काठमाडौं, १३ वैशाख ।
कवि गोपाल पराजुलीले कविडाँडा सुवर्ण – तुलसी काव्य पुरस्कार- २०८१ प्राप्त गरेका छन् । ५० हजार १६० रुपैयाँ नगद राशि रहेको उक्त पुरस्कार शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कवि पराजुलीलाई प्रदान गरियो । कविडाँडा साहित्य समाजले प्रदान गर्ने सो पुरस्कार हाल अमेरिका बस्ने गीतकार सरला श्रेष्ठले आफ्ना मातापिता तुलसीदेवी र सुवर्णजङ्ग श्रेष्ठको नाममा स्थापना गरेकी हुन् ।
कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्री, प्रमुख अतिथि चरित्र अभिनेता मदनकृष्ण श्रेष्ठ र पुरस्कार दाता श्रेष्ठ परिवारले स्रस्टा पराजुलीलाई दोसल्ला, प्रमाणपत्र र नगदसहित सम्मान गरेका हुन् ।
सम्मानित स्रस्टाका बारेमा बोल्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक महेश पौड्यालले भने- `पाश्चात्य जगतले पहिले ईश्वरकाे र पछि लेखककाे मृत्युकाे तर्क गरेर निस्सारताकाे वकालत गरिरहेका बेला कवि पराजुलीले “अर्काे ईश्वरकाे घाेषणा” लेखर आस्था र आशावादिताकाे शाश्वत प्रवाहकाे रक्षा गरेका थिए । त्यसै गरी साेभियत संघ र अमेरिकाबीचकाे शीत युद्ध सकिएसँगै ईतिहासकाे अवसान भयाे भन्ने पश्चिमा विद्वानहरूलाई पूर्वकाे महत्ता र ऐतिहासिक वैशिष्ट्य बुझाउन “अर्काे विश्वकाे प्रस्ताव” लेखेका हुन् ।´ यस्ता सचेत, निर्भीक र प्रयाेगधर्मी कवि पराजुली यो पुरस्कारका लागि याेग्य भएकाे उनकाे टिप्पणी थियाे । पराजुलीले २०६० सालमा प्रकाशित `नयाँ ईश्वरको घोषणा´ कवितासङ्ग्रहका लागि मदन पुरस्कार प्राप्त गरेका थिए ।
२०७७ सालबाट दिन लागिएको यो पुरस्कार पहिलोपटक कवि श्रवण मुकारुङलाई दिइएको थियो भने त्यसपछि तीर्थ श्रेष्ठ, मनु मन्जिल र सरुभक्तले प्राप्त गरिसकेका छन् ।
सोही कार्यक्रममा लेखक एलबी क्षेत्रीको सातौँ पुस्तक `अमेरिकामा ४३ दिन´ संस्मरणसङ्ग्रह विमोचन पनि विमोचन गरिएको छ । सन् २०१६ मा पारिवारिक अमेरिका भ्रमणका अनुभव र अनुभूतिलाई पुस्तकमा समेटेको लेखक एलबी क्षेत्रीले बताए । पेज टर्नर प्रालिले प्रकाशन गरेको पुस्तकको मूल्य ४५० छ ।
त्यसैगरी कार्यक्रममा सरला श्रेष्ठका ५ वटा गीत पनि लोकार्पण गरिएको छ । हरपल सम्झनामा आइरहन्छौ तिमी, दुखेँ धेरै अब दुख्न पुग्यो, किन भएछ भेट हाम्रो जिन्दगीको त्यस प्रहरमा, दिल त दामी हजुरको र म हारेको छैन यो जिन्दगीमा गरी ५ वटा गीतहरू लोकार्पण गरिएको हो । यी गीतमा राजनराज सिवाकोटी, लक्ष्मण पोखरेल र नरेन्द्र प्यासीले संगीत दिएका छन् भने मदनकृष्ण श्रेष्ठ, एलिना चौहान, शिवराज विश्वकर्मा, बबिना भट्टराई र करण परियारको आवाज रहेको छ । गीत लोकार्पण कार्यक्रममा मदनकृष्ण श्रेष्ठले मन्तव्यसहित सरलाका गीतहरू सुनाएका थिए ।
कार्यक्रममा गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा र साहित्यिक पत्रकार विमल भौकाजीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमलाई कविडाँडा साहित्य समाजका सचिव लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।





