किन किन आजकल मलाई
मेरी आमा र डाडु उस्तै उस्तै लाग्छ
जीवनभरी मिष्ठान्न भोजन पकाएर
अरुलाई बाँड्ने
त्यसको स्वाद आफूभित्र पस्न नदिने
त्यस्तै लाग्छ मलाई अचेल मेरी आमा ।
दुई रुपैयाँको ढ्याक भए नी सधैँ मेरै लागि साँच्ने
सधैँ सधैँ मेरै लागि बाँच्ने ।
तिमीले कहिल्यै संसारलाई बार्दलीबाट
ताकेको मैले देखिनँ
कहिल्यै आँखीझ्यालबाट
जिन्दगीको उज्यालो हेर्नेसम्म पनि चेष्टा गरिनौ
तिम्रा ती लामा सर्लक्क परेका केशहरुले
घुम्रिएको आकार दिईसके
मुश्किलले चालिस नकटेकी तिमी
सत्तरीको रुप लिइसके
तै पनि तिमी थाक्दिनौ आमा
साँच्चै भननआमा
के तिमी जिन्दगीको स्वाद चाख्दिनौ ?
सधैँ मलाई उज्यालो दिने प्रयत्नमा
तिम्रा कयौँ दिन अँध्यारोमै बिते
तिम्रा कयौं रात धिप्पधिप्प उज्यालोमा बिते
तै पनि कहिल्यै न गुनासो, न कतै उजुरी
सधैँ तिमी डाडु बनेर हामीलाई दिईरह्यौ
दिईरह्यौ मात्र दिईरह्यौ ।।
किनकिन आजकल मलाई मेरी आमा र डाडु
उस्तै उस्तै लाग्छ
भनन मलाई आमा
तिमी आमा हौ की डाडु ?
आ = आत्मा सँग जोडिएर
मा = माया गर्ने मान्छे ।।





