उपन्यास : वर्तमान
लेखक : गायत्री अधिकारी
प्रकाशकः सुन्दर स्वदेश पब्लिकेशन काठमाडौँ
मूल्य : २५०
पृष्ठ : १०४
चितवनमा रहेर नेपाली साहित्यमा कलम चलाइरहेकी स्रष्टा गायत्री अधिकारीको पहिलो उपन्यास हो `वर्तमान´ । कथा, कविता, आलेखहरु नियमितरुपमा लेखिरहने अधिकारीको कृतिका हिसावले यो उपन्यास दोस्रो कृति हो । यस अघि उनको `निर्णय´ कथासंग्रह प्रकाशित छ ।
सुन्दर स्वदेश पब्लिकेशनले हालै प्रकाशनगरेको वर्तमान उपन्यासले देशले वर्तमान अवस्थामा भोगिरहेको सामाजिक र पारिवारिक अवस्था चित्रण गरेको छ ।
कथावस्तु :
दया ग्रामीण वस्तिमा असिमित इच्छा चाहना बोकेको युवा हो । बाबुआमा, दाजूभाउजुसँगै हुर्कदै गरेको दया आफ्ना बाबुआमा प्रतिको दायित्व वढी नै सम्झन्छ । यद्यपी उसमा वैदेशिक रोजगारीको पनि लोभ छ । परिवारलाई थाहै नदिइ अन्तर्जातीय केटी साथी (मुना)सँग अदालती विवाह गर्छ । मुनालाई डिभी परेपछि उनिहरु सँगै अमेरिका जान्छन् । यो जोडी अमेरिकामा वस्दारहँदा दुई सन्तान जन्माउँछन् तर यता परिवारलाई यो कुराको भेउ समेत दिइँदैन ।
कथा अनुसार दया आफ्नो परिवार लिएर एक्कासी घर फर्कन्छ तर यता बाआमा विरामी परेर थला परेका हुन्छन् । तिनै अमेरिकावाट फर्किएका छोरा बुहारीको स्याहारसुसारवाट बाआमा तँग्रिन्छन् । अव भने यहाँनेर दयालाई बाआमा पालेर नेपाल नै बस्ने वा पुनः परिवार र सन्तानको खुसीकालागि अमेरिका फर्कने भन्ने दोधार देखाइएको छ । अन्ततः केही महिना वसेर मुना छोराछोरी लिएर अमेरिका जान्छिन् । त्यसको केही महिनामा दया पनि यता बाआमाको हेरविचार गर्ने ब्यवस्था मिलाएर अमेरिका नै जान्छ । उता दयाका जेठा दाइ जापान गएपछि भाउजु पनि छोरो लिएर काठमाडौँ जान्छिन् ।
काठमाडौँ रहँदा दुःखसुखमा साथ दिने अङ्कलको गिद्धे दृष्टिबाट बचेर आफ्नो सतित्व बचाउँदै उनि पनि पछि आफ्नै श्रीमान भएकै देश जापान जान्छिन् । अन्तमा दया र उनका दाजु बाबुको मृत्युपछि किरिया गर्न मात्र नेपाल फर्कन्छन् । बाबुको किरिया पछि दयाले आमालाई पनि सँगै अमेरिका लैजाने प्रस्ताव गर्छन् तर आमा जान नमानेपछि उ एक्लै फर्कन्छ । यता आमाको स्याहारसुसारका लागि कर्मचारी (सीता) राखेर फर्किए पनि उनलाई आमाको माया औधी हुन्छ । पछि आमाको मृत्यु पछि मात्रै दयालाई नेपाल फर्काइन्छ ।
वैदेशिक रोजगारीका कारण परिवार र बृद्ध भएका आफ्ना अभिभावकहरुको विचल्लीलाई आधार बनाएर रचना गरिएको वर्तमान उपन्यासको कथा सकिन्छ । कथामा बाबुआमा प्रति जिम्मेवार नभएको जेठो छोरा र जिम्मेवार हुँदाहुँदै पनि परिवार र सन्तानको मायाले बाबुआमालाई समय दिन नसकेको दयाका विचको कहानीमै लगेर उपन्यास सकिएको छ ।
सवल पक्ष
उपन्यास कथावस्तुका हिसावले सवल र सक्षम छ । उपन्यासको शीर्षक अनुसार वर्तमान अवस्थामा समाजले भोगिरहेको अवस्था यो उपन्यासले चित्रण गरेको छ । उपन्यासमा राष्ट्रप्रेम झल्काउन खोजिएको छ । जस्तै उपन्यासमा भनिएको छ, “दुखलाई पनि सहजै स्विकार्ने र मीठो कल्पना गरेर पनि रमाउन सक्ने नेपाली हुन्”, यसले नेपाली प्रतिको प्रेम दर्साउँछ । अमेरिकामा हुँदा दयाले आफ्ना छोरा छोरीलाइ सगरमाथको कथा भनेर राष्ट्रको पहिचान दिन खोजेको घटनाले पनि उपन्यासमा राष्ट्रप्रेम दर्साउन खोजिएको देखिन्छ ।
उपन्यास सलल वगेको छ । कथावस्तुलाई बाँध्न खोजिएको छ ।
अमेरिकामा जन्मेहुर्केका नातिनातिनाले नेपालमा छोटो बसाईकै क्रममा नेपालीमा बोलिएको तोते बोलीले उपन्यासमा मौलिक मिठास थपिएको छ । जस्तै, ‘म ल भाइ पढ्न पल्छ ।’ सायद उपन्यासकार महिला भएरै हुन पर्छ उहाँको अनुभव पनि हुन सक्छ, गाउँघरमा महिलाहरु कुरा काट्ने अनि घर भँड्याउने प्रसङ्ग उपन्यासमा रोचक र यथार्थपरक तरिकाले उठान भएको छ ।
जम्माजम्मी ९७ पृष्ठ ( किताव १०४ पेज भए पनि उपन्यास ९७ पेज भित्रै छ )मा लेखिएकोे उपन्यास एक बसाईमै पढीसकिने भएकाले यो समयका हिसावले पनि पढ्न सहज छ ।
सुधार गर्न सकिने पक्ष :
चर्चित आख्यानकार कृष्ण धरावासीले २०७७ आश्विनमै पैरवी बुक हाउस प्रालिवाट वर्तमान शीर्षकमा कथासंग्रह प्रकाशनमा ल्याउनु भएकोछ । ख्यातीप्राप्त लेखकसँग आख्यानको नाम एउटै बनाइनुु संयोग मात्रै हो वा कुनै कारण छ यसमा लेखक र प्रकाशकले प्रष्ट पार्नै पर्छ ।
उपन्यासकारले आफ्नो भूमिकामा भन्नुभएको छ, “उपन्यासको आफ्नै सिद्धान्त र परिभाषा छन् । उत्तर आधुनिक समयमा आईपुग्दा विधा भन्जन भएर नयाँ नयाँ सिद्धान्तहरु प्रतिपादन भएका छन् । नयाँ नयाँ प्रयोग भैरहेका छन् ।”
भूमिकामा उल्लेख भएको लेखकको यो भनाइले यो उपन्यासमा पनि नयाँ सिद्धान्त प्रयोग भएको छ भन्न खोजिएको हो की जस्तो लाग्यो । तर उपन्यास पढ्दैगर्दा त्यो भान हुन सक्दैन । वर्तमान शीर्षकको उपन्यास वर्तमान शैलीमै लेखिएको छ । यसमा नयाँपनको महसुस हुन सक्दैन । कथावस्तुका हिसावले समसामायिक भए पनि उपन्यासमा धेरै कुरा अपूर्ण देखिन्छ ।
दया र मुनामा अमेरिकावाट नेपाल फर्किदै गर्दा नेपालको कमजोरी कोट्याउने प्रस्तुति गलत छ । सात वर्षपछि नेपाल फर्कदै गर्दा एउटा बाटो पिच भएको देख्दैमा मुनाले देशैभरी पिच यस्तै छ भनेर कसरी थाहा पाउँछे ? अमेरिकाबाट आएकी मुनाले सहजै सासुससुराको स्याहार जसरी गरेको देखाइएको छ के ब्यवहारमा त्यो सम्भव होला ? अझै चिन्दै नचिनेकी र विवाहसम्म भएको थाहा नपाएकी बुहारी हुन् मुना । उपन्यासमा आमाको मुखबाट “संसारमा सबै भन्दा ठूलो पैसा रहेछ ।” के उपन्यासकारले संसारमा पैसा नै ठूलो भन्ने देखाउन खोजेको हो त भन्ने प्रश्नहरु उठाउन खोजेको हो त ?
उपन्यासमा केही भाषागत त्रुटि पनि देखिन्छ । जस्तै आईमान्छे : आईमाई मान्छे भन्न खोजिएको होला । उपन्यासमा अमेरिका र नेपालको भिन्नतामा नेपाल भन्दा अमेरिका प्रति पात्रहरुलाई बढी आकर्षित देखाईएको छ । अनि व्याख्या पनि । यो नहुन सकेको भए उपन्यास झन् सुनमा सुगन्ध हुने थियो ।
निष्कर्ष :
निर्णय कथासंग्रह प्रकाशन भएको चार वर्षमै उपन्यासकार अधिकारीले उपन्यास वर्तमान प्रकाशन गर्नु राम्रो पक्ष हो । उपन्यासमा दया, मुना, गगा, आमा, बुबा, शनि, प्रेम सर, ठूलो छोरा, बुहारी रीता, सीता नातिनीलगायतका पात्रहरुको अभिनय आआफ्नो ठाउँमा सशक्त छन् । समाजकै कथाव्यथा चित्रण गरिएको उपन्यास आफैँमा सक्षम छ । उपन्यासमा देखिएका केही कमिकमजोरीलाई सुधार गर्दै अगाडि बढ्ने हो भने नेपाली उपन्यासका क्षेत्रमा अधिकारीको उपस्थितिलाई सार्थक रुपमा हेर्न सकिन्छ ।





