मकवानपुर, १२ वैशाख ।
बागमती प्रदेशको राजाधानी हेटौंडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने कान्ति लोकपथमा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै उक्त सडकखण्ड १५ दिन बन्द हुने जनाएकाे छ ।
मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन-बगुवा सडकखण्डमा सडक विस्तार गर्ने कामकाे लागि सवारी आवागमन बन्द हुने सूचनामा उल्लेख छ । वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन उक्त सडक खण्डमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म दैनिक ६ घण्टा यातायात आवागमन बन्द रहने जारी सूचनामा उल्लेख छ।
ठिङ्गन-बगुवा सडकखण्ड अन्तर्गत गङ्गटे नजिकैको भर्याङडाँडामा सडक विस्तारको लागि चट्टान कटानको कार्य गरिने भएकाले कान्ति लोकपथ सडकखण्डमा सवारी आवागमन बन्द रहने प्रशासन कार्यालयले प्रकाशन गरेकाे सूचनामा उल्लेख छ ।
सडक बन्द हुने अवधिमा काठमाडौँ-हेटौडा वा हेटौँडा-काठमाडौँ यात्रा गर्नुपर्ने सवारी साधनले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले आग्रह गरेका छन्।





