
मेरो बुझाइमा रोल्पा के हो ?
पाठकवृन्द, तपाई र मैले सोचेजस्तो रोल्पा केवल भूगोल मात्र होइन । तर म आजका मितिसम्म रोल्पा पुगेको छैन । पाठकवृन्द, मेरो स्थायी ठेगाना चितवन हो, जुन मेरो नागरिकतामा पनि उल्लेख छ । त्यसो त मेरो जन्म चितवनमा भएको भने होइन । फेरि भन्छु, चितवनमा हुर्केको मेरो पाइला अहिलेसम्म रोल्पाको भूमिमा परेको छैन । म रोल्पालाई केवल किताबी ज्ञानका आधारमा बुझ्छु । कतिपय अवस्थामा किताबी ज्ञान एकाङ्गी र अपूर्ण पनि हुन्छ भन्ने म मान्दछु । तर बाध्य छु म त्यही किताबी ज्ञानका आधारमा धारणा बनाउन ।
मैले रोल्पाका बारेमा किताबमा पढ्दा मूलतः माओवादी आन्दोलनको उठान बिन्दुका रुपमा पढेको कुरा सम्झन्छु । त्यो एउटा पृथक् पाटो हो भन्ने लाग्छ । त्यहाँको भूगोल, संस्कृति, भाषा, साहित्यको चर्चा त्यति नभएको हो वा मैले पढ्न नपाएको हो ? यसर्थ म रोल्पालाई कत्ति पनि नबुझ्दो रहेछु । यो मेरो कमजोरी हो । म यही कमजोरीका साथ उभिएको छु, यो आलेखमा । म एउटा शिक्षक भएका कारण प्रायः विद्यार्थीका सामु उभिँदा जान्दिनँ भन्न पाउन्नँ । तर पाठकवृन्द, यहाँका अगाडि नजानेको कुरा जान्दिनँ भन्दा गल्ती त हुँदैन नि ?
रोल्पाको राजनीतिक महत्व के हो ?
माओवादी जनयुद्धको उठानबिन्दु हो रोल्पा । आजका मितिमा जनयुद्ध धनयुद्धमा परिणत भइसकेको छ । त्यतिबेला युद्ध लडेका सोझा लडाकु कि त परलोक भइसके कि त पलायन । जो छलछाम जान्दथे, ती मात्र आज हाम्रासामु सुकिला मुकिला भएर प्रस्तुत भइरहेका छन् । यसर्थ, रोल्पा नाम उच्चारण गर्दा ती राष्ट्रभक्तमाथि व्यङ्ग्य भएको अनुभूत गर्छु म ।
यतिबेला जनयुद्धको एउटा मात्र उपलब्धि कायम छ, त्यो हो जनताले आफ्ना कुरा राख्न सक्ने हुनु । तर यसरी बोलेको कुरा कसले सुनिदिन्छ ? राजधानी कान सुन्दैन । राजधानी पसेका नेताहरु पनि निमुखाका कुरा सुन्नै चाहँदैन । ऊ त आफ्ना बारेमा गाइएका गुणगान र भजन मात्र सुन्न चाहन्छ । यस्तो बेला रोल्पाको राजनीतिक महत्व कसले बुझिदिने ?
रोल्पाको साहित्यिक महत्व के छ ?
मैले युद्ध साहित्य पढ्ने क्रममा उपन्यास र कथाजस्ता आख्यानमा रोल्पाका बारेमा थुप्रै पढेको छु, चाहे त्यो भानु बोखिमको ‘गोधूली गीत’ उपन्यासमा होस् वा महेशविक्रम शाहको ‘छापामारको छोरो’ कथामा होस् । यहाँ त्यसर पढिएका कृतिको सूची राखेर यो आलेखलाई अनावश्यक तन्काउने पक्षमा छैन म । मैले पढेकमा ती आख्यान नेपालको एउटा कालखण्डसँग सम्बन्धित छ, जसका बारेमा व्यापक बहस भइसकेका र भइरहेका छन् ।
मैले फेसबुकमा धेरै पढेको पछिल्लो समयको कवि हो, युग सर्वनाम । पाठकवृन्द, यहाँले पनि उनको ‘नेपाल पोइट आइडल’ पक्कै हेर्नुभएको होला । अनि अलिअलि पढेको नाम कवि दीप दर्पण पनि हो । हो, मलाई याद छ, रोल्पामाथि विभिन्न समयमा लेखिएका ५१ जना कविका कविताहरु समेटिएको कविताकृति ‘कुइख्याङ’ पनि केही समयअघि पढेको हुँ । वर्णानुक्रममा राखिएको त्यो कृतिमा पनि रोल्पालीभन्दा पनि रोल्पाबाहिरका कविहरुको उपस्थिति ज्यादा पाएको हुँ । यति हुँदा हुँदै पनि त्यसले रोल्पालाई चिनाएको छ । तर त्यसमा जनयुद्धलाई धुरीमा राखेर रचिएका कविता समेटिएको छ, जुन आजका मितिमा एउटा इतिहास मात्र हो, अब त्यो सम्झनामा मात्र बाँचेको छ । त्यसको धराधल कहाँ जीवित छ, त्यसका बारेमा बहस हुनु जरुरी छ भन्ने धारणा राख्छु म । हुन त मेरो यो निजी विचारमाथि प्रहार हुन सक्छ । यो गणतन्त्रमा विचार राख्ने स्वतन्त्रता त सबैलाई छ नि हैन र पाठकगण ?
चितवनमा रोल्पाका कविता कसरी गुञ्जिएला ?
नववर्ष २०८२ को पूर्व सन्ध्यमा चितवनको साहित्यिक माहोलमा हाल रोल्पामा बसेर कविता कर्म गरिरहेका दुईजना सशक्त कविहरु समीप बैरागी र प्रेम प्रकाश आफ्ना केही थान नयाँ कविता लिएर उभिँदै छन् । आशा छ, उनीहरुका कवितामा रोल्पाको माटो बोल्ने छ । त्यसो माटो आफैँमा केही होइन, त्यसमा भाषा, साहित्य र संस्कृति मिसियो भन्ने बल्ल अरुभन्दा पृथक् हुन्छ । नत्र त चितवनको माटोमा बलौटेपन र कालो रङ भेटिएला भने रोल्पाको माटोमा चिप्लोपन र रातो रङ होला वा नहोला पनि । त्यसले खासमा के फरक पर्छ र ? कवितामा भने त्यसले पक्कै नयाँपन दिनेछ, यो मेरो विश्वास हो ।
पाठकवृन्द, म यहाँ चितवनमा रोल्पाको महक बोकेर आउँदै गरेका ती कविको छोटो चिनारी दिँदै छु । त्यसका लागि तिनका एक एक कवितालाई आधार मानेर यो आलेख तयार गर्दै छु ः
समीप बैरागीको छोटो चिनारी
रोल्पाको माटोमा जन्मिएर त्यहीँ हुर्किएका समीप वैरागी जन्मले मगर हुन् र उनका मगर भाषाको कविताले नेपाल प्रज्ञा प्रतिष्ठानमा पनि स्थान ओगटिसकेको छ । नागरिकतालगायतका सरकारी निस्सामा टङ्कबहादुर झाँक्री मगर नाम भए पनि उनी जनकलाकारका रुपमा विभिन्न उपनामले चिनिँदै आए भने कविताका क्षेत्रमा उनी समीप बैरागीका नामले लेखिरहेका छन् । उनी रोल्पामा जन्मिएका मात्र नभई रोल्पाली क्रान्तिमा प्रत्यक्ष संलग्न व्यक्ति पनि हुन् ।
कवि समीप बैरागीको हालै मात्र ‘साहीमासा’ कवितासङ्ग्रह (२०८१) प्रकाशित भएको छ । कूल १०८ पृष्ठको आयाम भएको यो कृतिभित्र छवटा खण्डमा ४५ वटा छोटा खालका फुटकर कविताहरु समेटिएका छन् । यी कविताले समकालीन नेपाली परिवेश, देशभित्र भएको बेथितिलगायत तत्कालीन जनयुद्धका आला सम्झनाहरु पनि प्रस्तुत गरेका छन् । यहाँ उक्त कृतिभित्र सङ्गृहीत शीर्षक कविता ‘साहीमासा’ साभार गरिएको छ :
‘फूलबारी लेक’कोे लेकाली गुराँसमा
अल्झिबसेको बिफर चरीको प्वाँख
सिरसिरे बतासको पङ्क्तिले उडाए जसरी
थाहै नपाई छुटिगयो
वनपाखामा पात बजाउँदै लाएको प्रीत ।
लाहुरे प्रथाले ग्रसित समाजले
दिएर तिमीलाई– लाहुरेनी उपमा
चुडाइदिएछ– हाम्रो सम्बन्धको बाँहा
‘मारुम’ !
गयो तिमी, लाहुरेको हात समाउँदै
चढेर सरर नौटुनाको रेल ।
पत्थर हुनुपर्ने ठाउँमा मुटु भइदियो
दुखेको छु अलिकति÷सम्झेको छु अलिकति
खट्केको छु अलिकति / भत्केको छु अलिकति ।
यस्तो नहुनुपर्ने हो, जो भइरहेछ
अलिकति बिग्रिएको छ– जीवनको गति
अलिकति बाङ्गिएको छ– जीवनको लय
गुनासो–
अलिकति तिमीसँग छ
अलिकति समाजसँग छ ।
मारुम !
बितिगएका सम्झनाका बाढीहरुले उटिट्याएर
मलाई ल्याइपुर्याएको छ आज
उही आदिम ठाउँमा
जहाँ–
फोटो एल्बममा छाडिआएको साहीमासा
फिर्ता आएको थियो– दोचन्दा
तिम्रो प्रिय सखीको हातमा ।
हामीले भने जस्तो पटक्कै भएन– प्रेम सफर
कहिल्यै नछुटिने÷कहिल्यै नटुङ्गिने ।
अब यो साहीमासा
उसको हुनेछ
म जसको हुनेछु ।
तर मारुम !
अलिकति अर्को पिर छ
अबका बाँकी पुस्ताहरु
यसरी प्रेमको मलामी जान तयार होलान् कि
सङ्घर्षको कदम अघि बढाउलान् ?
(‘साहीमासा’, पृ. ६७–६९)
माथिको कवितामा प्रयोग भएका ‘साहीमासा’ र ‘मारुम’ शब्दहरु खाम मगर भाषाका हुन् । तिनको शाब्दिक अर्थ क्रमशः पहिलोको मगर केटाहरुले विवाह हुनुपूर्व केटीलाई आफ्नो बनाउन दिने कुनै बहुमूल्य वस्तु र दोस्रोको मामाको छोरी जसलाई विवाहपछि भाउजू भन्नुपर्ने हो भन्ने जनाउँछ । यसमा मगर समुदायको संस्कृति मात्र नभई लाहुरे बन्नुपर्ने नेपाली ग्रामीण परिवेश पनि मार्मिक रुपमा उतारिएको छ । यसमा प्रेमको अवसानलाई सटिक तरिकाले उतारिएको छ । यसर्थ पनि यो सार्वकालिक र सार्वजनीन बनेको छ ।
प्रेम प्रकाशको छोटो चिनारी
रोल्पाकै माटोमा जन्मिएर त्यहीँ हुर्किएका अर्का कवि हुन्, प्रेम प्रकाश । उनी पनि जन्मले मगर हुन् र उनका पनि मगर भाषामा कविताहरु प्रकाशित भएका छन् । रोल्पामा देखेका, भोगेका र सुनेका जनयुद्धलगायत पूर्वीय वाङ्मयमा वर्णित युद्धका विषयलाई कवितामा प्रस्तुत गर्नु उनको शक्ति हो । यसअघि उनले कविता, गजल र निबन्धका आधा दर्जनजति कृति प्रकाशित गरिसकेका छन् भने उनको गीति एल्बम पनि निस्केको छ । उनको हालै मात्र पछिल्लो कविताकृति ‘रगतको तर्पण’ कवितासङ्ग्रह (२०८१) प्रकाशित भएको छ ।
पाठकवृन्द, रगत भन्ने बित्तिकै त्यसै पनि युद्धको सम्झना गराउँछ । यसका बारेमा थप प्रकाश पार्नै पर्दैन । यसर्थ यहाँ उक्त कृतिभित्र सङ्गृहीत शीर्षक कविता ‘रगतको तर्पण’ कस्तो छ त भन्ने उत्सुकता मेटाउन सो कवितालाई साभार गरेको छु :
के हुन्थ्यो
पृथ्वीमा रगत नभएको भए ?
पृथ्वीमा अर्को समुद्र छ– रगतको
जो सबैभन्दा ठूलो छ
जो सबैभन्दा गहिरो छ
नुनिलो त यसै पनि छ– यो महासागर पनि ।
यसको मूल–मुहान
हिमालय शृङ्खलाका खोँचहरु होइनन्
तरल–सरल भएर पनि
बग्न जान्दैन कन्दरा, टार, फाँट र मैदान भएर
यो बाफ बनेर उड्न सक्दैन हावासँग ।
उद्विकासको क्रमभङ्गतामा
अनेकन् कालक्रमिकतामा
निरन्तरतामा
केवल निरन्तर निरन्तर
यो फुटिरहन्छ र फैलिरहन्छ गुणात्मकतामा ।
त्यसैले थाहा छैन के हुन्थ्यो
पृथ्वीमा रगत नभएको भए ?
रगत नभएको भए
जरुर आँसु हुने थिएन
पिसाब हुने थिएन
र हुने थिएन संसारमा दुःख ।
रगत नभएको भए
कुने जातधर्म हुने थिएन
कुरुक्षेत्र, महाभारत, देवासुर सङ्ग्राम हुने थिएन ।
रगत नभएको नभए
कुनै राज्य हुने थिएन
नक्सा, सिमाना र शासन रहने थिएन
र बन्ने थिएनन्– पुलिस, प्रशासन र कानुनहरु ।
रगत नभएको भए
मान्छे हुने थिएन
र मान्छे नै नभएको भए ?
मान्छे एक पदार्थ हो
अवधारणा र विचार हो एउटा
रगतको महासागरमा मात्र एउटा फोका हो
एउटा सानो कालखण्ड हो– एउटा मान्छेको आयु ।
तर यही कालखण्ड
इतिहासको एउटा अध्याय हो
जो लेखिन्छ
रगतकै मसीमा तरबार चोबेर ।
रगतको आलो गन्ध छ इतिहासमा
वर्तमानले रगतकै सिमाङ्कन गरिरहेछ
र चलाइरहेछ रगतकै कित्ताकाट ।
अवश्यम्भावी छ
कि भविष्य पानीविहीन हुनेछ ।
(‘रगतको तर्पण’, पृ. ४९–५१)
पूर्वीय वाङ्मयमा युद्धका डोबहरु देखिन्छन्, चाहे त्यो महाभारत होस् वा उपनिषद्लगायतका धार्मिक ग्रन्थ नै किन नहोऊन् । युद्धको वर्णन हटाउने हो भने ती अपूर्ण हुन्छन् । हो, त्यही कुराको चित्रण यो कवितामा आएको छ । आफू मगर समुदायको भएर पनि यो कवितामा कविले प्रत्यक्षतः मगर समुदाय र संस्कृति उतारेका छैनन्, न त सिधा रोल्पा आएको छ । अप्रत्यक्ष रुपमा यसमा रगतको होली खेलिएको २०५२ देखि २०६२ सम्मको अवधिलाई सुन्दर ढङ्गले उतारिएको छ । यसमा प्रत्यक्षमा कुरुक्षेत्र, महाभारत र देवासुर सङ्ग्रामको चित्रण गरिएको भए पनि त्यसपछिका विभिन्न नाममा भएका युद्धलाई साङ्केतिक तबरले चित्रण गरिएको छ । यस्ता युद्धहरु चल्दै गयो भने भविष्य पानीविहीन बन्नेछ भन्ने निष्कर्ष दिँदै युद्ध घातक छ भन्न खोजिएको छ ।
यसरी रोल्पामा जन्मिएका कविहरुले रोल्पा मात्र नभएर सिङ्गो नेपाल लेखिरहेका छन् । वर्तमान नभएर विगत पनि लेखिरहेका छन् । त्यति मात्र नभएर सत्ता र जनता दुबैलाई खबरदारी पनि गरिरहेका छन् । यो नै रोल्पाको वास्तविक महक हो । यस्तै शक्तिशाली कविता सुन्ने अपेक्षा चितवनवासीको छ । अवश्य उनीहरुले हाम्रो आशा र अपेक्षा पूरा गर्नेछन् ।
मूलधारले रोल्पालाई किन हेर्न चाहँदैन हँ ?
यो गणतन्त्र र सङ्घीयताको अवस्थामा पनि काठमाडौँ आफूलाई ‘राजा’ ठान्छ र अरुलाई रैती । ऊ काठमाडौँ बाहिर पनि ठूलो संसार छ भन्ने बुझ्दैन वा बुझ्न चाहँदैन । यो त भयो यतिबेलाको राजनीतिको कुरा । यही कुरा साहित्यमा पनि लागू हुन्छ । काठमाडौँ आफूलाई मूलधार मान्छ भने काठमाडौँ बाहिरका लाई किनारा । यो किनारा र मूलधारको साहित्य कहिलेसम्म चल्ने हो कुन्नि ?
काठमाडौँ बाहिर दूर दराजमा बसेर साहित्यको कर्ममा लागि परेका रोल्पाली कविहरु समीप बैरागी, प्रेम प्रकाश र दीप दर्पणको लेखनीलाई सलाम । उनीहरु लगायत त्यहाँको माटोमा बसेर काव्यमा रमाइरहेकाहरुको काव्ययात्राको अपार सफलताको शुभकामना । नयाँ वर्षको पूर्व सन्ध्यामा यसरी कविहरुलाई जुटाउने सत्कर्म गर्ने सम्पूर्ण किताब नारायणगढको नयाँ वर्ष अझ भलीभूत बनोस् भन्दै अहिलेलाई कमल रोक्छु । भबतु सब्ब मङ्गलम् ।





