भरतपुर । भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । कोहलीले भारतको इङ्ल्यान्ड भ्रमणभन्दा ठिकअघि सोमबार टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।
१२३ टेष्ट म्याच खेलेका कोहलीले ४६.८५ को औसतमा ९,२३० रन बनाएका छन् । उक्त फर्म्याटमा उनले ३० वटा शतक र ३१ वटा अर्धशतक बनाएका छन् । टेष्ट क्रिकेटमा उनको व्यक्तिगत सर्वाधिक स्कोर २५४ नट आउट रहेको छ जुन उनले दक्षिण अफ्रिका विरुद्ध बनाएका थिए । कोहलीले सन् २०११ बाट आफ्नो टेष्ट करियरको सुरुवात गरेका थिए ।
केही दिनअघि भारतका अर्का ब्याट्सम्यान रोहित शर्माले पनि टेष्ट क्रिकेटबाट सन्न्यास लिएका थिए । रोहित भारतको टेष्ट टोलीका कप्तान पनि थिए । विराट भने भारतीय टोलीका पूर्वकप्तान हुन् ।
यी दुवै ब्याट्सम्यानले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट भने यसअघि नै सन्न्यास लिइसकेका थिए ।





