मकवानपुर, १८ वैशाख ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफलेले स्थानीय नागरिकको आवश्यकता पहिचान गरी बजेटमा सम्बोधन गर्नुपर्ने बताएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा भएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमाको सम्बन्धी स्थानीय सरकारसँगको पूर्व बजेट छलफलमा मन्त्री काफ्लेले भने ‘आम नागरिकको आवश्यकता र मागलाई पहिचान गरी स्थानीय तहको समन्वयमा बजेट विनियोजन गर्नुपर्छ ।’
’बजेटमा स्थानीय र प्रदेश सरकारको प्राथमिकता समान हुन जरुरी छ’ उनले भने ‘विगतमा स्थानीय र प्रदेश सरकारको तालमेल नमिल्दा बजेटको सदुपयोग हुन सकेको छैन् ।’ दुबै सरकारको एकै प्राथमिकता हुनेगरी गुणस्तरीय विकास र सहज सेवा प्रवाहको दिशामा आगामी वर्षको बजेट विनियोजन हुनुपर्ने उनले बताए । ‘अलपत्र योजनाहरुलाई निर्माण प्रक्रियामा लैजानका लागि सरकार गम्भीर रहेको छ’ उनले भने ‘आगामी बजेटको प्राथमिकतामा त्यसतर्फ काम गर्नेमा हुन्छ ।’ स्थानीय सरकारले आगामी योजना निर्माण गर्दा उत्पादन र रोजगारसँग जोडेर निर्माण गर्नुपर्ने मन्त्री काफ्लेले भनाई रहेकाे छ ।
‘संविधानमा उल्लेख भएका मौलिक हकको सदुपयोग गरी उत्पादनमुखी विकासमा दुई तहको सरकार जोडिनुपर्छ’ मन्त्री काफ्लेले भने ‘प्रदेशको पहिलो प्राथमिकता उत्पादनमूखी बजेट निर्माण गर्नु रहेको छ ।’




