हेटौंडा, २० जेठ ।
बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भएको १५ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । शनिबारबाट दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा सुरु भएको १५ औँ संस्करणको प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ३ दिनसम्म सञ्चालन भएर सोमबार सम्पन्न भएको हो । दोलखास्थित भीमेश्वर नगरपालिकाको टुँडिखेल मैदानमा सोमबार सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सतर्फ मकवानपुर जिल्लाको टिम द्वितीय भएको छ । एथ्लेटिक्सतर्फको सग्रम विधाको प्रकाशित नतिजा अनुसार मकवानपुरले २ वटा स्वर्ण पदक, ४ वटा रजत पदक र १ वटा काँस्यपदक गरी ७ पदक सहित मकवानपुर जिल्लाको टिम द्वितीय हुन सफल भएको एथ्लेटिक्स समितिका सदस्य तथा राष्ट्रिय निर्णायक राजाराम पोखरेलले जानकारी दिएका छन् ।
प्रतियोगितामा काठमाडौं महानगरपालिकाको टिम प्रथम भएको छ भने ललितपुर जिल्लाको टिम तृतीय भएको छ । गत फागुन महिनामा सम्पन्न भएको १४ औँ संस्करणको प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा तृतीय स्थानमा परेको मकवानपुर यस वर्ष भने दोस्रो भएको राष्ट्रिय निर्णायक राजाराम पोखरेलले बताए । खेलाडीहरुको मेहनत अनुशासन, लगनशीलता र परिश्रमकै कारणले यस वर्षको एथ्लेटिक्स विधामा प्रथम हुन सफल भएको निर्णायक पोखरेलले बताए । यद्यपी यस वर्ष खेलाडीहरुका लागि बन्द प्रशिक्षणको व्यवस्था भएको भए मकवानपुर प्रथम स्थानमा पर्न सक्ने उनले बताए । एथ्लेटिक्सतर्फ मकवानपुरबाट १२ जना खेलाडीहरुको सहभागिता रहेको उनले बताए । मकवानपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डबाट छनौट भएका खेलाडीहरुको प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता रहेको उनले बताए ।
प्रदेशस्तरीय प्रतियोगिताबाट छनौट हुने खेलाडीहरुले यही जेठ महिनाको २८, २९ र ३० गते काठमाडौंमा हुने केन्द्रीय स्तरको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागिता जनाउन पाउने उनले बताए । प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले प्रतियोगितामा विजेता बनेका खेलाडीहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए । एथ्लेटिक्सतर्फको खेलका लागि नेपाल एथ्लेटिक्स संघका केन्द्रीय सदस्य प्रभाकरण पाण्डेको संयोजकत्वमा ३ सदस्य समिति गठन गरिएको निर्णायक पोखरेलले बताए । मकवानपुरबाट खेलाडीहरुको प्रतिनिधित्व गरेर टिम प्रशिक्षकको रुपमा सन्ध्या आचार्य दोलखा गएकी थिइन् । टिम व्यवस्थापनको जिम्मेवारी विष्णुमान श्रेष्ठलाई दिइएको थियो भने टिमको निर्णायकको जिम्मेवारी रञ्जिता फूयाँललाई दिइएको थियो । पुरस्कार वितरण समारोहमा विभिन्न खेल क्षेत्रमा आवद्ध भएका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
एथ्लेटिक्सतर्फको खेलमा कुन–कुन विधामा कसले कति पदक ल्याए ?
प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथ्लेटिक्सतर्फ मकवानपुरले ८ पदक हासिल गर्न सफल भएको छ । दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा सम्पन्न भएको प्रतियोगिता अन्तर्गत ३ दिन सञ्चालन भएर सम्पन्न भएको प्रतियोगितामा मकवानपुरले ७ पदक हासिल गर्न सफल भएको छ । १०० मिटरको दौडमा पुरुषतर्फ सुविन लामाले द्वितीय स्थान हासिल गर्दै मकवानपुरलाई रजत पदक दिलाउन सफल भएका छन् । ४०० मिटरको दौडमा सम्भव माझी द्वितीय हुँदै रजत पदक दिलाउन सफल भएका छन् । ८०० मिटरको दौडमा सचिन थिङ प्रथम हुँदै स्वर्ण पदक दिलाउन सफल भएका छन् ।
लङ्ग जम्पमा पुरुषतर्फ सुविन लामालेनै द्वितीय हुँदै रजत पदक दिलाएका छन् । ४ गुणा ४०० मिटरको रिले दौडमा मकवानपुरका मकवानपुरले तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । ४ जनाको समूहमा भएको रिले दौडमा मकवानपुरका हरिकृष्ण बलामी, सचिन थिङ, सम्भव माझी र सुशान्तको समूहले मकवानपुरले तृतीय स्थानमा पु¥याउन सफल भएका हुन् । २०० मिटरको दौडमा सुविन लामा द्वितीय हुँदै रजत पदक दिलाएका छन् । ४ गुणा १०० मिटरको रिले दौडमा मकवानपुरले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जितेको छ । मकवानपुरका लागि सुविन लामा, प्रविन राई, सुशान्त राई र सम्भव माझीको समूह प्रथम भएका हुन् ।
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड, तेक्वान्दोतर्फ मकवानपुरको ४ पदक
दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा भएको १५ औँ संस्करणको बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेक्वान्दोको खेल सम्पन्न भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमतीको आयोजनामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत आइतबार तेक्वान्दो तर्फको खेल सम्पन्न भएको हो । आइतबार सम्पन्न भएको खेलमा मकवानपुरले ४ वटा पदक जितेको टिम निर्णायक विमल विश्वकर्माले जानकारी दिएका छन् ।
मकवानपुरको प्रतिनिधित्व गरेर सहभागी भएका १२ जना खेलाडीहरु मध्य ४ जनाले मकवानपुरका लागि पदक दिलाउन सफल भएको टिम निर्णायक विकले बताएका हुन् । प्रतियोगितामा ४६ केजी भन्दा कम तौल समूहबाट जस्मिना गोलले रजत, ५२ केजी भन्दा अधिक तौल समूहबाट सुजित माझीले रजत, ४२ केजी तौलसमूहबाट माधुरी घलानले काँस्य र पुम्से विधामा सुहान गुरुङले काँस्य पदक दिलाउन सफल भएका निर्णायक विश्वकर्माले बताए ।
पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिबाट जिल्लास्तरीयमा सहभागी हुँदै प्रत्येक विधामा प्रथम भएका खेलाडीहरुको प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता रहेको उनले बताए । गत वर्ष चितवनमा सम्पन्न भएको प्रतियोगिता यस वर्ष दोलखामा भएको हो । मकवानपुरे खेलाडीहरुको प्रतिनिधित्व गरेर टिमकोचको रुपमा शिवहरि राई, व्यवस्थापकको रुपमा हरि भुजेल र निर्णायकको रुपमा निरुकुमारी मगर दोलखा गएका थिए ।




