अध्ययन गर्ने तथा परीक्षामा राम्रो नतिजा ल्याउने उपायहरु

परीक्षा भन्ने वा सुन्नेबित्तिकै प्रायः विद्यार्थीहरुमा डर, त्रासको मनस्थिति सिर्जना हुन्छ । परीक्षा नजिकिँदै गर्दा विद्यार्थीहरु बिरामी हुने तथा अन्य समस्याहरु आइपर्ने गरेका उदाहरणहरु देखिन्छन् । परीक्षाको तयारीका लागि रातभर पढ्ने वा कम सुत्ने र चिन्ता बढी लिने कारणले विद्यार्थीहरुमा समस्याहरु सिर्जना हुन्छन् ।

परीक्षाले विद्यार्थीहरुको सफलता वा असफलता छुट्याउने, स्तर निर्धारण गर्ने वा माथिल्लो कक्षामा जानका लागि योग्य वा अयोग्य छुट्ट्याउने गर्छ । विशेष गरी नेपालको विद्यालयस्तरका परीक्षा प्रायः विद्यार्थीहरुको संज्ञानात्मक पक्षको मापनमा केन्द्रित देखिन्छ । पाठ्यक्रममा निरन्तर मूल्याङ्कनको व्यवस्था गरिएको भए पनि यसको प्रयोग कमै मात्रामा भएको पाइन्छ । विद्यार्थीहरुको मूल्याङ्कन बढी मात्रामा दुई वा तीन घन्टे परीक्षाले निर्धारण गर्ने गर्दछ ।

पढाइ के लागि हो भन्ने कुरामा विद्यार्थी अनभिज्ञ हुनु, पढाइप्रति सकारात्मक दृष्टिकोण नहुनु, आत्मविश्वासको कमी हुनु, विद्यार्थीहरुका सिकाइ समस्याहरुको सही तरिकाकाले निराकरण नहुन वा सिकाइ सहजीकरण त्रुटिपूर्ण हुनु, सिकाइका लागि उचित वातावरण र अवसरको अभाव हुनु  आदि कारणले विद्यार्थीहरुको असफलता दर बढी देखिन्छ ।

विद्यार्थी असफल हुने कारणहरु पहिल्याई तदनुकूल सिकाइ सहजीकरण गर्न सके सफलताको मात्रा बढाउँदै लान सकिन्छ । यसमा सरोकारवाला सबैले उत्तिकै ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ ।

यहाँ प्रभावकारी पढाइमा बाधा पुर्‍याउने कुराहरु, विद्यार्थीले आफ्नो पढाइलाई राम्रो ध्यान दिनुपर्ने कुराहरु, विद्यार्थीहरु असफल हुने मूल कारणहरु, अध्ययनलाई प्रभावकारी बनाउन ध्यान दिनुपर्ने कुराहरुका साथै परीक्षामा ध्यान दिनुपर्ने पक्षहरुलाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ । यस सन्दर्भमा तिमोथी अर्याल (२०६६)   पढ्ने र स्मरण शक्ति बढाउने मनोवैज्ञानिक तरिका पुस्तकलाई मूल आधार बनाइएको छ ।

प्रभावकारी पढाइमा बाधा पुर्‍याउने कुराहरु दिनुपर्ने कुराहरु

गलत दृष्टिगत अनुभूति

शब्द शब्द पढ्ने बानी

औँलाले देखाउने र टाउको हल्लाउने बानी

चर्को स्वर निकालेर पढ्ने बानी

मनमनै स्वर निकालेर पढ्ने बानी

मनोबलको कमी

प्रेरणा र रुचिको कमी

शब्दज्ञानको कमी

पाठ्यसामग्रीमा दोष हुनु

पढाइको उद्देश्य ठिक नहुनु

एकाग्रता नहुनु

अल्छीलाग्दा बानी हुनु

विद्यार्थीले आफ्नो पढाइलाई राम्रो बनाउन मुख्यत : निम्नलिखित कुरामा ध्यान दिनुपर्छ

किन पढ्नुपर्छ भन्ने कुराको ज्ञान हुनुपर्छ ।

समयतालिकाअनुसार काम गर्ने बानी विकास गर्नुपर्छ।

आफ्नो स्वास्थ्यप्रति उचित ध्यान दिनुपर्छ ।

उचित अध्ययन वातावरण हुनुपर्छ ।

ठिक सुमधुर सम्बन्ध राख्नुपर्छ ।

अध्ययनलाई प्रभावकारी बनाउन आवश्यक पने कुराहरु

शान्त वातावरण हुनुपर्छ ।

विद्यार्थीले आफूलाई आवश्यक पर्ने सम्पूर्ण पुस्तकहरु लिएर स्कुल जानुपर्छ ।

शिक्षकले विद्यार्थीलाई रुचिकर तथा उद्देश्यमूलक गृहकार्य दिई व्यस्त राख्नुपर्छ ।

मिलनसार र सहयोगी शिक्षक हुनुपर्छ ।

शिक्षकले विद्यार्थीलाई निरन्तर प्रेरणा दिइरहनुपर्छ ।

विद्याललयले अभिभावकलाई बोलाई विद्यार्थीको पढाइ तथा व्यवहारसम्बधी जानकारी लिनेदिने गर्नुपर्छ ।

विद्यार्थी असफल हुने कारणहरु

शारीरिक अस्वस्थता

उचित वातावरणको अभाव

अभिभावक, शिक्षक, विद्यालयको कमजोरी

मनोवैज्ञानिक समस्या

सङ्गतको परिणाम

दुर्व्यसन

पढ्ने समय नपाउनु

सरसल्लाह र मार्गदर्शनको कमी

आर्थिक कमजोरी

कमजोर जग, लेखन सिप र पढ्ने तरिका थाहा नभएको

केही वर्ष स्कुल छोडेर पुनः स्कुल पढ्न थाल्नु

विद्यार्थीहरुले पढ्ने बानीमा सुधार ल्याउने विधि ( खनाल, मधुविलास)

पढेका कुराहरुमध्ये महत्त्वपूर्ण र सार कुरा समेटेर बुझिने  छोटो नोट बनाउने

मौन अध्ययन गरी महत्त्वपूर्ण कुराहरुलाई रेखाङ्कन गर्ने

बुँदागत रुपमा कापीमा टिप्ने, पढेका कुरालाई आफ्नो भाषामा सारांश बनाएर लेख्ने र पढेका तथा बुझेका कुराहरुलाई अभ्यास तथा पुनरावृत्ति गर्ने

कापीको एकातिर प्रश्न र अर्कोतर उत्तर लेखेर पढ्ने बानीको अभ्यास गर्ने

बुझेर पढ्ने बानीको विकास गर्ने, आफूलाई नभई नहुने कुराहरु सम्झने

लामा लामा सिकाइ विषयवस्तुलाई साना साना भागमा विभाजन गरी पढ्ने

विद्यार्थीहरुले आफ्नो रुचिअनुसार सजिलो विधि प्रयोग गरी पढ्ने

हरेक आधा घण्टाको फरकमा ५ देखि १० मिनेट आराम गर्ने वा मनलाई ताजा बनाउने

शब्द शब्द पढ्नुभन्दा शब्द समूह वा वाक्यांश पढ्ने

टाउको नहल्लाई आँखा मात्र घुमाएर पढ्ने

उदाहरण, ग्राफ, चार्ट, नक्सामा ध्यान दिने

पढिसकेपछि आफूले पढेका विषयवस्तुको सारांश बनाउने

हरेक दिन नियमित र योजनाबद्ध रुपमा विषयगत जटिलताअनुसार समय विभाजन गरेर पढ्ने

पढिसकेपछि आफैँले आफ्नो परीक्षा लिने आदि ।

परीक्षामा राम्रो गर्न ध्यान दिनुपर्ने कुराहरु

पढाइ सुरु भएको दिन देखिनै नियमित रुपमा पढ्दै प्रत्येक विषयमा आवश्यक दक्षता हासिल गर्नुपर्छ ।

परीक्षा प्रणालीसँग सम्बन्धित कुराहरुमा परिचित हुनुपर्छ ।

हरेक प्रश्नले आशा गरेको उत्तरको ढाँचाअनुरुपको लेखाइ तथा लेखनकलासँग अभ्यस्त र परिचित हुनुपर्छ ।

पढिसकेका कुराहरुबाट मुख्य मुख्य कुरा समेटी नोट बनाउने तथा पुनरावृत्त गर्ने गर्नुपर्छ ।

व्यक्त गर्न खोजेका कुरा सरल र स्पष्ट रुपमा प्रस्तुत गर्ने, आफ्नै शैलीमा प्रभावकारी रुपमा व्यक्त गर्ने सिप हुनु आवश्यक छ ।यसका साथै परीक्षामा विद्यार्थीले पालना गर्ने नियमहरुसँग पनि विद्यार्थी राम्ररी परिचित हुनुपर्छ ।

आफूले तयार पारेका नोट, बुँदा तथा सारांशहरु दोहो¥याउने । पढिसकेका पाठ दोहोर्‍याउँदा विषयवस्तु ताजा हुनुका साथै विद्यार्थीमा आत्मविश्वास बढ्दै जान्छ ।

घोकेरभन्दा बुझेर पढ्ने, विषयको कठिनाइअनुसार दोहोर्‍याउने गर्नुपर्छ । अन्तिम परीक्षामा आउनुभन्दा एक हप्ता अगाडिसम्म सबै विषय दोहोर्‍याउने र बाँकी एक हप्तामा पाठको सारांश, बुँदा, सूत्र आदिबाट  विषयवस्तुको स्मरण तथा तयारी गर्नुपर्छ ।

परीक्षामा उत्साही बन्ने तर चिन्ता नलिने गर्नुपर्छ ।

परीक्षार्थीहरूले ध्यान दिनु पर्ने कुराहरू

परीक्षाको अघिल्लो दिनमै आफूलाई आवश्यक पर्ने प्रवेश पत्र, पेन, स्केल आदिको व्यवस्था गर्ने

प्रवेश पत्रको पछाडि दिइएको निर्देशन राम्ररी पढ्ने

परीक्षा चल्ने दिनहरूमा  ६ देखि ७ घण्टा सुत्ने

पोषणयुक्त खानेकुरा तथा प्रशस्त तरल पदार्थ खाने

परीक्षामा उत्तरपुस्तिकामा दिइएको निर्देशन राम्ररी पढी सोहीअनुसार गर्ने

उत्तर लेख्न थाल्नुभन्दा पहिले सबै प्रश्नहरू स्पष्टसँग पढ्ने

सजिला लागेका प्रश्नहरू पहिले गाहो लागेका प्रश्नहरू पछि समाधान गर्ने

परीक्षामा  प्रश्नहरु कुन कुन तह ( ज्ञान, बोध , प्रयोग) बाट सोधिन्छन् भन्ने निश्चित गरी सोहीअनुसार उत्तर लेख्ने

प्रश्नको अङ्कभार अनुसार उत्तरको लम्बाइ निश्चित गर्ने

प्रश्नको उत्तर एकै पटकमा नमिल्ने लागेमा एउटै प्रश्नमा समय खेर नफाल्ने

परीक्षालाई जीवनमा राम्रो सफलता लिने अवसरका रूपमा लिने

प्रश्नको पूरा उत्तर दिन नभ्याउने भएमा धेरै बुँदाहरू लेख्ने प्रयास गर्ने

परीक्षाका लागि शारीरिक र मानसिक रूपमा तयार हुने

हतारिन र आत्तिन नहुने

उत्तर सफा र स्पष्ट रूपमा लेख्ने, केही कुरा काट्नु वा मेट्नु परे एक पटक मात्र काट्ने

प्रश्न हल गरिसकेपछि अन्तमा प्रश्नपत्रमा उल्लिखित प्रश्नअनुसार उत्तरपुस्तिका जुधाएर हेर्ने

परीक्षालाई जीवनमा सफलता प्राप्त गर्ने अवसरका रूपमा लिने आदि ।

उल्लिखित सम्पूर्ण पक्षहरुलाई मनन गरी सोहीअनुकूल अध्ययन गर्ने तथा परीक्षामा आत्मविश्वासका साथ सहभागी बन्नाले विद्यार्थीहरुले पक्कै पनि राम्रो नतिजा हासिल गर्न सक्छन् । यस सन्दर्भमा शिक्षक तथा अभिभावकको पनि निरन्तर सकारात्मक सहयोग आवश्यकता पर्दछ ।

(लेखक अर्याल पोलर स्टार स्कुल भरतपुरका प्रधानाध्यापक हुन् ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट