यसअघि सन् २००९, २०११ र २०१६ मा बैङ्गलुरु फाइनलमा पुगेको थियो । १७ वर्ष सिजन नै बैङ्गलुरुमा बिताएका विराट कोहलीले त्यो सफलता पाउन सकेका थिएनन् । तर, १८ नम्बर जर्सी लगाउने विराटले अन्ततः १८औं सिजनमा आएर यो सफलता प्राप्त गरे । आइपिएलको सुरुआत भएदेखि नै बैङ्गलुरुबाटै खेलेका कोहलीले अन्ततः १७ वर्षको पर्खाइपछि उपाधि जित्न सफल भए । यो उपाधिलगत्तै उनी भावुक पनि देखिए ।
बैङ्गलुरुले १९१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो । तर, जबाफमा पन्जाबले पूरै ओभर खेल्दै सात विकेटको क्षतिमा १८७ रन मात्र बनाउन सक्यो । मध्यक्रमका ब्याटर शशांक सिंहले अविजित ६१ रन बनाए ।
उनले ३० बलमा तीन चौका र ६ छक्का हिर्काए । जोस इङ्लिसले ३९ रन जोडे । ओपनरद्वय प्रियान्स आर्याले २४ र प्रभसिमरन सिंहले २६ रन बनाए पनि पन्जाबको जितका लागि पर्याप्त भएन । बैङ्गलुरुको बलिङमा भुवनेश्वर कुमार र क्रुनाल पांड्याले समान दुई तथा यश दयाल, जोस हेजलवुड र रोमारियो सेफर्डले समान एक विकेट लिए ।
एक लाख ३२ हजार दर्शक क्षमता रहेको अहमदाबाद कोहलीका समर्थकहरूले भरिएको थियो । जहाँ दुवै टोली पहिलो उपाधि जित्ने लक्ष्यमा थिए । स्टार क्रिकेटर विराटले पहिलोपल्ट आइपिएल उपाधि जित्ने आशामा उनका समर्थक थिए । उनीहरूले ‘कोहली कोहली’ भन्दै विराटको उत्साह जगाइरहे ।
नतिजा आशाअनुरूप नै आयो । दुवै टोलीले पछिल्लो जितपछि कुनै परिवर्तन गरेका थिएनन्। बैङ्गलुरु पहिलो प्लेअफमा पन्जाबलाई नै हराउँदै चौथोपल्ट फाइनलमा पुगेको हो । त्यसपछि पन्जाबले पाँचपल्टको च्याम्पियन मुम्बई इन्डियन्सलाई दोस्रो क्वालिफायरमा स्तब्ध बनाउँदै दोस्रोपल्ट फाइनलमा पुगेको थियो ।
त्यसअघि कोहलीको ४३ रन प्रेरणामा बैङ्गलुरुले ९ विकेट गुमाउँदै १९० रनको योगफल बनाएको थियो । ओपनिङ ब्याटर कोहलीले ४३ रन जोडे, जुन सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । तर, कोहलीले उत्कृष्ट इनिङ भने खेल्न सकेनन् ।
उनले ३५ बलमा मात्र तीन चौका हिर्काए । उनले दोस्रो ओभरमा ओपनिङ साझेदार फिल साल्टलाई १६ रनमा नै गुमाउन पुगे । त्यसपछि कोहलीले मयन्क अग्रवालसँग आक्रामक रूपमा इनिङ अगाडि बढाउन प्रयास गरे । तर, मयन्क २४ रन र कप्तान रजत पाटिदार २६ रन बनाएर आउट भए । लेग स्पिनर युजभेन्द्र चाहलले मयन्क र काइल जेमिनसनले पाटिदारलाई सिकार बनाएका हुन् । त्यसपछि कोहलीले इनिङले अगाडि बढाउने प्रयास गरे ।
तर, १५औं ओभरमा अजमतउल्लाह ओमरजाईले कोहलीलाई आउट गरे । यससँगै उनका समर्थक शान्त बने । त्यसपछि लियाम लिभिङ्सटनले १५ बलमा २५ रन जोड्दै आक्रामक ब्याटिङको प्रयास गरे । तर, जेमिन्सनले लियामलाई आउट गर्दै तेस्रो विकेट पूरा गरे । एक समय बैङ्गलुरु सहजै दुई सय रन पारनजिक देखिन्थ्यो । तर, जितेश शर्मा १८औं र रोमारियो सेफर्ड २०औं ओभरको सुरुमा नै आउट भएपछि बैङ्गलुरुको लक्ष्य पूरा भएन ।
शर्मा १० बलमा २४ रन र रोमारियो ९ बलमा १७ रन जोडेर आउट भए । डेथ ओभरमा अर्शदीप सिंहले तीन विकेट लिँदा तीन रन मात्र दिँदै उत्कृष्ट प्रदर्शन गरे । भारत र पाकिस्तानबीच द्वन्द्वका कारण यस सिजनको आइपिएल ९ दिन पछाडि धकेलिएको हो ।





