राज शर्मण हाल : अस्ट्रेलिया
हजारौँ सपना बाेकी गएकाे म
अचानक बाेरा बाेकी फर्किएँ ।
हो, म बोरा बोकेर फर्केको मान्छे
निमाेठिएका सपनाको चकटीभित्र
चुकचुके पसिना र भिजेको राहदानी लुकाएँ
रातको अँध्यारो सिमानामा
माफिया जहाज चढ्दा
न त आकाशले सोध्यो कागज
न त भूमिले सुन्यो मेरो इतिहास ।
त्यो जहाजबाट ओर्लिँदा
अझै मेरा खुट्टामा
त्रासको हत्कडी,
गरिबीको पहिरन,
र सरकारी मौनताको गाँठो बाँधिएको थियो ।
कामको खोजीमा खोजुन्जेल
मेरो हातको छाया पनि भाग्यो ।
कसैले प्रश्न गरे : “तिमी को , हँ ?”
मैले थाेरै उत्तर दिएँ –
“अपराधी होइन, हारेको नागरिक ।”
आज सिमाना काटेर
एउटा जहाजको भर्याङबाट
म बोराभरी अनुभव बोकेर फर्किएको छु
जूनकिरीझैँ उज्यालोको सपनाहरू
अझै झरेको छैनन्
माटोले मलम लाउला कि भनी
आश अझै मरेकाे छैन ।
म फर्किएँ, तर
हार आज पनि मानेको छैन
यस्तै बोरा काँधमा बोकी
अब म
आफ्नै खेतमा नयाँ बीउ छर्नेछु र
चिट्चिट् आएका यी
पसिनाले आफ्नै जन्मभूमिमा
सिँचाइ गर्नेछु ।