गजल मञ्च चितवनको स्थापना दिवसमा ‘गजल साँझ’

भरतपुर, २७ चैत ।
चितवनमा रहेर गजल साहित्यको श्रीवृद्धिका लागि स्थापना भएको गजल मञ्च चितवन १९ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा मङ्गलबार भरतपुर–१२ स्थित किसान कुटीमा ‘गजल साँझ’ कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाएको छ । नेपाली गजल लेखनमा कलम चलाउनेहरुका लागि खोलिएको संस्थाले स्थापनाकालदेखि हालसम्म विभिन्न कालखण्ड पार गर्दै गजल विधालाई थप सशक्त बनाउने प्रयास गर्दै आएको गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले जानकारी गराए ।

‘गजल लेख्नेहरुलाई सम्बोधन गर्न स्थापना भएको गजल मञ्च चितवन यहाँसम्म आइपुग्नुमा संस्थाका अग्रजहरुकै देन हो’, उनले भने, ‘त्यसकारण संस्थाले विगत र इतिहास बिर्संदैन ।’ तर, झोलामा बसेको संस्थाले छानोको आवश्यकता महसुस भएको उनले बताए ।

मञ्चका संस्थापक अध्यक्ष किसान प्रेमीले गजल मञ्च चितवन अब परिपक्व संस्थाको रुपमा विकास भइसकेको बताए । संस्था स्थापनादेखि जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउँदा र त्यसयता संस्थालाई निरन्तरता दिँदै आएको विषयमा जानकारी गराउँदै उनले भने, ‘गजल मञ्च चितवनको स्थापना हुनुपूर्व नै चितवनमा गजलको माहोल थियो । तर, त्यसलाई संस्थागतरुपमै व्यवस्थित बनाउन सके सबै गजलकारहरुलाई एउटै छानोमुनि समेट्न सकिन्थ्यो कि भन्ने उद्देश्यका साथ हामीले संस्था स्थापना गरेका हौँ ।’

उनका अनुसार २०६१ सालमै संस्था स्थापनाका लागि गजलकारहरुको भेलाले धनराज गिरीको संयोजकत्वमा तदर्थ समिति गठन गरेको थियो । तर, उक्त समिति पूर्णरुपमा निष्क्रिय भएपछि पुनः २०६३ सालको माघ ९ गते पुनः चितवने गजलकारहरुको अर्को भेलाले उक्त समितिलाई विघटन गरी किसान प्रेमीको संयोजकत्वमा अर्को तदर्थ समिति गठन भएको थियो ।

सोही वर्ष चैत २६ गतेका दिन जिल्ला प्रशासन कार्यालय चितवनमा संस्था आधिकारिक दर्ता भएपछि गजल मञ्च चितवनले वैधानिकता प्राप्त गरेको संस्थापक अध्यक्ष प्रेमीले जानकारी गराए । संस्थाको विधानअनुसार दुवै तदर्थ समितिमा रहेकाहरुलाई संस्थाको संस्थापक मानिने विषय उल्लेख भएको हुँदा संस्थापकको विषयमा प्रस्ट हुन नयाँ तथा पुराना स्रष्टाहरुलाई उनले आग्रह गरे ।

‘संस्थापकको विषयमा कताकता कुरा बाझिएको सुनिन्छ’, उनले भने, ‘कानुनतः संस्था सरकारी निकायमा दर्ता भएकै मितिलाई स्थापना भएको मानिन्छ । तर, त्यसभन्दाअघिका तदर्थ समितिमा रहेका सबैलाई संस्थापक मानिने भनेर विधानमै उल्लेख भएको हुँदा त्यतिबेला संस्था जन्माउनका लागि योगदान दिनुहुने सबैजना संस्थापक हुनुहुन्छ ।’

गजल मञ्च चितवनले स्थापनाकालदेखि नै भाषणलाई निषेध गरेकोसमेत उनले जानकारी गराए । ‘ढोकाबाहिर जुत्ता, चप्पल खोलेर भित्र आएपछि दुई लाइन भए पनि गजलका शेर सुनाउने र भाषण गर्दै नगर्ने भनेर पहिलो कार्यक्रमबाटै अभ्यास थालेका हौँ’, उनले भने, ‘त्यसैले गजल मञ्च चितवन भाषणका लागि होइन गजलकै लागि हो भनेर सबैले बुझिदिनुहुन अनुरोध छ ।’

मञ्चका निवर्तमान अध्यक्ष लेखराम सापकोटाले गजल लेखनमा सक्रिय रहेका स्रष्टाहरुको सामूहिक एकताले नै यो संस्था जवान उमेरमा आइपुगेको बताए । अग्रज साहित्यकार एलबी क्षेत्रीले संस्था स्थापना गर्नुभन्दा त्यसलाई जोगाउन बडो कठिन विषय भएको बताए । त्यसैले संस्थालाई जोगाउनका लागि ‘धूर्त’हरुबाट बचाउन आवश्यक रहेको उनले बताए ।

मञ्चका संस्थापक बालकृष्ण थपलियाले गजल मञ्च चितवनका पछिल्ला गतिविधिले चितवनको गजल क्षेत्रलाई चलायमान बनाएको बताए । तर, संस्थाले प्रकाशन गर्दै आएको ‘गजल सारथि’को प्रकाशनलाई निरन्तरता दिन उनले सुझाव दिए ।

‘इतिहासलाई नबिर्सौं र गजल सारथिलाई प्रकाशन गर्न नछाडौँ’, उनले भने । उक्त कार्यक्रममा १८ जना स्रष्टाहरुले एक/एक थान गजल सुनाएका थिए । त्यसमध्ये केही स्रष्टाहरुले गायनमा गजल सुनाएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट