खरेलको `भृकुटीतारा´ उपन्यासको चितवनमा परिचर्चा

रामकृष्ण अनायास

भरतपुर, १४ जेठ ।
आख्यानकार कल्पना खरेलको `भृकुटीतारा´ उपन्यासको परिचर्चा कार्यक्रम गरिएको छ । सम्पूर्ण किताब नारायणगढले मङ्गलबार भरतपुरमा कार्यक्रम गरेको हो ।

कार्यक्रममा समीक्षकद्वय उदय अधिकारी र रमेश प्रभातले समीक्षात्मक टिप्पणी राख्नुभयो । समीक्षक अधिकारीका अनुसार भृकुटीतारा देशको मायाले भरिएको किताब हो । `उपन्यासमा देश प्रतिको अगाध माया अटेको छ । लेखकले अन्तर्राष्ट्रिय शिखर नारी प्रतिभा भृकुटीका बारेमा गहिरोसँग अनुसन्धान गरेर उपन्यास लेख्नुभएको छ । यसको भाषा सरल छ ।´, अधिकारीले भन्नुभयो ।

त्यसैगरी समीक्षक रमेश प्रभातले भृकुटीताराका बारेमा बोल्दै यो उपन्यास ऐतिहासिक महत्त्वको भएको बताउनुभयो । `भृकुटीतारा ऐतिहासिक र शोधपरक उपन्यास हो । सरल भाषा र वर्णनात्मकता यसका शक्ति र सीमा दुबै हुन्´, प्रभातले भन्नुभयो – `यसमा प्रयोग भएको अंग्रेजी शब्दले भने यसको विश्वसनीयता माथि प्रश्न उठाएको छ । पात्र अनुसारको संवाद नहुँदा अलिक दिक्क लाग्छ ।´

भृकुटी लिच्छविकालीन नेपाली राजकुमारीका रूपमा चिनिन्छिन् । तिब्बतका सम्राट स्रोङचोङ गोम्पोसँग बिबाह गरेकी उनी तिब्बतकी महारानी पनि हुन् । भृकुटीले तिब्बतमा बुद्ध धर्मको बीजारोपण गरिन् । उनले प्राचीन नेपाल, चीन र तिब्बतबिच कुटनैतिक सम्बन्ध दरिलो बनाइन् ।

उपन्यासको कथालाई सत्य घटनामा आधारित भएर लेखिएको लेखक कल्पना खरेलले बताइन् । उपन्यासमा अधिकांश पात्र वास्तविक भए पनि केही पात्रको परिचय बदलेको उनलेे बताइन् । आफूले भृकुटीतारा पुस्तकमा सत्य इतिहास उतार्न धेरै मेहनत गरेको स्वीकार गरिन् । `तत्कालीन समयमा भृकुटीका घटनाक्रम लिपिबद्द नहुँदा कतिपय सामग्री अनुमानका भरमा आएका छन् । राज्यका तर्फबाट पनि सत्यतथ्य खोजी गरेर यथार्थ इतिहास पाठकसामु आउन जरुरी छ´, खरेलले भनिन् ।

मञ्जरी प्रकाशनबाट प्रकाशित पुस्तकको मूल्य ५११ रुपैयाँ छ । नेपालगन्ज निवासी खरेलका यसअघि `क्षितिजपारिका शब्दहरू´ गीतसङ्ग्रह र `रागिनी´ कथासङ्ग्रह प्रकाशित छन् भने उपन्यासका रूपमा `समलिङ्गी सम्बन्ध´, `लभ इन जेरुसेलम´, `रानीतलाउ´ र `पुरुष´ प्रकाशित छन् । अध्ययन, अनुसन्धान र अन्वेषणमा लेखक खरेल लामो समयदेखि सक्रिय हुनुहुन्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट