मकवानपुर, १२ वैशाख ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी हेटौँडा आउनु हुने भएको छ । यही वैशाख २० गते शनिबार मदन भण्डारी फाउण्डेसन मकवानपुरको चौथो साधारणसभामा प्रमुख अतिथिका रुपमा सहभागी हुन उहाँ हेटौंडा आउन लाग्नु भएको हो ।
मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले वैशाख २० गते फाउण्डेसन मकवानपुरको चौथो साधारण सभा तथा फाउण्डेसन मकवानपुरका संस्थापक अध्यक्ष श्रीचन्द्र शर्माको स्मृतिमा स्थापित ‘श्रीचन्द्र शर्मा स्मृति सम्मान’ हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्व राष्ट्रपति आउनुहुने बताउनु भयो । फाउण्डेसन मकवानपुरले अक्षयकोष मार्फत संस्थापक अध्यक्ष शर्माको स्मृतिमा हरेक वर्ष जिल्लामा राजनीतिक एवम् सामाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई नगद राशिसहित सम्मान गर्दै आएको छ । यसअघि उक्त पुरस्कार पुराना कम्युनिष्ट नेता बमबहादुर लामा, समाजसेवी ईश्वरीप्रसाद न्यौपाने, शैक्षिक व्यक्तित्व युवराज गिरी र ट्रेड युनियन आन्दोलनका नेता तथा राजनीतिक व्यक्तित्व ज्ञानबहादुर भुजेललाई प्रदान गरेको खुलालले बताउनुभयो ।
मदन भण्डारी फाउण्डेशनको संस्थापक अध्यक्ष समेत रहनुभएकी पूर्व राष्ट्रपति भण्डारी हेटौंडामा रहनुहुँदा विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको बताइएकाे छ ।





