एमाले मकवानपुरद्वारा हेटौंडामा जागरणसभा

मकवानपुर, १८ चैत ।
लोकतान्त्रिक गणतन्त्रको संरक्षण र संवर्द्धनका लागि एमाले मकवानपुरले हेटौंडामा जागरणसभा गरेको छ । एमालेले सोमवार जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ता हेटौँडामा उतार्दै गणतन्त्रको पक्षमा जागरण सभा गरेको हो ।

हेटौँडाका मुख्य सडकहरु सानो पोखरा चोक, फरेष्ट्री चोक, राप्ती रोड र चौकीटोलको चारवटा नाकाहरुबाट जम्मा भएको नेता तथा कार्यकर्ताकोहरुको र्‍याली सीमाचोकमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर रानाले जनताले रगतसँग साटेर शहीदहरुको बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए ।

नेपाललाई समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको जगेर्नाको निम्ति एकजुट भएर अगाडि बढ्नका निम्ति उनले सबैलाई आग्रह गरे ।

‘लोकतन्त्रले हाम्रो सार्वभौमिक हक अधिकारलाई सुरक्षित गरेको छ । हामीले सामन्त र न्याय पुस्ताको अन्त्य गरेर जनताको सार्वभौम अधिकार जनताको पक्षमा ल्याएका छौँ ,’ उनले भने, ‘आज जनता सार्वभौम भईरहेको अवस्थामा फेरि पनि नागरिकमाथि षड्यन्त्र गरिरहेको छ । त्यसैले म सबैलाई खबरदारीका निम्ति एकजुट भएर अगाडि बढ्न आग्रह गर्दछु ।’

राजतन्त्रको समयमा जनतालाई रैतीको बनाएको भन्दै रानाले जनतालाई रैती बनाउने सामन्ती इतिहास अब मुलुकमा फेरि फर्कन सम्भव नभएको दावी गरे ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले ४६ सालको आन्दोलनदेखि ६२/६३ को आन्दोलनमा पुग्दा विपक्षीहरुलाई परास्त गरेको बताए । उनले मसानमा पुर्‍याईसकेको लास उठेर टाउको ठड्याउँदै गरेको भन्दै खबरदारी गरे ।

हजारौँ जनताको योगदान र शहीदहरुको बलिदानबाट प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र समाप्त गरेर फेरि निरङ्कुश राजतन्त्र ल्याउने सपना नदेख्न उनले चेतावनी दिए ।

पौडेलले संविधानले राजा नचिन्ने भन्दै राजा यो मुलुकमा नभएको बताउँदै तत्कालीन राजा ज्ञानेन्द्र अब राजा नरहेको बताए ।

लोकतान्त्रिक गणतन्त्र आएर नेपालमा सामाजिक र आर्थिक परिवर्तन भएको भन्दै प्रजान्त्रको विकल्प राजतन्त्र कुनै हालतमा नहुने बताए ।

उनले कमल थापालाई राजतन्त्रमा मन्त्री भएर के विकास गरे भन्दै प्रश्न गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शरणमा परेर दुई हात खुट्टा टेक्दै चार पाउ टेकेर सूर्य चिह्नबाट निर्वाचनमा उठ्दा समेत पराजित भएको भोलिपल्टै थापाले राजतन्त्रको वकालत गर्न थालेको आरोप लगाए ।

नेकपा एमाले जिल्ला अध्यक्ष श्रीधर पोखरेलले गणतन्त्रको संरक्षण र सम्वर्द्धन तथा राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि एमाले मकवानपुरले जागरणसभा आयोजना गरेको बताए ।

जागरणसभा प्रतिगामी षड्यन्त्रकाविरुद्ध, पुनरुत्थानवादी र अराजक तत्वहरुलाई सन्देशको रुपमा रहने उनले बताए । पोखरेलले देशबाट घुँडा टेकाएको राजतन्त्र अब आवश्यक नभएको भन्दै अराजक गतिविधि गरे एमाले जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट