म भित्रको म (कविता)

म भित्रको म
असाध्यै असली लाग्छ
तिमीले देख्ने म र म भित्रको ममा धेरै फरक छ
मैले मौनता रोजेको छु
प्राय: नगरेका गल्ती
मेरो कानमा ठोकिन्छन्
बनावटी कुरामा उ मस्त छ
म सत्यको बाटोमा छु ।

काम पर्दा सम्झने उ,
काम नपर्दा पनि सम्झने म
उ र म बीच तालमेल मिल्दैन
त्यसैले त म शान्त छु
त्यत्तिकै भावुक पनि
इमान्दार अनि कर्तव्यनिष्ठ
मेरो रुप तिमीलाई घमण्डी लाग्छ
र उग्र देख्छौ
तर
म भित्रको म ले
तँ संवेदनशील
तँ सहयोगी
तँ दयालु
तँ निस्वार्थ
तँ प्रेम बगाइरहने
असली र लगनशील ठान्छ ।

यसमा मेरो के दोष ?
म हावा हुँ, पानी हुँ
बाढी हुँ, पहिरो हुँ
आगो र पानीसँग
बराबर खेल्न सक्ने मान्छे हुँ
मेरो यो स्वरुप
भीर पाखा
डोको नाम्लो
घाँस दाउरासँग परिचित छ ।

मलाई पहाडले आफ्नो ठान्छ
तराईले कर्मशील देख्छ
शहरले आफ्नै भेषमा लपेट्छ
यसमा मेरो के दोष ?
म जहाँ उभिए पनि
म भएर जीउनु छ
म भित्रको म जगाएर जीउनु छ
म हुनुको अस्तित्व देखाउनु छ
यसकारण, म मौन छु
मौनता रोजेको छु
त्यसैले
म भित्रको म बलियो छ ।।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट