शनिबार एक्सपर्ट सम्पूर्ण किताब उत्सव हुने

भरतपुर, ११ असार ।
नारायणगढकाे सम्पूर्ण किताबले किताब उत्सव गर्ने भएको छ । चितवनको साहित्य र किताब बजारको बेलीबिस्तार प्रस्तुत गर्न उत्सव गर्न लागिएको उत्सवका निर्देशक लेखराम सापकोटाले बताए ।

शैक्षिक परामर्शदाता संस्था एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज चितवनको शीर्ष प्रायोजनमा ‘एक्सपर्ट सम्पूर्ण किताब उत्सव – २०८२’ गर्न लागिएको हो । असार १४ गते शनिबार गैंडाकोटस्थित द नारायणी रिसोर्टमा हुने उत्सवको यो पहिलो एवम् संस्करण हो ।

उत्सव दिउँसो १२:३० बजेदेखि साँझ ७:०० बजेसम्म चल्ने निर्देशक सापकोटाले जानकारी दिए । ५ वटा कृतिलाई एकैसाथ विमोचन गरेर उत्सव उद्घाटन गरिने सापकोटाले बताए । रामकृष्ण अनायासको गजलसङ्ग्रह `अनायास´, सरस्वती पौडेलको गजलसङ्ग्रह `प्रत्यूष´, किसान प्रेमीको गजलसङ्ग्रह `अञ्जानमा गयौ कि ?, रमेश प्रभातको निसमालोचनासङ्ग्रह `अरु अलिकति फरक कुरा´ र भीम शर्मा सुवेदीको `कुण्डलिनी योग´ एकैसाथ विमोचन हुनेछन् ।

कार्यक्रमको सुरुआतमा विद्वत् प्रवचन प्रस्तुत गरिने छ । डाक्टर एकनारायण पौड्यालले `चितवनको साहित्य : गति र दिशा´ शीर्षकमा विद्वत् प्रवचन प्रस्तुत गर्नेछन् ।

त्यसपछि विभिन्न ४ वटा शीर्षकमा बहस कार्यक्रम हुनेछन् । `के पढ्छन् बालबालिका ?´ शीर्षकको बहस कार्यक्रममा बालमनोविश्लेषक प्राडा कर्णबहादुर बानियाँसहित आशीर्वाद सापकोटा, अभिश्री कँडेल, रञ्जना बन्जारा र आभाष काफ्लेसँग आकाश पौडेलले छलफल गर्नेछन् ।

त्यसैगरी `शिक्षकले किन पढ्ने ?´ बहस कार्यक्रममा महेन्द्र पौड्याल, बटुकलाल तामाङ, नवराज कँडेल र सामना पहाडसँग विपिन पाठकले छलफल गर्नेछन् । `चितवनको किताब बजार : हिजो र आज´ बहस कार्यक्रममा पुस्तक व्यवसायीहरू रजनी मास्के, गुरुप्रसाद न्यौपाने सुशील, महेन्द्र कोइराला र लेखराम सापकोटासँग पत्रकार सूर्यप्रकाश कँडेलले संवाद गर्नेछन् ।

त्यस्तै `कता जाँदैछ चितवनको साहित्य ?´ बहस कार्यक्रममा चितवनका खरा समालोचक रमेश प्रभातले एलबी क्षेत्री, उदय अधिकारी, शान्ति शर्मा र भूपिनसँग छ्लफल गर्नेछन् ।

उत्सवको अन्तिम कार्यक्रमस्वरुप `सम्पूर्ण काव्य सन्ध्या´ सञ्चालन गरिनेछ । चितवन, नवलपरासी र तनहुँका विभिन्न स्रस्टाका कविता एवम् गजल वाचन हुने यस शृङ्खलालाई कवि सिर्जन अविरलले सहजीकरण गर्नेछन् ।

उत्सवमा चितवन र आसपासका क्षेत्रका साहित्यिक एवम् शैक्षिक व्यक्तित्वको विशेष उपस्थिति रहने उत्सवका सह-निर्देशक विनोदबाबु रिजालले बताए । `उत्सवमा चितवनको समग्र साहित्य र पठन संस्कृतिको चर्चा हुने आशा राखेका छौँ´, रिजालले भने ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट