लोकतन्त्र ल्याउन रेडियोको योगदान : मुख्यमन्त्री लामा

मकवानपुर, २२ माघ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले लोकतन्त्र ल्याउन रेडियोको योगदान रहेको बताएका छन् । रेडियो मकवानपुरको १५औँ वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २७ औँ स्थापना दिवसको अवसरमा उनले यस्तो बताएका हुन् ।

रेडियाेकाे सप्ताहव्यापी कार्यक्रमको समापन तथा सामुदायिक सम्मान कार्यक्रममा उनले सञ्चार माध्यम नै प्रजातन्त्रको सम्पत्ति भएको बताए ।
‘प्रदेशको सञ्चार माध्यमको वृत्ति विकासका लागि सरकार सदैव तयार रहेको छ’ उनले भने । ‘मुलुकको परिवर्तनका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण योगदान छ’ उनले भने, ‘सञ्चार क्षेत्रको सशक्त माध्यम रेडियो हो । अझै सामुदायिक रेडियोले समाज परिवर्तनमा छुट्टै योगदान दिन सक्छ ।’

फरक क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेर रेडियो मकवानपुरले सामुदायिक रेडियोको कर्तव्य निर्वाह गरेको भन्दै उनले प्रशंसा गरे । पछिल्लो समय नेपालमा सञ्चार माध्यमले फड्को मारेको उल्लेख गर्दै मुख्यमन्त्री लामाले सञ्चार माध्यमले दिने सूचना सत्यतथ्य र विश्वसनीय हुनुपर्नेमा जोड दिए ।

यस्तै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले भूगोल र बजार अनुसारको मिडिया हुन जरुरी रहेको बताए । ‘पछिल्लो समय सञ्चार माध्यमको दर्ता र सञ्चालन बढ्दो क्रममा रहेको छ’ उनले भने संख्यात्मक वृद्धीले गुणस्तरीयता नआउने भएकाेले यस विषयमा पनि सोच्नुपर्ने बेला आएको छ ।’ मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले सामाचार लेखेकै कारण कुनै पत्रकार तथा सञ्चार माध्यम डरत्रासमा बस्नु नपर्ने बताए । ‘पत्रकारसहित आम सर्वसाधारणलाई शान्ति सुरक्षा प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालय सदैव तयार रहेको छ’ उनले भने ।

सामुदायिक सम्मानद्वारा कार्की र उप्रेती सम्मानित

सगरमाथा आरोही विक्रम कार्की र अमर माविका प्रधानाध्यापक मालती उप्रेतीलाई रेडियो मकवानपुरले सामुदायिक सम्मान, २०८१ बाट सम्मानित गरेको छ । रेडियोको १५ औं वार्षिकोत्सवको समापनका क्रममा बकैया ४ का कार्की र हेटौंडा १ की उप्रेतीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएकाे हो ।

कार्कीले सगरमाथासहित नेपालको ३० वटा हिमालको सफल आरोहण गरिसकेका छन् । उनी मकवानपुरकै एकमात्र सगरमाथा आरोही हुन् । यस्तै अमर माविको प्रधानाध्यापकको रुपमा कार्य गर्दै आएकी उप्रेतीलाई शैक्षिकस्तर सुधार गरी उत्कृष्टता प्रदर्शन गरेकाेमा रेडियोले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, बागमती प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठ, रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीलगायतले उनीहरुलाई नगद, सम्मानपत्र र दोसल्ला सहित सम्मान गरेका हुन् ।

यसैगरी रेडियोले उत्कृष्ट कर्मचारीको रुपमा प्राविधिक शाखा प्रमुख एनिस लुइँटेललाई नगद ७ हजार रुपैयाँसहित सम्मान गरेको छ । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई समेत सम्मान गरिएको थियो ।

रेडियोको वार्षिकोत्सव एवम् सहकारीको स्थापना दिवसको अवसरमा माघ १६ देखि २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको थियो । यस वर्ष सहिद वासुदेव घिमिरेको परिवारलाई सम्मान, संस्कृत वेद विद्यालय हेटौंडा १० लाई खाद्यान्न हस्तान्तरण, सिद्धस्थली अस्पतालसँगको सहकार्यमा मकवानपुरगढी ४ मा निःशुल्क स्वास्थ्य शिविर, अमर माविमा सेनेटरी प्याड सहयोग हस्तान्तरण, मिडिया कप फुट्सल प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।

रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा वार्षीक उत्सव कार्यक्रम भएकाे हाे । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर उपसभापति आनन्द कठायत, हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला, ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपाल (बान) का वरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईं, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेती, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष डा.गणेश बल लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठ, नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य वीरेन्द्र लामा, मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्कासहित हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन, ३ नम्बर वडा अध्यक्ष ढलकबहादुर थापा, ७ नम्बर वडा अध्यक्ष दामोदर गौतम, ८ नम्बर वडा अध्यक्ष राम थापा, ११ नम्बर वडा अध्यक्ष जुना दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट