पनि समग्रमा कृति सुन्दर र कलात्मक बनेको छ । यति गहकिलो र सुन्दर उपन्यासको बारेमा दुईशब्द राख्न पाएकामा उपन्यासकार गोकर्ण मल्ललाई हृदयदेखि सधन्यवाद आभार प्रकट गर्दै यस कृतिको पनि लोकख्यातिको कामना गर्दै लेखनी बिसाउँछु ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट