भरतपुर, २९ असार ।
चितवनमा कर्मचारी क्षमता अभिवृद्धि तालिम तथा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । भरतपुर कभर्ड हलमा भएको मैत्रीपूर्ण ब्याडमिन्टनको उपाधि जिल्ला खेलकुद विकास समिति रामेछापले जितेको छ ।
रामेछापका सीताराम कार्की र विष्णु श्रेष्ठको जोडीले फाइनलमा युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेशका झलकराम अधिकारी र सूर्य दाहालको जोडीलाई पराजित गरेको हो । फाइनलमा पराजित अधिकारी र दाहालको जोडी उपविजेता भएको छ ।
यस्तै आयोजक जिल्ला खेलकुद विकास समिति चितवनका राजन कार्की र रामजी ढकाल तथा खेलकुद बिकास समिति रसुवाका रमेश श्रेष्ठ र बिराज लोप्चनको जोडी तेस्रो भएका छन् । उनीहरुलाई समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले पुरस्कार वितरण गरेका थिए ।
चितवन जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा २४ टोली सहभागी थिए । युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेशबाट ३, बागमती प्रदेश खेलकुद विकास परिषदबाट ४, प्रदेश युवा परिषद हेटौंडाबाट १ तथा चितवन जिल्ला खेलकुद विकास समितिबाट २ टिम तथा अन्य १२ जिल्लाबाट एक-एक टिमले प्रतिस्पर्धा गरेका थिए ।
यस्तै बागमती प्रदेशका १३ जिल्लाबाट खेलकुद विकास समितिका कर्मचारीहरुको सहभागितामा क्षमता अभिवृद्धिका तालिम पनि आयोजना भएको थियो । होटल ग्यालेक्सी गार्डेनमा भएको कार्यक्रममा सहभागीहरुलाई क्षमता अभिवृद्धि बारे प्रशिक्षण दिईएको थियो । यस्तै उनीहरुले युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेश र बागमती प्रदेश खेलकुद विकास परिषद्का प्रतिनिधिहरुसँग अन्तरक्रिया पनि गरेका थिए ।




