ललितपुर, २८ माघ ।
प्रथम बागमती प्रदेश सहकारी सम्मेलनको लागि बागमती प्रदेश सहकारी संघ लिमिटेड र डिजिटल वालेट खल्ती प्रालिबीच दुई पक्षीय सम्झौता भएको छ । बागमती प्रदेश सहकारी संघ लिमिटेड र खल्ती प्रालिको बीचमा आगामी चैत ८ र ९ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने प्रथम बागमती प्रदेश सहकारी सम्मेलनको लागि सहभागीहरुको रजिष्ट्रेशन खल्ती एप्लिकेशनबाट गराउने सहमतिपत्रमा एक कार्यक्रमका बीच खल्ती प्रालिको कार्यालयमा हस्ताक्षर गरिएको छ । उक्त पत्रमा संघको तर्फबाट अध्यक्ष रामशरण शर्मा घिमिरे र खल्तीको तर्फबाट व्यवसाय साझेदार वसन्त दाहालले हस्ताक्षर गरेका छन् ।
सम्मेलनमा सहभागी हुनका लागि सहकारीकर्मीहरुले खल्ती एपबाट सिधै रजिष्ट्रेशन गर्न सकिने र दर्ता प्रक्रिया प्रभावकारी हुने विश्वास हस्ताक्षर कार्यक्रममा दुवै तर्फका हस्ताक्षर कर्ताहरुले लिएका छन् । संघका तर्फबाट महासचिव नेत्रराज पौडेल र व्यवस्थापक रुपक घिमिरे, संघका प्राविधिक सहयोगी पायोनियर एसोसशिएट प्रालिका वरिष्ठ प्रबन्धक सन्दीप रानाभाटलगायत खल्तीको तर्फबाट विभागीय प्रमुख दिवाकर बाँस्कोटा र प्राविधिक सफल श्रेष्ठलगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।





