चितवन, १६ चैत ।
खैरहनी नगरपालिकाले ६ महिना पूरा भई ३ वर्ष उमेरसम्मका विपन्न परिवारका बालबालिकालाई पोषण अनुदान दिन थालेको छ । नगरपालिकाले विपन्न परिवारका बालबालिकालाई दैनिक १ अण्डा र १ गिलास दुध बराबरको लागत अनुमान अनुसार दैनिक ४० रुपैयाँका दरले प्रति बालबालिका मासिक १२ सय अनुदान लाभग्राहीका अभिभावकहरुको बैंक खातामार्फत उपलब्ध गराउन थालेको हो ।
नगरपालिकाभित्र स्थायी रुपमा बसोबास गर्ने अति विपन्न घर परिवारका बालबालिकाको पोषणमा सुधार ल्याइ सक्षम जनशक्ति विकास गर्न बालबालिकालाई पोषण अनुदान प्रदान गर्न सुरु गरेको खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाले जानकारी दिएका छन् । यो वर्षको लागि छनौट भएका ९७ लाभग्राहीहरुलाई विपन्न बालबालिका पोषण अनुदान सम्बन्धी अभिमुखीकरण तथा पोषण लेखाजोखा कार्यक्रममा बोल्दै नगरप्रमुख खनियाले बालबालिकाको पोषण सुधार मुलुकको भविष्य निर्माणको महत्त्वपूर्ण आधार भएकोले खैरहनी नगरपालिकाले विपन्न बालबालिका पोषण कार्यक्रमको सुरुवात गरेको बताए । नगरप्रमुख खनियाले विपन्न बालबालिकाको पोषण अनुदान सम्बन्धित अभिभावकलाई प्रदान गरिने र प्राप्त अनुदान रकम केबल बाल्यकालिन पोषणमा खर्च गर्नु पर्ने, अनुगमनको क्रममा मद्यपान, धुम्रपान जस्ता कुलत र अन्य घर खर्चमा प्रयोग गरेको पाइएमा अनुदान कटौतीसम्म हुन सक्ने जानकारी गराए ।
कार्यक्रममा मन्तव्य राख्दै नगर उप-प्रमुख कविता उप्रेतीले २ वर्ष सम्म बालबालिकाको ८०प्रतिशत र ५ वर्ष सम्म ९० प्रतिशत मानसिक विकास हुने र मानसिक तथा शारिरिक विकासमा पोषणको अत्यन्तै उच्च महत्त्व रहेको हुदाँ आफ्ना बालबालिकाको स्वास्थ्य सुधार अभिभावकको अपरिहार्य जिम्मेवारी रहेको र यसमा नगरपालिकाले आवस्यक सहयोग तथा परीक्षण र उपचारमा नियमित लगानी गर्ने बताइन्।
कार्यक्रमको अवसरमा लाभग्राही बालबालिकाको पोषण स्थिको जाँच, स्वास्थ्य परीक्षण तथा अभिभावकलाई पोषणको महत्व सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गरिएको थियो । कार्यक्रममा खैरहनी नगरपालिकाका जनस्वास्थ्य निरिक्षक नविन अधिकारीले पोषण तथा यसको महत्व, स्तन पानको फाइदा , कुपोषणको प्रभाव तथा लाभग्राही लागि आवश्यक योग्यता सम्बन्धमा प्रस्तुतिकरण गरेका थिए ।
नगरपालिकाको सभाहलमा आयोजित विपन्न बालबालिका पोषण अनुदान कार्यक्रम सम्बन्धी अभिमुखीकरण तथा पोषण लेखाजोखा कार्यक्रमको अवसरमा नगरपालिका भित्रका ९७ जना विपन्न बालबालिकालाई मासिक रु १२०० का दरले अनुदान रकम उपलब्ध गराउन आवश्यक सबै तयारी सम्पन्न भएको नगरपालिकाले जनाएको छ । विपन्न परिवारका बालबालिका पोषण अनुदानको लागि वार्षिक करिब १५ लाख रुपैया खर्च हुने र आगामी वर्ष देखि वार्षिक २० लाख भन्दा बढि रकम अनुदानमा खर्च हुने प्रक्षेपण रहेको खैरहनी नगरपालिकाका स्वाथ्य शाखा प्रमुख भोजराज खनालले बताएका छन् ।





