हेटौंडामा स्पोटर्स अवार्ड र युथ समिट हुने

मकवानपुर, १९ वैशाख ।
बागमती प्रदेशकाे राजधानी हेटौंडामा स्पोटर्स अवार्ड र युथ समिट हुने भएको छ । बागमती प्रदेश सरकारको आयोजनामा उक्त कार्यक्रम गर्न लागिएकाे हाे । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले आगामी जेठको पहिलो साता उक्त कार्यक्रम आयोजना गर्ने भएको हो ।

कार्यक्रम हेटौंडाको हुप्राचौरमा हुने बताइएकाे छ । अवार्ड अन्तर्गत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको मनोरञ्जनात्मक कार्यक्रम पनि रहने छ ।

युवा तथा खेलाडीहरूको प्रोत्साहन र सम्मानका लागि अवार्ड कार्यक्रम आयोजना गर्न लागिएकाे हाे । संघीयता कार्यान्वयनकै चरणमा अघि बढ्ने क्रममा प्रदेशमा पहिलो पटक स्पोटर्स अवार्ड कार्यक्रम आयोजना गर्न लागिएकाे युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए । अन्तर्राष्ट्रिय स्तरमा देशको नाम राख्न सफल खेलाडी तथा युवाहरूलाई कार्यक्रममा पुरस्कृत गर्ने गरी प्रदेश सरकार अघि बढेको छ ।

कार्यक्रमबाट खेलकुदमा लाग्नेहरूलाई प्रेरित गर्ने लक्ष लिइएकाे मन्त्री महर्जनले बताए । ‘युवा खेलाडीको मनोबल उच्च बनाउन प्रतियोगिता आयोजना गरेर मात्रै हुँदैन । उनीहरूलाई हौसलासँगै प्रोत्साहनमा पनि राज्यका निकायले कार्यक्रम गर्नु पर्ने हुन्छ’ उनले भने– ‘खेल क्षेत्रमा लागेकालाई पुरस्कृत र सम्मान गरिदा नयाँ पुस्तालाई खेल क्षेत्रमा लाग्न प्रेरणा मिल्छ भन्ने अग्रजहरूले सम्मानित महसुस गर्न पाउँछन् ।’

स्पोटर्स अवार्डमा खेलाडी तथा पत्रकार पुरस्कृत गर्न मन्त्रालयले ३ सदस्य छनोट उपसमिति समेत गठन गरेको छ । जसमा संयोजक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ रहेका छन् भने सदस्यहरूमा तेक्वान्दोका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक प्रेमबहादुर भण्डारी र खेलकुद पत्रकार प्रकाश तिमल्सिना रहेका छन् ।

उक्त उपसमितिले १० दिनभित्र प्रदेशमा रहेका नयाँ र पुरानो गरी ९ जना प्रतिभावान खेलाडी, खेलकुद क्षेत्रको समाचार सम्प्रेषण गर्ने एक जना खेलकुद पत्रकारको नाम सिफारिस गर्नेछ । उपसमितिको सिफारिसअनुसार मन्त्रालयले खेलाडी र पत्रकारलाई नगद पुरस्कार सहित सम्मान गर्नेछ ।

गत असोजमा मन्त्री महर्जनको अगुवाइमा मुख्यमन्त्री कार्यालय हेटौंडामा पारा ओलम्पिक खेलकुद प्रतियोगितामा कास्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्द्धनलाई नगद १० लाख रुपैयाँ र १९ औँ एसियन गेममा रजत पदक विजेता कराँतेकी एरिका गुरुङ नगद ५ लाख रुपैयाँसहित सम्मान गर्दै हेटौंडा बजार परिक्रमा गराइएकाे थियाे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट