ललितपुर, ७ वैशाख ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताए । ‘प्रथम राष्ट्रिय याक दिवस’ को अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार ललितपुरको खुमलटारमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दे मन्त्री अधिकारीले भौगोलिक चुनौती, युवा पुस्ताको बसाइसराई, चरन क्षेत्रको अभाव, प्रजननसम्बन्धि समस्या, जंगली जनावरको आक्रमण, जलवायु परिवर्तन जस्ता कारणले नेपालका याक / चौँरीको संख्या घट्दो क्रममा रहेकाले याक / चौँरी पालनको संरक्षण र प्रबर्द्धनका लागि संगठित प्रयास आवश्यक रहेको बताए ।
मन्त्री अधिकारीले याक / चौँरीको संरक्षण र दिगो उपयोगमार्फत हिमाली क्षेत्रको खाद्य सुरक्षा, जलवायु अनुकूलन, जैविक विविधताको संरक्षण र ग्रामीण जीवनशैलीको सशक्तीकरण नै अबको साझा लक्ष्य रहेको उल्लेख गरे । मन्त्री अधिकारीले हिमाली जनजीवनको अविभाज्य अंग बनेका याक / चौंरीलाई संरक्षण, सुधार र व्यावसायिक रूपान्तरणमार्फत नव जीवन दिनु हाम्रो साझा उत्तरदायित्व रहेकोमा जोड दिए ।
मन्त्रालयको अग्रसरतामा सरकारले याक र चौंरीको महत्वलाई आत्मसात गर्दे प्रत्येक वैशाख ७ गतेको दिनलाई राष्ट्रिय याक दिवसको रुपमा मनाउने निर्णय गरेको उल्लेख गर्दे मन्त्री अधिकारीले याकको संरक्षण एवं प्रबर्द्धनका लागि सोलुखुम्बुको स्याङ्बोचेमा याक आनुवांशिक स्रोत केन्द्र सञ्चालन ल्याईएको र उक्त केन्द्रले याकको शुद्ध नस्ल संरक्षण, आनुवंशिक सुधार, प्रविधि विस्तार र प्रसारमा महत्वपूर्ण कामको सुरुवात गरेको बताए । मन्त्री अधिकारीले आगामी दिनमा याक / चौंरीको दिगो विकास सुनिश्चित गर्न मन्त्रालय प्रतिवद्ध रहेको पनि उल्लेख गरे । ‘ याक चौँरी प्रबर्द्धन : हिमाली जीवन, संस्कृति र पर्यावरण संरक्षण ’ भन्ने मूल नाराका साथ पहिलो पटक मनाईएको राष्ट्रिय याक दिवसका अवसरमा याक पालक कृषकहरुलाई पनि सम्मान गरिएको छ ।
याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचिमा उल्लेख गरेको छ । नेपालमा मात्र उत्पादन हुने विश्व प्रसिद्ध याक चिज ओमेगा -३ फयाट्टी एसिडको स्रोत रहेको याकको दही प्रसिद्ध दूग्ध परिकारको रुपमा रहेको याकको दुधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानहरुको आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको र हिमाली क्षेत्रको सभ्यताको रुपमा समेत याक रहेकोमा संरक्षणकर्मीहरुले जोड दिएका छन् ।
याकको छाला र पुच्छरबाट बन्ने वस्तुहरु निर्यातको प्रचुर सम्भावना बोकेका उत्पादन हुन् । याक पर्यटन प्रवद्र्धनमा पनि आकर्षणको केन्द्र बन्ने सम्भावना रहेको छ । याक मार्फत सामान ढुवानीदेखि खेतबारी जोत्नेसम्मका कार्यहरु हुँदै आएको छ ।





