पत्रकार महासंघ बागमती प्रदेशको दोस्रो प्रादेशिक भेलामा १३ बुँदे हेटौंडा घोषणापत्र जारी

मकवानपुर, १५ जेठ ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दोस्रो प्रादेशिक भेला १३ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै सकिएको छ । सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रियासँगै नेपाल पत्रकार महासंघ बागमती प्रदेशको जेठ १३ गतेबाट शुरु भएको प्रादेशिक भेलामा वृहत छलफल गरी उठान गरेका विषयहरुलाई समेटेर घोषणपत्र जारी गर्दै सकिएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गरेको भेलाले पारित गरेको घोषणापत्रमा पत्रकारको सुरक्षा, क्षमता विकास, सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था, सञ्चारमाध्यमलाई उद्योगका रुपमा मान्यता दिई अनुदान र सहुलियत ऋण र लोककल्याणकारी सुविधालगायतमा तीनै तहको सरकारको ध्यानाकर्षण गराउँदै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन र प्रदेश विज्ञापन नीति निर्माणको विषयलाई प्रमुखताका साथ उठाईएको छ ।

उद्घाटन कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्य तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने र बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको विशेष आतिथ्य रहेको थियो ।

यस्तो छ पत्रकार महासंघ बागमती प्रदेशको हेटौंडा घोषणापत्र

संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्दै दिगो विकास, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार, सामाजिक न्याय, समावेशी सिद्धान्त, समानता र लोकतन्त्रको पक्षमा क्रियाशिल रहने भेलाले प्रतिवद्ध जनाएको छ । ‘पत्रकारको जीवन रक्षा, स्वतन्त्र रुपले काम गर्ने वातावरण निर्माण र आर्थिक सुरक्षाको ग्यारेण्टी तथा सञ्चारमाध्यमहरुको सुरक्षाका लागि सरोकारवालासँग यो भेला जोडदार माग गर्दछ,’ घोषणापत्रमा उल्लेख छ ।

तीनवटै तहका सरकारलाई सञ्चार क्षेत्रको दिगो विकास र प्रवद्र्धन गर्न सञ्चारमैत्री नीति निर्माण गरी सञ्चार क्षेत्रको विकास, सम्वद्र्धन र प्रवर्धन गर्न जोडदार माग गर्दै श्रमजीवि पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्न, स्वास्थ्य विमा र दुर्घटना बिमामा समेट्ने लगायतका सामाजिक सुरक्षाका कार्यक्रममा समेट्न भेला सम्वद्ध पक्षसँग जोडदार माग गरेको छ । ‘स्वरोजगारमूलक मिडियालाई संरक्षण गर्न सम्बन्धित सरकारले आफ्नो कार्य क्षेत्रमा दर्ता र सञ्चालनमा रहेका सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन अनिवार्य रुपमा उपलब्ध गराउन र समानुपातिक रुपमा वितरण गर्ने व्यवस्था मिलाउन यो भेला जोडदार माग गर्दछ,’ हेटौंडा घोषणापत्रमा माग गरिएको छ ।

बागमती प्रदेशका पत्रकारहरुलाई नेपाल पत्रकार महासंघको सिफारिसमा प्रदेश मातहतका सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्थापन गर्न माग गर्दै सञ्चारकर्मी र सञ्चारमाध्यमको क्षमता विकास, भौतिक पूर्वाधार विकास लगायतका क्षेत्रमा सरकारको तर्फबाट नीति, कार्यक्रम र बजेटमा व्यवस्थापन गर्न अनुरोध गरिएको छ । साथै, प्रदेशस्तरमा प्रशिक्षण केन्द्र र जिल्लास्तरमा सूचना केन्द्र, पुस्तकालय स्थापना गरि सञ्चार क्षेत्रको प्रवद्र्धनमा काम गर्न माग गरिएको छ ।

सञ्चारमाध्यमहरुलाई उद्योगका रुपमा मान्यता दिन, अनुदान र सहुलियत ऋण उपलब्ध गराउन, सबै संचारमाध्यमलाई वर्गिकरण गरी लोककल्याणकारी सुविधा उपलब्ध गराउन, पत्रकार र सञ्चारमाध्यमका उपकरण खरिदमा अनुदानको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दै प्रदेश संचार रजिष्टार कार्यालयमा दर्ता नभए पनि नेपाल सरकारका अन्य निकायमा बागमती प्रदेशभित्र कार्यक्षेत्र हुने गरी दर्ता गरिएका संचारमाध्यमलाई सूचिकरण गरी सेवा सुविधा उपलब्ध गराउन घोषणापत्रमा माग गरिएको छ ।

‘महिला र अपांगता भएका व्यक्तिहरुले संचालन गरेका स्वरोजगारमूलक संचार माध्यमहरुलाई तथा महिला र अपांगता भएका संचारकर्मीहरुलाई सुरक्षा, संरक्षण सहितको विशेष सुविधा र अनुदानको व्यवस्था गर्न यो भेला माग गर्दछ,’ घोषणपत्रमा भनिएको छ, ‘विपद र द्वन्दको समयमा जोखिमपूर्ण क्षेत्रमा पत्रकारीता गर्ने पत्रकारहरुलाई सुरक्षासहितको प्रोत्साहनको व्यवस्था गर्न, खोजमुलक पत्रकारीता गर्ने पत्रकारहरुलाई लेखनवृत्तिको व्यवस्था गर्न यो भेला सरकारसँग माग गर्दछ ।’ घोषणापत्रको अन्तिममा मकवानपुरका ऐतिहासिक पर्यटकीय क्षेत्र मकवानपुरगढी, पर्यटकीय क्षेत्र सहिद स्मारक लगायत प्रदेश भित्रका धार्मिक, ऐतिहासिक, साँस्कृतिक पर्यटकीय गन्तव्यका क्षेत्रहरुको संरक्षण र प्रवद्र्धन गर्न भेलाले माग गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट